पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असोज २२ गते । पश्चिम नवलपरासीका मुस्लिम समुदायले इस्लाम धर्मको महत्त्वपूर्ण पर्व मोहरम धुमधामका साथ मनाइरहेका छन् । यस अवसरमा जिल्लाका विभिन्न स्थानहरू, विशेषगरी सरावल र पाल्हीनन्दनलगायतका क्षेत्रमा, कलात्मक तजियाहरू प्रदर्शन गरिएको छ । मोहरमको दशौँ दिन, जसलाई आशुरा भनिन्छ, इमाम हुसेनको सम्झनामा यो पर्व मनाइन्छ ।
मोहरम : त्याग र न्यायको प्रतीक
मोहरम हिजरी संवत्को पहिलो महिना हो । यो पर्व मुख्यतया अन्तिम पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमका नाति हजरत इमाम हुसेन इब्न अलीको शहादतको सम्झनामा मनाइन्छ । करिब १४०० वर्षअघि ९६८० ईस्वी, हिजरी संवत् ६१ मा० वर्तमान इराकको कर्बला नामक स्थानमा यजिदको सेनासँगको युद्धमा इमाम हुसेनले आफ्नो परिवार र अनुयायीहरूसँग शहादत प्राप्त गरेका थिए ।
यो घटनालाई इस्लाम धर्मको इतिहासमा एउटा अत्यन्तै महत्त्वपूर्ण मोडका रूपमा हेरिन्छ । शिया मुस्लिमहरूका लागि यो अन्यायविरुद्धको संघर्ष, सत्यको पक्षधरता र धैर्यताको प्रतीक हो । सुन्नी मुस्लिमहरूले पनि कर्बलाको घटनालाई यजिदीहरु सँग इस्लाम मजहबको जीतको भएको मान्छन् । यद्यपि उनीहरूले यो पर्व मनाउने तरिका केही फरक हुन्छ । सुन्नी मुस्लिमहरु यश पर्वमा व्रत बस्ने, नमाज पढने, धर्म ग्रन्थ कुरान पढने र गरिब दुखियालाई दानपुन गर्ने जस्ता महत्त्वपूर्ण कार्य गर्द छन् ।
तजिया : श्रद्धा र एकताको प्रतिविम्ब
मोहरमको अवधिमा, विशेषगरी पश्चिम नवलपरासीमा बनाइएका तजियाहरू इमाम हुसेनको चिहान (मकबरा) को प्रतिकृति हुन् । यी तजियाहरूलाई सुन्दर ढङ्गले सजाएर सार्वजनिक स्थानमा प्रदर्शन गरिन्छ र पछि विधिवत रूपमा दफन वा विसर्जन गरिन्छ । यो प्रचलन कर्बलाको युद्धमा हजरत इमाम हुसेनले सहादत प्राप्त गरेको सम्झना गर्ने एउटा महत्त्वपूर्ण माध्यम हो ।
जिल्लामा तजियाको प्रदर्शनले समुदायमा हजरत इमाम हुसेनप्रति श्रद्धा व्यक्त गर्नुका साथै एकता र सद्भावको सन्देश पनि दिएको छ । यस पर्वले मुस्लिम समुदायलाई धैर्यता, दृढता, आत्म–शुद्धि र अन्यायविरुद्ध उभिने प्रेरणा दिने विश्वास गरिन्छ । यस अवधिमा मुस्लिमहरूले उपवास बस्ने, प्रार्थना गर्ने र दान दिने जस्ता कार्यहरू गरी आत्मिक शुद्धता हासिल गर्ने प्रयास गर्छन् ।