काठमाडौँ, असार २२ गते । हार शब्द सबैका लागि पीडादायक हुन्छ । कतिपय हार समयक्रमसँगै भुल्दै गइन्छ । तर केही हार मुटुमा तिखो काँडा बनेर गडिरहन्छ ।
नेपालका लागि उज्वेकिस्तानमा सम्पन्न एसिसी महिला एसियन कप छनोट–२०२६ अन्तर्गत उज्वेकिस्तानसँगको हार सँधैभरि सम्झाउने पीडादायी घाउ बनेको छ ।
आफूभन्दा ४९ स्थानमाथि रहेको घरेलु टोली उज्वेकिस्तानलाई खेलभर कडा टक्कर दिएर टाइब्रेकरमा नतिजा सुम्पनु पर्दाको पीडा नेपाली महिला फुटबलका लागि नमिठो बनेको छ । उत्कृष्ट पु्नरागमनसहित निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकेको नेपाल टाइब्रेकरमा स्तब्ध बनेको थियो ।
टाइब्रेकरमा घरेलु टोलीको चारवटै प्रहार सफल बन्यो । तर नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को पहिलो पेनाल्टी पोलमा ठोक्किएर फर्किएपछि नेपाल निराश बनेको हो ।
त्यसपछि गीता राना र सविता रानामगरको पेनाल्टी प्रहार सफल भए पनि नेपालकी गोलरक्षक अन्जना रानामगरको प्रहार उज्वेकिस्तानकी गोलरक्षकको हातमै परेपछि नेपालको रुवावासी सुरु भएको थियो ।
यो हारले नेपाली महिला फुटबललाई लामो समय पीडा दिने पक्का छ । हारले नेपालले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एसियन कप मात्र गुमाएन ।
पेनाल्टीको हारले नेपालको फिफा महिला विश्वकप छनोट–२०२७ र लस एन्जलस ओलम्पिक–२०२८ को छनोट यात्रा पनि गुमेको छ ।
यसपटक छनोटको समूह ‘एफ’ मा अन्तिम खेलमा टाइब्रेकरमा मार खाए पनि नेपालले समूहको पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएर आफूलाई अब्बल सावित गरेको थियो ।
यस्तै दक्षिण एसियामा सधैँ जस्तो प्रतिस्पर्धीको रूपमा रहेको भारत र बङ्गलादेशले एसियन कप छनोटको यात्रा तय गर्दा नेपाल मुखमा पुगेर बाहिरिनुको पीडा अर्को छ ।
घरेलु फुटबलको कमजोर संरचना र अभिभावक संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्रको चरम राजनीतिले जकडिएको अवस्थामा नेपालले ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाउन निकै मिहिनेत गर्नुपर्ने छ ।
अझ अनुभवी र स्टार खेलाडीको साथ पाएको अहिलेको जस्तो टिम पाउन नेपाललाई थप कठिन हुने छ ।