सिराज खान
नेपालगन्ज, असार २२ गते । इस्लाम धर्मावलम्बीको पवित्र पर्व मोहर्रम आइतबार ताजिया सेलाएर सम्पन्न गरिँदैछ । दस दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वको आज अन्तिम दिन हो ।
दस दिनसम्म निरन्तर रातभरी विभिन्न जुलुस, मातम र मिलान गरेर मनाइएको सो पर्वको अन्तिम दिन आइतवार विभिन्न स्थानबाट ताजियाका साथ निस्कने जुलुसले नगर परिक्रमा गरेर स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गर्ने कार्यक्रम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईले बताउनुभयो ।
उहाँले ताजिया विसर्जन जुलुसमा सबै धर्म सम्पदायका सर्वसाधारणको सहभागिता रहने बताउनुभयो ।
यसअघि मोहर्रमको नवौं दिन शनिबार राति ताजिया घर घरमा राखेर झिलिमिली पारी बजारलाई नै सिँगारिएको थियो । रातभरि स्थानीयले जाग्राम बसेर ताजियाको हेरचाह गरेका थिए । सर्वसाधारणले भने सहरका विभिन्न भागमा पुगेर रातभरि ताजियाको दर्शन र सहरको झिलिमिली अवलोकन गरेका थिए ।
इराकको कर्बलामा शहीद हुनुभएका इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मदका नातिहरु हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् ।
उनीहरुकै शहादतको सम्झनामा अरबी क्यालेण्डर अनुसार मोहर्रम महिनाको पहिलो दसदिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झनामा ताजिया राखिने परम्परा छ ।
कागज र काठबाट बनाइएका ताजियालाई नौ तारिखमा आ–आफ्नो घर अगाडि स्थापित गरेर रातभरि जाग्राम बस्ने गरिन्छ । ती ताजियालाई राख्नु अघि भाकल गर्ने र आफ्नो मनोकामना पूरा भएपछि ताजिया राख्ने गरिन्छ ।
मोहर्रमलाई हिन्दु, मुस्लिम सबैले मिलेर मनाउने गरेकाले यो पर्व धार्मिक सद्भावको पर्वका रुपमा स्थापित भइसकेको छ ।
नेपालगन्जको सुरक्षा व्यवस्था कडा
मोहर्रम पर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपालगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक रामप्रसाद घर्तीमगरले मोहरर्रम पर्वलाई सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर प्रहरी र सशस्त्र प्रहरीका गरेर करिब पाँचसय सुरक्षाकर्मी परिचालन गरि ड्रोनबाट निगरानी बढाइएको जानकारी दिनुभयो ।
सो क्रममा संवेदनशील स्थलहरुको पहिचान गरी ती ठाउँहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिसँगै ड्रोनबाट निगरानी भइरहेको प्रहरीले जनाएको छ । ‘‘मोहरर्रम पर्वलाई सभ्य, भब्य र शान्तिपूर्ण बनाउन नेपालगन्जमा करिब पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ,’’ प्रहरी प्रमुख घर्तिमगरले भन्नुभयो, ‘‘साँघुरो गल्ली र जनघनत्व भएको ठाउँमा ड्रोनबाट निगरानी भइरहेको छ ।’’
मोहर्रमलाई लक्षित गरी प्रहरी र शसस्त्र प्रहरीको संयुक्त गस्ती समेत बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो ।