• ८ मंसिर २०८१, शनिबार

नृस्पृह साँझ (कविता)

blog

अलिनो मेरो बस्तीभित्र

साँझ विस्तार ओर्लंदैछ

ज्वरले दिमाग झ्याप्प छोपेजस्तो

सुगरको रोगीको थकित गोडामा

सूर्यको शक्ति शिथिल भएर

एउटा निस्पन्द तलाउको आँखामा

कुनै धापभित्र बिस्तारै केही पुरिँदै जस्तो

मनलाई अलिनो पार्दै

उज्याला चञ्चल आँखाहरू

निद्राले बिस्तारै छोप्दै लगेजस्तो

यो साँझ हरेक दिन

किन विस्मृतिले छोपेको दिमाग

बादलले ढाकेको आकाश

निचोरिएको निबुवाको छोक्रा भएर आउँछ

बास बस्न उडिरहेको थकित 

चराको पखेटामा

डुब्न लागेको सूर्यको मलिन लालिमातर्पm

दौडिरहेका कागहरू 

अलिकति बाँचेको तृष्णाको त्यान्द्रो

मन युवा भएर 

अस्ताचलमा उड्दैछ

शब्द बिनाको 

बन्द, मौन आँखाको भाषामा

साँझ डुब्दैछ, 

मर्ने दिनको औँला गनेर बसेको 

क्यान्सरको बिरामीको क्यालेन्डरमा

मनका दुःखका पीडाका पाप्राहरू

बिस्तार उप्किरहेछ

वर्जित कार्यहरू गरिसकेपछि

एउटा नमिठो पश्चाताप

थिलथिलो पारेको मनमा

हावाले ल्याएको नमिठो बास्ना

सेलाउन लागेको लाससँगै हिँडेको मन

निष्पन्द

निश्चेष्ट

निस्पृह

निःस्वाद

सम्झनु पर्ने कुनै केही छँदै छैन

प्यासहरूले बिसौनी लिइसकेको

सबै पात झरिसकेको

कहीँ कतै पनि बुट्यानहरूमा

पूmलहरू छुटेको छैन

बगिरहेको नदीमा

प्यास लुकेको छैन

खोज्नु पर्ने 

र पाउनु पर्ने

कतै केही छँदै छैन

यही साँझको 

पाइलामा, पाइला मिलाएर

म निराकार 

अस्ताचलमा ओर्लिरहेछु ।