• २३ असार २०८२, सोमबार

रोमानिया पठाइदिने भन्दै एक करोड असी लाख ठगी गर्ने फिन्चु लामा पक्राउ

blog

काठमाडौँ, असार २२ गते । लिथुआनिया, रोमानिया लगायतका देशहरूमा पठाउने भनी पीडितहरूबाट एक करोड असी लाख त्रियानब्बे हजार ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरूको उजुरीको आधारमा रामेछाप उमाकुण्ड-६, घर भई हाल काठमाडौँ महानगर-६, बस्ने ३२ वर्षीय फिन्चु लामालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उनले ४५ जनाबाट रकम ठगी गरी फरार भएको जनाएको छ । 

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुकाएर ठगी गर्ने गरे पनि उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ । 

त्यसै गरी सर्बिया पठाइ दिने भन्दै दुई लाख ठगी गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । सङ्खुवासभा खादबारी-३, घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा-८, बस्ने २९ वर्षीय उत्तम खड्कालाई पक्राउ गरी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।