• १३ जेठ २०८१, आइतबार

आमायाङ्रीको शिखर चुम्दा

blog

उहुहुहु.... कति चिसो पानी ! हात त झननन भयो ।

हिजो तातै पानी खाइयो, तातै पानीले हात धोइयो, तातैमा बसियो र न्यानो सिरकभित्र गुटुमुटिएर रात काटियो । सिरिर्र हावा लागेबाहेक चिसोको अनुभव भएन । अहिले शौचालयको धारो प्रयोग गर्दा पो थाहा भयो– च्योमुथाङ रिसोर्टको वातावरण कति चिसो रहेछ । 

आज उनासी सालको माघ ८ गते । म हेलम्बुको आमायाङ्री पर्वत चढ्नका लागि बेसक्याम्पस्थित च्योमुथाङ रिसोर्टमा आइपुगेको छु । काठमाडौँबाट यहाँसम्म आउन मलाई साथ दिने साथीहरू छन्– बालकृष्ण शर्मा, विमला धोङ तामाङ, पासाङ तामाङ र धेची डोल्मा लामा ।

हामीबाहेक त्यसै रिसोर्टमा बास बस्न पुग्ने अर्काे दुई टोली पनि रहेछ । एउटा काठमाडौँकै पुरुष टोली र अर्काे मनाङबाट आएको महिला टोली ।

पहिले गरिने हेलम्बुको चर्चा र अहिले गरिने चर्चामा आमूल परिवर्तन भएछ । पहिले किन गइन्थ्यो हेलम्बु र अहिले किन गइँदो रहेछ हेलम्बु ? म नै अनभिज्ञ रहेछु । म त हेलम्बु गाउँको सौन्दर्य हेर्न पो गएको थिएँ, त्यो त अहिले माध्यम मात्र भएछ । अहिले त हेलम्बु सम्झिने र हेलम्बु हेर्ने दृष्टिकोणमा नै फेरबदल भएछ । अबको उद्देश्य त आमायाङ्री पर्वत चढ्ने ।

मैले सुनेको थिइनँ आमायाङ्रीको नाम । केही वर्षयता बौद्ध धर्मावलम्बीले याङ्री डाँडोको टुप्पोमा मन्दिर निर्माण गरेछन् र शक्तिकी प्रतीक देवीको मूर्ति स्थापना गरेर याङ्ग्री डाँडोलाई ‘आमायाङ्री’ नामकरण गरिदिएछन् । भइहाल्यो पर्यटकीय स्थल र हामी भयौँ पर्यटक, म भएँ पर्यटक ।

आज पो देखिएनन् त रिसोर्टमा खैरेहरू ! बेला बेलामा आउँछन् रे तिनीहरू पनि । यति मात्र कहाँ हो र, तार्केघ्याङको माथिपट्टि शान्ति वनलाई तपस्थल बनाएर ध्यानमा लीन हुने थुप्रै खैरेहरू पनि छन् रे ! हामीले पनि आउने क्रममा देखेका थियौँ, ती तपकुटीहरू । 

हिजो बेलुका नै तीनवटै टोलीका सहभागीहरूलाई सुझाव दिएका छन् रिसोर्ट सञ्चालक साङ्गे शेर्पाले– ‘बिहानको तीन बजे उठ्नुहोला, प्रातः कालीन क्रिया सकेर चार बजे किचेनमा आउनुहोला र चिया पिएर उकालो लाग्नुहोला ।’

तिनै साङ्गेको सुझावलाई पालना गर्दै विभिन्न शिविर, टेन्ट र काठेघरहरूमा बसेका हामीहरू ठिकठिकाउँदै भान्साघरमा पुग्यौँ, चिया पियौँ र बिस्कुट, भुजिया जे छ, बोकेर आधार शिविरबाट उकालो लाग्यौँ । 

मैले हिजै देखेको छु आमायाङ्रीको टुप्पो र टुप्पोमा बनेको मन्दिर । अनि मैले थाहा पाएको छु– हामी ३१५० मिटरमा छौँ र आमायाङ्रीको चुचुरो ३९४२ मिटरमा छ । यसको अर्थ आज हामीले करिब ८०० मिटर उकालो चढ्नुपर्ने छ ।

अँध्यारो छ, सबैका हातहातमा मोबाइल वा टर्चलाइटहरू छन्, बाटो बिरिने डर छैन । एउटै बाटो, एउटै लक्ष्य– आमायाङ्री शिखर । 

उकालो बाटोमा लाम लस्कर हिँड्दै गर्दा पो थाहा भयो– पचपन्न काटेको मानिस कोही पनि रहेनछ, म सत्तरी । उनीहरू चञ्चल थिए, उनीहरूलाई शिखर चुम्ने हतारो थियो । उनीहरू अर्काेलाई उछिनेर अगाडि पुग्ने होडमा थिए । अरू त अरू, जसको आडभरोसामा म यात्रा गर्दै थिएँ, ती भाइ बालकृष्ण पनि मेरो निकटबाट टाढिइसकेका थिए । 

मैले सोचेँ, आफैलाई डो-याएर हिँड्नुपर्ने भाइ त प्रथम बन्ने होडमा छ भने अरुको के आश ? अनि मैले अधिकांशले सुन्ने गरी एउटा नीतिश्लोक पढेँ– ‘शनै कन्था शनै पन्था शनै पर्वत लङ्घनम्

शनै विद्या, बनै वित्तं पञ्चैतानि शनै शनै ।’

अर्थात् बिस्तारै सिउने, बिस्तारै हिँड्ने, बिस्तारै पर्वत चढ्ने, बिस्तारै विद्या आर्जन गर्ने र बिस्तारै धन कमाउने । यी काम हतारोमा गर्दा धोका खाइन्छ ।

केही समय त नीतिवचनको पालना गरे श्रोताले तर दीर्घसमय पालना गर्न सकेनन् । यसै कारण म अलि अलि गर्दै पछि पर्दै गएँ । सास बढ्यो र खुट्टा दुख्यो भने केही मानिस पुनः मसँगै नारिन आइपुग्थे । म तिनीहरूलाई त्यही नीतिश्लोक पुनरावृत्ति गराउँथे । क्षणभर बुझेजस्तो गर्थे, फेरि खरायो गतिमा लाग्थे । 

मैले बेलाबेलामा प्रहरीले प्रयोग गर्ने शब्दबाट पनि सचेत गराउन चाहन्थेँ– ‘ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिँदैन ।’ हतार गर्ने क्रिया अन्ततः दुःखदायी हुन्छ । स्वास्थ्यले उमेरदार मात्र भन्दैन, काठमाडौँका तन्नेरी भ्यागुतालाई सजाय पनि दिन सक्छ उकालोले ।

यसो भन्नुमा मेरो पनि स्वार्थ थियो । किनभने रातको समय छ, सुनसान पहाडको बाटो, कतै टेको र छाप्रो भेटिँदैन । बाघभालुसँग जम्काभेट हुने सम्भावना पनि छ ।

अरू धेरै अगाडि बढे तर मलाई छोडेका छैनन्– मसँगै काठमाडौँबाट गएका त्रिनारीले । नछोड्नुको पछाडि केही मेरा वाक्यहरूको गुणग्राहिता पनि होला ! मैले काठमाडौँबाट हेलम्बु पुग्दासम्म थुप्रै जीवनोपयोगी कुरा सुनाएको छु र मेरो जीवनकहानी पनि पढाएको छु, त्यसको प्रभाव पनि होला !

उनीहरू भन्दैछन्– ‘अङ्कल ! गाह्रो भयो कि ! रेस्ट गर्नुपर्ने हो कि ! छेउतिरबाट नहिँड्नुहोला !’ 

मेरो श्वासप्रश्वास बढ्दै छ, ओठ मुख सुक्तै छ, खुट्टा गलेर पाइला सार्न मुस्किल पर्दैछ तथापि म उनीहरूका अगाडि कमजोर बन्न चाहेको छैन, उनीहरूको भार बन्न मनले मानेको छैन र कृपापात्र भएर निहुरिन पनि नैतिकताले दिएको छैन ।

यसै बेला उनीहरूले नै एक मिनेट उभिन आग्रह गरे, मलाई पनि राहत भयो । मैले भन्ने मौका पाएँ– ‘उकालो चढ्दा पाइला बिस्तारै चाल्नुपर्छ, गति नै रोकिने अवस्था आए उभिएरै रेस्ट गर्नुपर्छ तर सकेसम्म बस्नुहुँदैन ।’

उभिने र हिँड्ने यस्तै उपक्रमले केहीबेर निरन्तरता पायो । बाटो अप्ठ्यारो छ, पाथीभरा चढेजस्तो ढुङ्गे सिँढी छैन । ठूलो फेदी र सानो फेदी आदि बस्तीहरू पनि छैनन् । जङ्गल छ, केवल जङ्गल । 

तलपट्टि बाटोको दायाँबायाँ रुखहरू देखिन्थे, बाटोमा मुढा तेस्र्याएर खुट्केना बनाएको देखिन्थ्यो, अब रुखहरू देखिन छाडेका छन्, निक्खर नाङ्गो पहाड छ । ढुङ्गेलो बाटो छ, न सिँढी छ, न सजिलो । अँध्यारो छ, कति हिँडियो, कति बाँकी छ ? केही थाहा छैन । अनुमानित दुई घण्टालाई सही मान्ने हो भने हामी एक घण्टा हिँडिसकेछौँ । 

हामीभित्र एउटा उत्साह त पलाएको छ तर मलाई भने सत्तरीको घण्टी लागिरहेको छ । खुट्टा काम्न लागिरहेका छन्, टाउको दुख्न थालिरहेको छ, ग्यास्ट्रिक बढेर ढ्याउढ्याउ गर्दागर्दै अमिलो पानी घुलुक्क उम्लेर आएको छ । म सोचमा पर्न थालेको छु, हेलम्बु घुम्ने चाहना लिएर आएको मानिस आमायाङ्री चढ्ने चक्करमा किन परेँ ? तीस पैँतीस जनाको हुलमा म सत्तरी बर्से बूढो अलपत्र फ्याँकिने त होइन ?

म बालकृष्णलाई सम्झेर हैरान छु– मलाई पानी खाने मन छ, थर्मस र गिलास बालकृष्णको झोलामा छ । ग्यास्ट्रिक भगाउने मन छ, बिस्कुट र भुजिया उनैको झोलामा छ । म के नाताले कोसँग मागूँ पानी ? मागिहाले पनि ओठ नचोबेको होला कि नहोला ? ग्यास्ट्रिक भगाउनकै लागि भनेर कोसँग मागूँ बिस्कुट चमेना ? यो झनै अप्ठ्यारो कुरा ।

ज्यान बचाउनका लागि मैले लाजै पचाएर माग्नै पर्ने भयो र मागेँ । चिसै भए पनि बोतलको पानी मागेँ । ग्यास्ट्रिक दूर गराउनका लागि झोलामा जे छ, भएको मागेँ । तामाङ बहिनीहरूले गर्नु उपकार गरे । आज तामाङ जातिको सोनाम ल्होसारको दिन । खाप्से खानुपर्छ भनेर बिहान बिहानै खाप्से दिए । मैले टोकेँ । सुक्खा खाप्से निल्न के सकिन्थ्यो, पानीको सहारा लिएँ । तामाङ बहिनीहरूले एकछिन आराम गर्न भने, मैले टुसुक्क बसेर खाप्से टोक्दै पानीले निल्दै गरेँ । प्राण परावर्तन भएको अनुभूति भयो । म उठेर अगाडि बढेँ ।

अलिकति माथि पुग्दा पर्वत शिखरबाट विद्युत् प्रकाश छरेको देखियो, अझ माथि उक्लँदा मन्दिरको गजुरै देखियो । मन मुटु बलियो भयो, साहस अरू बढेर आयो । सत्तरीले इज्जत बचायो । मैले आमायाङ्रीमाथि विजय हासिल गरेँ । तामाङ बहिनीहरूले आमायाङ्रीको जयजयकार गरे । हामीले शिखर टेक्यौँ ।

उहुहुहु हावाको कस्तो तीव्र वेग !

भित्र पसिना, बाहिर जाडोको असह्य प्रकम्पन !

कता छेकिने ! कता रोकिने ! टाकुरामा मन्दिर ठडिएको छ, बाँकी खुल्ला ।

मैले हावाको दिशा पहिचान गरेँ र मन्दिरको आडमा कक्रक्क परेर उभिएँ । तर बालकृष्ण अझ पनि देखिँदैनन् ।

साढे छ बजेको छ, आकाशतिरबाट धरतीमा उज्यालोको अवतरण हुँदै छ । पूर्वी हिमाल लालिमामय भएको छ । मानिसहरू दृश्य कैद गर्नमा व्यस्त छन् । त्यसै बेला बालकृष्ण टुप्लुकिन्छन् ।

म व्यङ्ग्य गर्छु– ‘तपाईं त टाकुरोभन्दा माथि पुग्न हतारिएर आउनुभएको हैन र ? यहीँ हुनुहुँदो रै’छ त !’

उनले दाइ रिसाएछ भन्ठान्छन् र अनौठो कुरा सुनाउँछन् ।

बालकृष्ण उवाच– ‘दाइ ! म त डाँडाकाँडा घुमिरहने मान्छे । जसतससँग मेरो गति मिल्दैन । मिलाउन खोजेँ भने मेरो गति बिग्रन्छ । म हिँड्नै सक्तिनँ । त्यसै भएर म आफ्नै गतिमा हिँड्छु ।’

मैले उनको भनाइमा प्रतिवाद गरिनँ । खाली यत्ति भनेँ– ‘यो कुरा पहिले थाहा पाएको भए रसदपानीको जिम्मा म आफैँ लिने थिएँ, शिखर चढ्ने वा नचढ्ने पूर्व निर्णय म आफैँ गर्ने थिएँ । ती बहिनीहरू नभएको भए...?’

उनी मौन रहे, प्रतिक्रिया दिएनन् ।

पूर्वीय क्षितिज लालिमामय बन्दै गएको थियो । सूर्याेदय हुन केही समय प्रतीक्षा गर्नुपर्ने थियो । दर्शनार्थीहरू सूर्याेदय हेर्न आतुर थिए र त्यो दृश्य कैद गर्न तँछाड मछाड गरिरहेका थिए । म भने जाडोले कठ्याङ्ग्रिएको थिएँ, कतापट्टि बसेमा हावाबाट बच्न सकिन्छ भन्ने ध्याउन्नमा थिएँ । पूर्णरूपमा उज्यालो भएपछि मैले त्यहीँ मुनि एउटा टहरो देखेँ र त्यहाँ आगो तापिरहेका मानिस पनि देखेँ ।

म त्यतैतर्फ लम्केँ ।

हामीभन्दा अघि तार्केघ्याङबाट आएका केही तामाङ युवाहरू आगो बालेर बसेका रहेछन् । म पनि गएर एक छेउमा घुस्रेँ । आगोतिर हात बढाएपछि पो थाहा भयो– मैले तताउन खोजेका हात आफ्नै रहेछन् । टुक्रुक्क बस्न खोजेँ, ढलेँ । तामाङ भाइहरूले उठाएर बसाले । 

भने ‘बा कसरी आउनुभयो, यो उमेरको मान्छे ?’

मैले भनेँ– ‘आमायाङ्रीले तानेर ल्याउनुभयो ।’

मेरो भनाइमा उनीहरूले सहमति जनाए– ‘हो, आमायाङ्री शक्तिशाली देवी हुनुहुन्छ । मागेको पु-याउनुहुन्छ र सबैको रक्षा गर्नुहुन्छ ।’ 

ती युवाहरूको ईश्वरप्रतिको आस्था देखेर खुसी लाग्यो । 

हो, वास्तवमा ईश्वरप्रति आस्था र श्रद्धा जगाउनु भनेको रुढीवादी बन्नु वा धर्मभीरु हुनु होइन, सच्चा मानव हुनु हो । ईश्वरवादीले कसैको अहित सोच्दैन र कुनै प्रकारको आपराधिक काम गर्दैन ।

एकछिन आगो तापेपछि म उठेँ । रिँगटा लाग्यो, हत्त न पत्त बसिहालेँ ।

उतापट्टि हल्ला गर्न थाले– ‘सन राइज हुन हुन लाग्यो, सनराइज हुनै लाग्यो, भयो, भयो, भयो, भयो ...।’

म सूर्याेदय हेर्न त्यति क्रेजी छैन । डाँडाकाँडामा बस्ने हामी नेपालीका लागि सूर्याेदयको दृश्य नौलो पनि होइन । यसबाहेक दृश्यहरू हेर्नका लागि हामीलाई दर्शनटुप्पाहरू (भ्युटावर) आवश्यक पर्लान् जस्तो पनि लाग्दैन । हिजो हेलम्बु आउँदै गर्दा अजेमा निर्माण गरिएको ग्रेटवालको नक्कल पनि मलाई मन परेको होइन ।

हामीले नक्कल गर्नुपर्छ विकासको । कुन पक्षको विकास गर्दा देश उँभो लाग्छ, जनताले बढीभन्दा बढी सुख सुविधा पाउँछन् । के गर्दा थोरै पैसा खर्च गरेर धेरै लाभ लिन सकिन्छ । अहिले हामीलाई चिनियाँ रेल आवश्यक छैन, पानीजहाज पनि आवश्यक छैन । आधारभूत आवश्यकता पूरा भएपछि सोचौँला ।

अहिले भने म चाहेर वा नचाहेर चुचुरोमा पुगेको छु । उतापट्टि हल्ला भइरहेको छ । सूर्याेदय हेर्नेभन्दा पनि सूर्य हाम्रा प्राण रक्षक हुन् भन्ने दृष्टिकोण राखेर म सूर्याेदय हेर्न चाहन्छु । सूर्याेदयको दृश्य धार्मिक दृष्टिले पनि शुभकर हुन्छ । त्यसैले म पनि गएँ र पूर्वी क्षितिजमा आँखा अड्याएँ ।

लाङटाङका दुई हिमचुचुरा बीचबाट सूर्यले आफ्ना किरणहरू उच्च हिमशृङ्खलामा फिँजाइसकेका थिए । क्षणभरमा नै सूर्यकिरण फिँजियो आमायाङ्री शिखरमा पनि । सूर्यले आफ्नो स्वरूप विस्तार गर्दै पूर्ण आकारमा आए । सूर्याेदयको आकर्षण सकियो ।

पूर्वदेखि पश्चिमसम्म लामबद्ध भएर चम्किरहेका हिमचुचुराहरू त्यति अग्ला त थिएनन् तर अलिकति छोटा अग्ला भएर ताँती लागेका चुचुराहरू सूर्यप्रकाशले सुवर्णमय हुँदै काञ्चनमय बन्दै थिए । विशेष गरी गणेश, गौरीशङ्कर र जुगल (तामाङ भाषामा अजिनुमु अर्थात् दिदीबहिनी) हिमालहरूले आफ्नो परिचय दिँदै थिए, बाँकी हिमचुचुराहरूले आफ्नो पहिचानको खोजीमा मुस्कान छोड्दै थिए । 

तर स्थानीयका अनुसार यस बेला ढपक्कै ढाकिने हिउँ पातलो बन्दै थियो र ढाकिइरहने कतिपय पर्वतीय भूमि हिमविहीन भएर काला पत्थरमा परिणत भइरहेका थिए । तोर्केघ्याङ र मेलम्चीघ्याङमा समेत पर्ने गरेको हिउँ केही वर्ष यता पर्न छाडिसकेको थियो ।

हो, म हेर्दै थिएँ– तेजेनथाङ, कुटुमसान, घोप्टेघ्याङ ठाडेपानी र तार्तुङका डाँडाहरूमा हिउँ थिएन । काला पत्थरहरू रुन्चे अनुहार लगाएर मलाई हेर्दै थिए र गुनासो गर्दै थिए– तिमी मानवहरूकै अकर्मण्यताले गर्दा ग्लोबल वार्मिङ भयो, हामी हिमविहीन भयौँ र कालो आकारमा देखिन बाध्य भयौँ । 

स्थानीय व्यक्तिहरू दुःखेसो मनाउँदै थिए– हिमालमा हिउँ नपरेका कारण हिम पग्लिन पाएन, खोल्साहरूबाट पानी बग्न पाएन र सुक्खा जमिनमा सिञ्चन हुन नसकेका कारण बालीनाली मौलाउन सकेन ।’

मैले बौद्धपद्धतिमा बनेको तर पूर्णता पाइनसकेको तीनछाने मन्दिरको सूक्ष्म अवलोकन गरेँ । भुइँतलामा ध्यानमण्डप थियो र त्यसमाथि आमायाङ्रीको सानो मूर्ति र ३५० मेट्रिक टन शिलामा बनेको गुरु रिम्पोछेको मूर्ति वस्त्रले छोपिएको अवस्थामा थिए । आगामी जेठमा वार्षिक छिजु (पूजा) हुँदा ती मूर्तिहरूको अनावरण हुने रे ! 

हामीले आमायाङ्री शिखरमा बसेर आधा घण्टा सूर्याेदयको प्रतीक्षा ग¥यौँ, आधा घण्टा फोटो खिच्न र सौन्दर्य अवलोकन गर्न लगायौँ ।

मेरो समूहका तामाङ बहिनीहरूलाई फोटो खिच्नै पुगेको छैन, भाइ बालकृष्णलाई ड्रोन क्यामेरा उडाउँनै पुगेको छैन । अरू कुनै ओर्लिंदै थिए, कोही ओर्लिने क्रममा थिए । मैले आफ्नै सुर कसेँ र आफ्नै इच्छाअनुसार पाइला ओरालोतिर बढाएँ ।

अब मलाई त्यो आँट छ र त्यो साहस छ, अब म एक्लै बिनाआड–भरोसा ओर्लिन सक्छु । एक घण्टा नभए दुई र सो नभए तीन घण्टा लगाएर पनि ओर्लन सक्छु । मानिसले कुनै उचाइ प्राप्त गर्नका लागि पो सङ्घर्ष गर्छ, अवतरणका लागि केको सङ्घर्ष ? यसै भएर मैले बालकृष्णलाई पनि मेरो गतिमा गति मिलाउनबाट स्वतन्त्र छोडिदिएँ र विन्दास यात्रा गरेर आफैँलाई बिर्सने सुर कसेँ ।

म चाहेको ठाउँमा उभिन्छु, चाहेको ठाउँमा सेल्फी खिच्छु, चाहेको ठाउँमा बस्छु र एकोहोरो हराउँछु । म चाहेको ठाउँमा लमतन्न सुत्छु, चराहरूसँगै बेग हान्छु र आकाशमा दौडिरहेका बादलका भुल्काहरू गन्छु । म मस्त अलमस्त हुँदै एकल एकल ओर्लन्छु । मलाई लखेट्ने कोही हुँदैन, मेरो गति अवरुद्ध गर्ने कोही हुँदैन । 

मलाई साथ दिन्छन्– हिउँले खाएर काला भएका रुखपातहरूले । मलाई साथ दिन्छन्– लेउले ढाकिएका जीर्ण एवं मृत्युको पर्खाइमा जीवन धानिरहेका वृक्ष वनस्पतिहरूले । सबैभन्दा बढी साथ दिन्छ– रिसोर्टबाट मसँगै अघिपछि भएर शिखर पुगेको भोटेकुकुरले । बिस्कुट खान पाउने लोभमा हाम्रो समूहमै मिसिएर ऊ शिखर पुग्यो र अहिले सँगसँगै ओर्लंदै छ । अरू मानिस अघिपछि हुन्छन् तर स्वामीभक्तिको कारण होस् या बिस्कुट खाने लोभमा होस् कुकुर निकट हुँदा उसले एकछिन मेरो साथ छाड्दैन । म जङ्गलको बीचमा एकछिन लम्पसार सुत्दा सुँसुँ गरेर उसले मलाई छोडेको थिएन, सायद बिरामी प-यो कि भनेर होला ! 

मलाई पाण्डवको स्वर्गयात्रा याद आउँछ त्यस बेला । 

जब म च्योमुथाङ रिसोर्टको प्राङ्गणमा पुग्छु र त्यहाँ स्थायी रूपमा गाडिएको काठे कुर्सीमा खुट्टा तन्काएर  लम्लङ्ग सुत्छु, त्यसबेला पाएको सूर्यको न्यानो तापले म यति आनन्दित हुन्छु, यस्तो आनन्द जीवनमा सायदै मिल्छ होला !