काठमाडौँ, चैत ११ गते । ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । यसअघि रानीपोखरी तिहारको बेला भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्थ्यो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निःशुल्क रूपमा घुमफिर तथा अवलोकन गर्न बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि रानीपोखरी खुला गरिएकोे जानकारी दिनुभयो । शान्ति सुरक्षा तथा सामाजिक वातावरणमा कुनै असर नपरेमा ३६५ दिन नै रानीपोखरी खुला गरिने महानगरपालिकाको योजना रहेको उहाँको भनाइ छ । २०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरूप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७८ पुस ८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन । भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा रानीपोखरी निर्माणको शिलान्यास गरिएको थियो भने २०७७ कात्तिक ५ गते उद्घाटन गरिएको थियो ।
रानीपोखरीको उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिण पश्चिममा सोह्रहाते गणेश स्थापना गरिएको छ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइहरूले भाइटीका लगाउने महत्त्वपूर्ण तीर्थस्थलका रूपमा रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।
सन्तान शोकमा डुबेकी आफ्नी रानीलाई शोकबाट मुक्त गरी व्यावहारिक जीवनमा फर्काउनका लागि विक्रम संवत् १७२६ मा कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले रानीपोखरी निर्माण गर्न लगाएका थिए । जङ्गबहादुर राणाद्वारा बेलायत भ्रमणपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । विसं. १९९० को भूकम्पबाट मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरद्वारा गुम्बज शैलीमै पुनर्निर्माण गरिएको थियो ।