• ८ मंसिर २०८१, शनिबार

‘मौसमी फ्लु’ सङ्क्रमण

‘एच थ्री एन टु’ फ्लुका कारण लामो समय खोकी लागिरहन्छ

blog

काठमाडौं, चैत ५ गते । पछिल्लो केही समय यता भारतमा ‘एच थ्री एन टु’ फ्लु व्यापक रूपमा फैलिरहेको छ । एच थ्री एन टु फ्लुबाट केही मानिसको मृत्यु पनि भएको विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  कोभिडकालमा केही कम भएको फ्लुको समस्या यो वर्ष नेपालमा पनि पुनः देखिन थालेको सरुवा रोग विशेषज्ञहरू बताउँछन् । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा पनि सन् २०२३ सुरु भए यता ‘एचथ्री एन टु भाइरस फैलिरहेको बताउनुभयो ।  

उहाँका अनुसार नेपालमा आधिकारिक तथ्याङ्क नभए पनि धेरै जनामा यो फ्लु लागेको छ । उहाँ भन्नुहुन्छ, “पछिल्लो समय हाम्रो समुदायमा पनि यो फ्लु फैलिएको छ । हाम्रो समाजमा सामान्य रुघाखोकी लाग्यो भने अस्पतालमा नजाने घरमा नै आराम गर्ने प्रचलन धेरै भएकाले आधिकारिक तथ्याङ्क छैन ।” 

चिकित्सकका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती महिला फ्लु भाइरसको जोखिममा पर्ने समूहहरू हुन् । 

ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्नेजस्ता कडा खालका लक्षण लिएर अस्पतालमा आउने अधिकांश बिरामीमा फ्लु ‘ए‘ र ‘बी‘ दुवै पुष्टि भएको डा. पुनको भनाइ छ ।  बिरामीहरू फ्लुका अन्य लक्षण हराएपछि पनि लामो समयसम्म खोकीको समस्याले दुख दिने गरेको उहाँको भनाइ छ । 

यो कस्तो भाइरस हो ?

डा. पुनका अनुसार एचथ्री एन टु नयाँ भाइरस भने होइन । यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । फ्लु ए अन्तर्गत एचथ्री एन टु भाइरस पनि पर्दछ । यसलाई हङकङ फ्लुको नामले पनि चिनिने चिकित्सकको भनाइ छ । यसको फ्लु ए, बी, सी र डी गरी चार प्रकार हुन्छ । ‘ए’ र ‘बी’ फ्लुले बेलाबेलामा दुख दिने गरेको डा. पुन बताउनुहुन्छ । विगतमा ए र बी फ्लुले नेपालमा महामारी नित्याइसकेको छ । 

सरुवा रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार यो भाइरस जाडो महिनामा बढी सक्रिय हुने भए पनि भाइरसले जुनसुकै मौसममा सबै उमेर समूहका मानिसलाई दुःख दिने गर्छ । 

जोखिम समुह

चिकित्सकका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती महिला फ्लु भाइरसको जोखिममा पर्ने समूहहरू हुन् । चिकित्सकहरूका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातादेखि १० दिनमा आफैँ हराएर जान्छ । तर, जोखिम समूहलाई जटिल समस्या निम्त्याउन सक्ने चिकित्सक बताउँछन्  ।

डा. कोइरालाका अनुसार यो भाइरसले श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गराउने भएकाले भाइरल वा ब्याक्टेरियल निमोनिया (फोक्सोको सङ्क्रमण) सँगै अन्य सङ्क्रमणको खतरा समेत हुने सम्भावना हुन्छ । 

लक्षण 

फ्लुका लक्षण ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, शरीर र मांसपेशी दुख्नु, थकान महसुस हुनेजस्ता लक्षण देखिने गर्दछन् । 

कसरी सर्छ ?

अन्य भाइरसजस्तै फ्लु पनि श्वासप्रश्वासको माध्यमबाट सर्ने डा.कोइराला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “फ्लु भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्छ ।” 

यो भाइरसबाट जोगिन जोखिम समूहका मानिसलाई फ्लुविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार फ्लुविरुद्धको खोप प्रभावकारी छ ।

उपचार

फ्लु भए नभएको सिँगान र खकारको जाँच गरे पनि मात्र पुष्टि हुने चिकित्सक बताउँछन् । भाइरस हुनासाथ अधिकांश बिरामीले फार्मेसीमा गएर आफूखुसी यान्टिबायोटिक खाने गर्छन् । फ्लुविरुद्धको औषधि बजारमा उपलब्ध भएकाले यान्टिबायोटिक आवश्यक नपर्ने डा.कोइरालाको भनाइ छ ।  

उहाँ भन्नुहुन्छ, “यो फ्लु हुनासाथ यान्टिबायोटिक खानु हुँदैन । यदि यो समस्या बढेर निमोनिया भयो वा अन्य स्वास्थ्य समस्या देखियो भने मात्र चिकित्सकले यान्टिबायोटिक चलाउँछन्, आफूखुसी किनेर खानुहुँदैन ।” 

बच्ने उपाए 

जनस्वास्थ्यका मापदण्ड अपनाउने जस्तै– हात साबुन–पानीले राम्ररी धुने, मास्क लगाउने, हात, नाक, मुख, आँखामा घरी–घरी नछुने, खोक्दा, हाच्छिउँ गर्दा पाखुराको बहुलाले छोप्ने, रुघाखोकी, ज्वरो आएको व्यक्तिबाट टाढा रहनु यसबाट बच्ने प्रमुख उपाय हो । 

यो भाइरसबाट जोगिन जोखिम समूहका मानिसलाई फ्लुविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार फ्लुविरुद्धको खोप प्रभावकारी छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।