• १४ जेठ २०८१, सोमबार

जातीय समानता र सहकार्यको कथा ‘बुह्रान’

blog

सरदरमा पाँच सात फिटको उचाइमा मान्छेको रङ्गमञ्च उठ्छ अनि ढल्छ । त्योभन्दा अलि उचाइमा बसेर मान्छेका भोगाइमाथि  झुल्किने घाम जून र डुब्ने जिन्दगी खोज्नका लागि केही लेखक कवि भएर जन्मन्छन् संसारमा । दुःखी भएर दुःख भएकोे होइन । दुःख छ र दुःख भोग्न मान्छे अभिशप्त छ । दुःख बिसाउन, दुःख देखाउन, दुःख माथि राजनीति गर्न अथवा दुःखको व्यवसाय गर्न पनि हो जस्तो लाग्दैन ‘बुह्रान’ लेखन । त्यसो भए किन त ? यसको एउटै जवाफ छ सामाजिक पक्षको यथार्थ तस्बिर ।

 प्रगतिशीलताको गतिलो लेपन दिन सकिन्थ्यो सुकुम्बासी समस्यामाथि, विद्रोहमाथि । क्रान्तिको एक उदाहरण बनाउन पनि सकिन्थ्यो तर असमान वितरण प्रणाली र जैविक, सामाजिक धरातल नबिर्सी लेखिनु यस आख्यानको विशेषता हो । 

तयार भएको चिजमाथि गुणदोष लगाउनु सबैभन्दा सजिलो काम हो । अर्को अर्कोसँग तुलना गरेर होच्याउनु लेखनको एउटा विकृति पनि हो । यी दुई सरुवा बिमारबाट अलि वरै बसेर पढिनुपर्ने र समालोचना हुनुपर्ने उपन्यास हो महानन्द ढकालको ‘बुह्रान’ ।

 बसाइँसराइले जीवन पद्धतिमा दुःख मात्र थप्दैन । सम्भावनाका ढोका पनि खोल्छ । गतिशील जीव चलायमान हुन पुरानो ठाउँ छोड्नै पर्छ । यसरी कुनै स्थान छोड्दा धेरै कुरा छुट्छन् पनि । संस्कार र संस्कृति व्यक्ति व्यक्तिले बोकेर ल्याइपु¥याउने हो । जस्ताको तस्तै कुनै चिज कहीँ पुग्दैन । टुटफुट हुन्छ । परिष्कृत पनि हुन्छ । केही सकिन्छ केही थपिन्छ । जस्ताको तस्तै त स्थिर रहँदासमेत भेट्न सकिन्न । 

बसाइँसराइ ऐच्छिक या बाध्यात्मक हुन सक्छ । ऐच्छिक बसाइँ सर्नुले सुविधाभोगलाई सम्बोधन गर्छ भने बाध्यताले पारिवारिक, सामाजिक, आर्थिक र मानवीय मूल्यमान्यतामाथि सबै कुरामा प्रभाव छोड्छ । अभावको सामनाले सीमा नाघ्नु बुह्रान प्रवेशको एक मात्र उद्देश्य हुन्छ माइला थारुको होस् या पार्वतीको ।

आज पनि जनता सुकुम्बासी समस्या झेल्दै छन्  । दलीय व्यवस्थाका हिमायतीहरूको नारा सक्न चाहँदैनन् । सामान्य पेट भरिनेहरूले सुकुम्बासीको परिभाषा फेरि रहन्छन् । गरिबी हटाउने सिद्धान्त गरिब हटाउमा सक्रिय हुन्छ आधुनिक पुँजीवाद । माक्र्सको पुँजीवादको ठेली पल्टाउनको साटो आफैँ खाएखेलेको आँगन पिँढी नियालेका छन् ढकालले ।

 लेख्य कुरा लेखुन्जेल चलायमान हुन्छ । लेखिसकेपछि मृत । यो सैद्धान्तिकी हो लेखनको । साहित्य र सिर्जनाबाहेक अन्य लेखनहरूले यो आरोप खेप्नुपर्छ । त्यसैले त सिद्धान्तका आँखामा समतल देखिने आर्थिक सामाजिक धरातल सदैव उबडखाबडयुक्त देखिन्छ । अर्को पक्ष, समान वितरण प्रणालीका सिद्धान्तले मेहनत, परिश्रम र प्रतिस्पर्धाको कल्पना गर्न सक्दैन । अभाव र महँगीको सीमा निर्धारण गर्न सक्दैन । मानवीय आवश्यकता र चाहनालाई नियन्त्रण पनि गर्न सक्दैन । त्यो पूर्णतः समाज विज्ञानको पाटो हो तर समाज विज्ञानभित्र पनि मानवीय निर्मम हुनुहुँदैन । ढकालकृत कृतिको आन्तरिक र सूक्ष्म सन्देश हो यो ।

अवस्था र व्यवस्थामा ताìिवक अन्तर आउन अथवा प्रगति देख्न किन सक्दैन ? भनेर धने र मैनाको बसाइको पालादेखि माइला थारूको बुह्रानमा पनि लेखकहरू जवाफ खोजिरहेका छन् । राजनीतिक परिवर्तनले कुनै एक दिन एउटा परिवर्तनको सन्देश दिन्छ । अनि वर्षौंसम्म त्यो दिनको ब्याजमाथि महिमा मण्डनको इतिहास ओढेर बस्न खोज्छ सत्ता । तर समाज त्यसभन्दा धेरै माथि हुनेगर्छ । प्रत्येक व्यक्तिमा हुने अन्तरनिहित क्षमताले गर्दा समाजमा प्रतिस्पर्धा हुनेगर्छ । प्रतिस्पर्धाका कारण पनि वर्ग विभाजन हुनपुग्छ । जसले नयाँ नयाँ वर्गको स्थापना भएको देखिन्छ वर्गीय विविधता नियाल्दा । शारीरिक श्रमसँगै  बौद्धिकताले पनि  समाज रूपान्तरणमा ठूलो भूमिका खेल्छ भन्ने भनाइलाई नाघ्न सकिने कुरा भएन ।

काल्पनिकीभन्दा वर बसेर हेर्दा सौन्दर्य हेर्ने आँखासमेत वर्गीय हुन्छन् । सामाजिक यथार्थलाई मिहीन गरी टिप्न चुकेको देखिँदैन लेखक । उपन्यासले कति कुरा नबोलेर बोलेको छ । कति कुराको पुनरावृत्ति गरेको छ । यातायात, सञ्चार विद्युत् जस्ता अहिलेको अवस्थाका आधारभूत आवश्यकतासमेतको अभाव रहेको त्यस बेलाको लिखित दस्तावेज पनि हो ‘बुह्रान’ ।

ती अभाव र आवश्यकतामाथि उभिएर वादहरूको पगरी गुथेकाहरू आज पनि नेतृत्वदायी भूमिकामा छन् । स्थान फेरियो होला । व्यवस्था फेरियो होला । नाम, थर फेरियो होला । तर माइला र सोमलाल जस्ता भुइँमान्छेको अवस्था उस्तै देखिन्छ । भौतिक विलासको उपभोक्तावादमा आज पनि उनीहरूको उपस्थिति श्रमिककै रूपमा रहेको छ । अग्लो घरको छायामा छन् साना झुप्राहरू । त्यस्ता छाया परेका छाप्रामा प्रकाश छर्नु लेखकीय धर्म हो । लेखक ढकाल त्यो कोणबाट कति डिग्रीमा देखिन्छन् त्यो हरेक पाठकको आँखामा भिन्न भिन्न हुनु स्वाभाविक छ ।

एउटा कर्मचारीको आँखाबाट हेर्न सुरु भई उनकै उपस्थितिमा अन्त्य गरिएको कथासारभित्र– सपना, सङ्घर्ष र स्वाभिमान खण्डका उपशीर्षक दिइएको छ । विषयवस्तुलाई पन्ध्र परिच्छेदमा विभाजन गरेर कथालाई एउटा पूर्ण स्वरूप दिइएको छ ।

जन्मथलो दाङ छोड्नुपरेको माइला थारूको पैदल यात्राले पाठकलाई त्यो कष्टकर यात्रामा सामेल गराउँछ । आफ्नो बास अनि मेहनत गरेर गाँस जुटाउने एउटा सपना बोकेर बुह्रान झरेका दङाली थारूका प्रतिनिधि पात्र हुन् माइला । बाटाका दुःख, बुह्रान पुगेपछिका अभाव अनि जग्गा पाउनु, जग्गाको लालपुर्जा पाउनुका अनेक सङ्घर्षको अन्त्य पाँच कट्ठा जग्गा प्राप्ति पछि टुङ्गिन्छ ।  सपनाको सानो अंश पूरा भएको अनुभूति माइलासँगै पाठक पनि हुन्छ ।  

स्याङ्जाको अर्जुनचौपारीमा तिलकरामसँग अनमेल विवाह भएपछि पार्वतीका दुःखका दिनहरू सुरु हुन्छन् । नेपाली महिलाहरूले विवाहमाथि आफ्नो निर्णयविरुद्ध कसरी झेल्न विवश थिए । यो कुरा ऐतिहासिक सामाजिक विषयवस्तु हो । त्यस बखतको विवाह प्रसङ्ग निकै रोचक लाग्छ । आजको पुस्तालाई त कौतुहलता जगाउने खालको छ । महिनावारी हुनुपूर्व नै गरिने कन्यादान प्रचलनलाई जस्ताको तस्तै उतारिएको छ । घरायसी सल्लाहमा उमेर नमिल्दो र सौतामाथि भएको बिहे अस्वीकार गर्न सक्ने जोडबल नै पुग्दैन पार्वतीको । पारिवारिक र मानसिक आन्तरद्वन्द्व र सौताको मृत्युले थप दुःख र पीडा थपिदिन्छ । 

उमेर छिप्पिँदासम्म पनि बच्चा जन्माइरहनुको सास्ती एकातिर हुन्छ भने अर्कोतिर हुर्किएका छोराछोरीको कसैको मृत्युु हुनु कसैको उमेर नपुग्दै बिहे हुनु  जस्ता घटनाले पार्वतीमा थप विक्षिप्तता थपिन्छ । बिहे भएकी छोरीको असामयिक मृत्युपछि  छोरा (नाति)लाई आफ्नै स्तनपान गराएर हुर्काउनुको कष्टकर अवस्थासमेत झेल्नुपरेको छ ।

मधेस र पहाड आउने जाने क्रम चलिरहेको हुन्छ । चितवनमा पुगेर फर्किन पर्नु र दोस्रो पटक मधेश झर्दा महँगीले बुह्रानसम्म ल्याइपु-याएको छ । यो एक औपन्यासिक संयोजन होइन । समग्र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्मको साझा कथा हो । कुनै जिल्लामा कम बढी हुनु त स्वाभाविक छ । भिन्न समुदायका परिवारबीचको सुमधुर सम्बन्धको एउटा नमुना पनि हो यो कृति ।  अन्तरद्वन्द्वबीच पनि छिमेकीको आत्मीयताले द्वन्द्वको क्षतिमा देखिने न्यूनता पनि सामाजिक सद्भावको उपलब्धि हो । दुःखमा मान्छेलाई नजिकैबाट चिन्न सकिन्छ ।

आख्यान एक अघोषित दस्तावेज हो । तथ्याङ्क नदिँदा पाठक लोचन लाभदेखि वञ्चित हुन्छन् । यसले लेखकीय साख त जोगिएला तर पाठकीय आलोचनाबाट अन्मुक्ति दिँदैन ।

माइलाको सहयोगी सहभागिताले पार्वतीलाई जेजति सहयोग भयो त्यसका बदलामा माइलाका साह्रोगाह्रोमा पार्वतीका परिवार सामेल भएको देखिँदैन । सहयोगमा जुटेको देखिँदैन । एउटा अदृश्य खाडल छँदैछ । पाठकले छोपिएको खाडल देख्छन्, लेखकले किन देख्दैनन् ?

सुरुवातदेखि नै कथामा पुनरावृत्ति भएका प्रसङ्ग हुन्छन् । स्वाभिमान उपशीर्षकदेखि कथा हतारमा दगुरेको छ । अखबारका समाचार शीर्षकझैँ देख्न सकिन्छ हरफहरू । वर्षौंका घटना एक एक लाइनमा अटेका छन् । थरुहट आन्दोलनका चरणहरू यसरी नै बुझिन्छ ।

पृष्ठ ३१० मा भनिएको छ– “पहाडियालाई लखेट्नुपर्छ । उनीहरूलाई डोको बोकाएर पहाडतिरै फर्काउनुपर्छ” भन्ने नारा चर्किन थाले । सोमलालले नारा लगाउन सकेन । उसले रमितालाई सम्झ्यो । उसले पार्वती आमा र उनका छोराहरूलाई पटक पटक  सम्झ्यो । सम्बन्धहरूले मान्छेलाई सङ्कर्मणमा राख्छ । निर्णयहरू अनिर्णयको बन्दी हुन पुग्छन् । यो नेपाली समाजको कटु यथार्थ हो । जातीय स्वतन्त्रताको युद्ध होस् या महान भनिएको माओवादी जनयुद्ध । 

जे भएको हुन्छ त्यही पस्किनु यो कृतिको विशेषता हो । अति यथार्थले आलोचना खेप्नु स्वाभाविक छ ।

रमिताको यौवन र प्रेमले नजानिँँदो क्रान्ति छेडेकै हो । अस्वाभाविक सहबास मात्र होइन त्यो भनेर मुक अभिव्यक्ति भेन्टिन्छ अन्तरकुन्तर ।

थरुहट आन्दोलनका बारेमा बाबु माइला र छोरो सोमलालबीचको वार्तामा भाषाको प्रयोग मीठो आएको छ । अघिल्ला अंशमा जस्तो पूर्ण उल्थालाई दोहो¥याइएको छैन । एउटा पुस्तकभित्र पनि लेखक अन्त्यतिर परिष्कृत भएको छनक मिल्छ । साना साना कुराले ठूला तर्कको प्रतिनिधित्व दिन सक्नु सकारात्मक पक्ष हो । अस्तित्वको लडाइँमा एक पक्षको सफाइ मात्र उपलब्धि ठानिएका गल्तीहरू नेपाली राजनीतिक आन्दोलनका बिझाउने पक्ष हुन् । 

माथि भनिएझैँ घटना सत्य थिए । स्थान र समय उल्लेख नगर्नुले ऐतिहासिकता खोज्न अन्यत्र पुग्नै पर्ने हुन्छ । निङ्माको नजरमा जोडिएर लेखकीय सार या दृष्टिकोण पस्किन खोज्नु आख्यानका लागि बाधक भएको छ । जुन कुरासँग यो कृति जोगिन सकेको छैन । अदृश्य रूपमा अनुच्छेदको अन्त्यमा एक वाक्यले बोक्ने दृष्टिकोणलाई सुन्दर नजरले हेरिन्छ । पूराका पूरा अनुच्छेद बोझिलो हुन्छ । 

दृष्टिकोण बनाउन त पाठकलाई छोडिदिनु उपयुुक्त हुन्थ्यो । पृष्ठ ३१६ मात्र होइन अन्यत्र पनि लेखक ढकाल चुकेको भेटिन्छ । परिवारका किसिमबारे एकल र संयुक्तबीचको भिन्नतामा निङ्माको धारणा स्पष्ट देखिँदैन । संयुक्त परिवारका दोष मात्र देख्नु अतिशयोक्ति लाग्छ । पृष्ठ ३२१ मा निङ्माको आँखाबाट सरसर्ती कथासार  लेखाइले अन्तिम परिच्छेद मात्रै पढेर पूरै आख्यान बुझ भन्छ । यसरी पुरै ‘बुह्रान’को तौल किन घटाइएको होला ? माइला आदर्श पात्र– ‘उपन्यासको नायक हो’ यो कुरा पाठकले भन्ने होइन र ?

उसो त आलोचनाको उकालोमा तिल पनि पहाड बनेको देखिन्छ । चन्द्रमामा पनि दाग भेटिन्छ । पहिलो आख्यान हुनुको नाताले प्रशंसाको भोक अस्वाभाविक होइन तर तटस्थ पाठकले मुक्त कण्ठले आहा भन्न नपाएको कुरा भन्नै पर्छ । यसका विभिन्न कारण छन् ।

‘बुह्रान’ एउटा क्षेत्र हो । जसलाई थारु भाषाबाट लिइएको छ । परिस्थिति र प्रारब्धको दुःख समेटिएको छ । समय र परिस्थितिले चेतना सुषुप्त बस्न बाध्य भएको अवस्था हरेक परिच्छेदले बोलेको छ । वर्णनीय पात्र पार्वती, माइला, सोमलाल र रमितामध्ये पार्वतीका दुःखले ठूलो भूगोल ओगटेको छ । नारी पात्रको चित्रणमा सहनशीलताको एक पराकाष्ठा हुन् पार्वती । आशावादी सङ्घर्षले अन्त्यमा सन्तोषको सास फेराएको छ । अन्य पात्र माइला, सोमलाल र रमिता केन्द्रीय भूमिकामा रहेर पनि उनीहरूको अपेक्षाकृत रूपमा परिवर्तन हुन नसक्नु यस उपन्यासको मूल तìव हो ।

काल्पनिकीलाई महìव नदिएर समयसँग किन कोही कसैको जीवनस्तर परिवर्तन हुन सक्दैन ? सोमलालले सुकुम्बासी आयोगको सदस्य पदलाई किन नका¥यो ? यथार्थमा परिवर्तनका लागि गर्नुपर्ने चाहिँ के हो ? प्रश्न छोडेर गएको छ ।  

कोहलपुर–४, बाँके