• २६ चैत २०८२, बिहिबार

चैतको बाढीले बाटो बगाउँदा यातायात ठप्प

blog

खोलामा बाढी आएर गाडी चल्न नसकेपछि पैदल हिँडेर लालबन्दी बजार आउँदै गरेका नारायण खोलाका स्थानीय । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, चैत २६ गते । सर्लाहीको ‘कर्णाली’ भनिने लालबन्दी नगरपालिका-१४, नारायण खोलामा बाढी आएर खोलाको बाटो बगाएपछि यातायात ठप्प भएको छ ।

बिहीबार बिहानपख भएको भारी वर्षापछि लखन्देही र डाइनी खोलामा बाढी आउँदा खोला बगरको बाटो बगाएसँगै यातायातका साधन ठप्प भएका हुन् ।

सडक नपुगेको नारायण खोलामा पानी नपर्दा खोलाको बगर भएर बस सञ्चालन हुने गरेका छन् । बाढी आएर गाडी चल्न नसकेपछि नारायण खोलाका स्थानीय लालबन्दी बजारसम्म आउनुपर्दा तीन घण्टा बढी पैदल हिँड्न बाध्य भएका छन् । 

आफूसहित केही युवाले बाढीमा हेलिएर लालबन्दी–१३, पत्थरकोट छेडासम्म मोटरसाइकल ल्याए पनि बस र अन्य गाडी चल्न नसकेको नारायण खोला मोटर दोभानका भीमबहादुर पाख्रिनले जानकारी दिनुभयो । 

गाडी आउन नसकेपछि बालबालिका, महिला, वृद्धवृद्धालगायत सबै खोलाको बगरै बगर र बाढीमा हेलिएर तीन, चार घण्टा हिँडेर लालबन्दी बजार आउनुभएका पाख्रिनले बताउनुभयो ।

“हामी दुई चार जनाले बाढीमा जोखिम मोलेरै मोटरसाइकल चलाएर आयौँ तर अरू भने हिँडेरै आउनुभयो,” पाख्रिनले भन्नुभयो, “बाढीले गाडी हिँड्ने बाटो त केही बाँकी नराखी बगाएको छ ।”

बाध्यताले बाढीमै मोटरसाइकल चलाएर आउनु पर्दा चोटपटक लागेको पाख्रिनको गुनासो छ ।लालबन्दी बजारदेखि पत्थरकोट छेडासम्म सडक पुगे पनि त्यहाँदेखि उत्तर नारायण खोलातर्फ लखन्देही र डाइनी खोलाको बगर भएर हिँड्नुपर्ने बाध्यता रहेको छ।

लालबन्दी बजारबाट नारायण खोलाको कामिटार, डाइनी र सिन्धुलीको मरिणसम्म गरेर तीन वटा बस सञ्चालन हुने गरेका छन् । डाइनी र कामिटारतर्फको बस दर्जनौँ स्थानमा फसेर आए पनि मरिणतर्फको बस आउन नसकेको लालबन्दी नगरपालिका १४ का वडाध्यक्ष छेनामसिंह घिसिङले बताउनुभयो ।

अहिले चैतको भेलबाढीले दुई, चार दिन अवरुद्ध भए पनि ठुलो पानी नपरुन्जेल जेठसम्म खोला बगरबाट बस सञ्चालन हुने वडाध्यक्ष घिसिङको भनाइ छ । उहाँले भन्नुभयो, “चैतको भेलले बगाएको बाटो त पानी पर्न रोकिनासाथ बनाइहाल्छौँ तर बर्खा लागेर दिनैपिच्छे बाढी आउन थालेपछि भने तीन, चार महिना गाडीघोडा पूर्णरूपमा ठप्प नै हुन्छ ।” 

यो वर्ष पत्थरकोट छेडादेखि साबिक नारायण खोला गाविसको कार्यालय रहेको मोटर दोभान नजिकै तीन तलेसम्म सडक पुर्‍याउने लक्ष्यसहित काम भइरहेको वडाध्यक्ष घिसिङले बताउनुभयो ।

लालबन्दी नगरपालिका र वडा कार्यालयले बर्सेनि बजेट विनियोजन गरी चुरेपाखा भएर मोटरदोभान नजिक सडक पुर्‍याए पनि लालबन्दी १३ र १४ को सीमामा पर्ने नारायण खोलामा पुल निर्माणको काम अलपत्र रहेको छ । निर्माण व्यवसायीले दुईचार दिनभित्रै सामग्री झारेर पुलको बाँकी काम गर्ने बताएका वडाध्यक्ष घिसिङले जानकारी दिनुभयो ।  

यस्तै नारायण खोलाको पूर्वी भेगका स्थानीयले लालबन्दी १५ अर्नेडाँडातर्फबाट पैदल हिँड्न मिल्ने र मोटरसाइकल चल्ने गरी चुरेपाखाको बाटो श्रमदान गरेर मर्मत गरेको भए पनि भारी वर्षापछि सो बाटो पनि ठाउँठाउँमा भल बगेर क्षति गरेको छ ।