काठमाडौँ, चैत ९ गते । असनमा बुधबार अधिकांश मानिस रातो, नीलो, पहेँलो टोपी र टिसर्टमा सझिएका थिए भने देवीको खट घुमाइएको थियो । नेवार समुदायको चाडअन्तर्गत पाहाँचह्रेको तेस्रो दिन असनमा जात्रा धुमधामका साथ मनाइयो । हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुँमधी अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई आआफ्नो ठाउँबाट बाजागाजासहितको टोलीले खट जात्रा गरी असन पु¥याएर जात्रा मनाउने परम्परा छ । यो जात्रालाई नेवारी भाषामा ‘द्यःल्वाकेगु’ जात्रा (खट जुधाउने जात्रा) पनि भनिन्छ ।
पाहाँचह्रेको अन्तिम दिन तीन देवीको खटलाई जुधाउने गरिन्छ । असन चोकमा पहिला पहेँलो टोपीले सजिएको एक समूहले आफ्नो काँधमा लुँमधी भद्रकाली बोकेर बाजागाजासहित असन परिसर आइपुग्छन । लुँमधी आएपछि जात्राको माहोल बन्न थाल्छ । केही समयपछि नीलो टोपी लगाएको समूहको लावालस्कर बाजागाजाका साथमा त्यही स्थानमा आइपुग्छ । यो समूहले वचुँ भद्रकालीलाई लिएर आएको हुन्छ । वचुँ भद्रकाली र लुँमधी भद्रकाली देवी सवार खट असन बजार पुगेपछि कङ्केश्वरीको प्रतीक्षा हुन्छ । तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एकापसमा घुमाइन्छ । यस क्रममा तीन दिदीबहिनीको रथ ठोक्याउने नभई एक अर्कालाई आदर र सम्मान गरिन्छ । जसमा दियोसहितको चिलाख साटासाट गरिन्छ ।
यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा रथ जुधाउने भन्ने प्रचलन रहिआएको हो । रथ असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने चलन पनि छ । यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास छ । यस क्रममा विशेष गरी असन र वरिपरि घरका चेलीबेटीलाई पाहुना बोलाई भोज खुवाउने चलन छ । असनमा चिलाख साटासाट गरेपछि तीनवटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ । यसै अवसरमा काठमाडौँका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाहाँचह्रे पर्व मनाउने चलन छ ।
पाहाँचह्रेको दिन वचुँ भद्रकाली, लुँमधी भद्रकाली तथा कङ्केश्वरी तीन दिदीबहिनीको भेटघाटका रूपमा यो न्हि जात्रा मनाउने गरिन्छ । असनमा प्रतीक्षारत दुई देवीको खटलाई कङ्केश्वरीको खटले तीन पटक परिक्रमा गरेपछि आगोको ज्वाला (ति प्वा) आदानप्रदान हुन्छ । त्यसपछि अर्को वर्ष टुँडिखेलमा पुनः भेट गर्ने वाचाका साथ असन जात्रा (न्हि जात्रा) सम्पन्न हुन्छ । लुँमधी भद्रकाली, कङ्केश्वरी र वचुँ भद्रकाली आआफ्नो क्षेत्रमा हुने जात्रामा सहभागी हुन जान्छन् ।