• ८ मंसिर २०८१, शनिबार

सत्मार्ग (कविता)

blog

भ्रष्टाचार भिखारीका हुन् कथा हुन् ती दरिद्री मन

सारा यो धरती र द्रव्य धन सब जोड्ने छ भित्री मन ।

मात्रै केवल त्यै कमाइकन धन बित्यो सबै जीवनी 

इच्छा पूर्ण नभई ऊ मर्छ विचरा सच्चा भिखारी बनी ।


अमिर पुज्य हुन्न कहिल्यै जस्तै कमाए पनि

गौतम बुद्ध सदैव पुज्य बनिए राज्यै गुमाए पनि ।

सच्चा मान कमाउने मन भए छोडिदेऊ थुपार्न धन

आफैँभित्र प्रकाश हुन्छ रविझँै त्यै खोज हो जीवन ।


भौतिक चिज जतिसुकै जोड तर बुझ्दैन यसले मन

झन्झन् बढ्छ र अझै बढ्छ सहजै फैलन्छ इच्छा झन् ।

जस्तै चिज कमाउ जोड धन सब यो तृप्त हुन्न मन 

हाम्रो यो मन रोकिँदैन कहिल्यै ईश्वर नभेटिकन ।


गाईवस्तु जलचर र पक्षी सब छन् बाँचेसरि बाँच्छ त्यो 

जन्मी हुर्की गरेर मर्ने यति काम प्राणी सबै गर्छ त्यो ।

लक्ष्य मोक्ष थियो यो मानव चोला यही थियो महाजीवन

लक्ष्य बुझ्न सकेन हेर कहिल्यै बित्यो थुपार्दै धन ।


ईश्वर खोज्न नजाऊ बाहिर कतै छन् भित्र ईश्वर सब

तीनटा कर्म गरेर भित्र पस है रेचक पुरक कुम्भक ।

महाज्ञानरूपी छ चक्षु तिमीमै सत्सङ्ग गर्दै खोल

सत्य जान र कर्मसँग हरपल हे कृष्ण हे राम बोल ।