• २६ चैत २०८२, बिहिबार

रूपन्देहीका ५९ परीक्षा केन्द्रमै एसईई उत्तरपुस्तिका परीक्षण

blog

बुटवल–१२, नयाँगाउँ मावि परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गर्दै शिक्षकहरू। तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, चैत २६ गते ।
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रणालीमा व्यापक सुधार ल्याएपछि यसको प्रभावकारिता पनि बढ्दै गएको पाइएको छ।

अहिले सञ्चालन भइरहेको एसईईमा परीक्षा भएकै दिन उत्तरपुस्तिका धमाधम परीक्षण भइरहेको छ। सरकारको नयाँ कार्यविधि अनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गर्ने व्यवस्था लागु भएपछि रूपन्देहीका ५९ वटै परीक्षा केन्द्रमा सो काम भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले बताउनुभयो।

उहाँले भन्नुभयो, “उत्तरपुस्तिकाको परीक्षणपछि विद्यार्थीले प्राप्त गरेको मार्कस्लिप हामीकहाँ आउँछ, उत्तरपुस्तिका भने सोही दिन नजिकको प्रहरी कार्यालयमा सिलबन्दी गरेर पठाइन्छ।”

परीक्षा केन्द्रहरूमा परीक्षा सकिएलगत्तै कापी जाँचका लागि शिक्षकहरूको व्यस्तता बढेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँ माध्यमिक विद्यालयमा केन्द्राध्यक्ष, सुरक्षाकर्मी तथा सिसी टिभी निगरानीमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ।

प्रधानाध्यापक पुरुषोत्तम भट्टराईका अनुसार यसले मूल्याङ्कन प्रक्रियालाई पारदर्शी बनाउनुका साथै छिटो र छरितो रूपमा नतिजा प्रकाशनमा सहयोग पुगेको छ। उहाँले भन्नुभयो, “हामीले परीक्षा सकिएलगत्तै सोही दिन उत्तरपुस्तिका जाँचिरहेका छौँ। बेलुका करिब ८ बजेसम्म सोही दिनको परीक्षण सकिन्छ र अर्को दिन प्राप्ताङ्कसहित कापीहरू सिलबन्दी गरेर शिक्षा विकास तथा समन्वय एकाइ भैरहवामा पठाइन्छ।”

सरकारले एक महिनाभित्रै एसईई नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेकाले परीक्षा केन्द्रका शिक्षकहरूले त्यसमा सक्रिय सहयोग गरिरहेका छन्।

नयाँगाउँ माविमा १४ वटा विद्यालयका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको छ। प्रधानाध्यापक भट्टराईका अनुसार यहाँ ६ वटा प्राविधिक धार र ८ वटा साधारणतर्फका विद्यालयका गरी ४१९ विद्यार्थी परीक्षामा सहभागी छन्।

उत्तरपुस्तिका परीक्षणमा संलग्न शिक्षकहरूले परीक्षा सकिएलगत्तै विद्यालयमै खाना खाएर कापी परीक्षण गरिरहेको बताएका छन्। “एक–दुई दिन असहज र दबाब भए पनि अहिले त दैनिक बानी परिसकेको छ,” उहाँहरूको भनाइ छ।

रूपन्देही जिल्लामा ३४५ विद्यालयका २१ हजार ५४५ विद्यार्थी एसईईमा सहभागी छन्। तीमध्ये १७६ सामुदायिक र १६९ संस्थागत विद्यालय रहेका छन्। प्राविधिकतर्फ १२ विद्यालयका ५१५ विद्यार्थी परीक्षामा सहभागी रहेको पन्थीले जानकारी दिनुभयो।