• २५ पुस २०८१, बिहिबार

नेपालगञ्ज पौडी पोखरी सर्वसाधारणका लागि खुला

blog

सर्वसाधारणका लागि खुला गरिएको नेपालगञ्ज रङ्गशालाको पौडी पोखरी । तस्विर : सिराज खान ।

सिराज खान 

नेपालगञ्ज, चैत ३ गते । नेपालगञ्जको रङ्गशालास्थित नेपालकै दोस्रो ठूलो पौडी पोखरी (स्विमिंग पुल) सर्वसाधारणका लागि खुला गरिएको छ । गत वर्ष वर्षा सुरु भएपछि बन्द गरिएको पौडी पोखरीलाई सरसफाई गरी खेलाडी र सर्वसाधारणका लागि खुला गरिएको मध्येपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो । 

उहाँले निर्धारण गरिएको शुल्क तिरेर जो सुकैले पनि पाैडी खेल्न पाउने गरी पौडी पोखरी सञ्चालनमा ल्याइएको बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको सो पौडी पोखरी सरकारले निर्माण गरेको काठमाडौं पछिको दोस्रो ठूलो हो । 

चैत १ गतेदेखि सञ्चालन गर्ने घोषणा गरिए पनि शुक्रबारबाट पूर्ण रुपमा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख चन्दको भनाइ छ । उहाँका अनुसार समितिले सर्वसाधारणका लागि प्रति सिफ्ट दुई सय रुपियाँ र विद्यार्थीका लागि प्रति सिफ्ट एक सय रुपियाँ शुल्क निर्धारण गरिएको छ । यस्तै, मासिक, अर्ध वार्षिक र वार्षिक सदस्यता शुल्कसमेत निर्धारण गरिएको समितिले जनाएको छ । 

‘सर्वसाधारणको मागलाई दृष्टिगत गरि होटलको स्विमिङ पुलको शुल्कभन्दा कम शुल्क निर्धारण गरिएको छ,’ चन्दले भन्नुभयो । 

स्विमिंग पुल सञ्चालनका लागि प्रशिक्षक र जीवन रक्षकको व्यवस्था गरिएको छ । स्विमिंग गर्नुभन्दा पहिले अनिवार्य रुपमा सावर लिनुपर्ने र स्विमिङ गर्नेहरुले अनिवार्य रुपमा स्विमिङ कस्टम लगाउनुपर्ने नियम लागू गरिएको छ ।