• २६ चैत २०८२, बिहिबार

सीतापुर युनाइटेड योगिनी गोल्ड कप फुटबलको सेमिफाइनलमा

blog

प्रतियोगिताको सेमिफाइनलमा पुगेको सीतापुर युनाइटेडको टोली । तस्बिर : सिराज खान

सिराज खान        
नेपालगन्ज, चैत २६ गते ।
बाँकेको खजुरामा सञ्चालन भइरहेको दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सीतापुर युनाइटेडको टीम पुगेको छ ।

सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेर प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो क्वार्टर फाइनल खेलमा सीतापुर युनाइटेड र मानवी स्पोर्टसले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए ।

सीतापुरका लागि सङ्गम सारु मगरले खेलको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने मानवीका सुदीप सुनारले २७औं मिनेटमा गोल फर्काएपछि खेल बराबरी भएको थियो ।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई ३–१ ले पराजित गरेको थियो ।  

सीतापुर युनाइटेडका गोलकिपर विवेक थारूलाई लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य डिबी तामाङ र आयोजक योगिनी युवा क्लबका सदस्य सन्तोष थापाले प्लेयर अफ दी म्याचको पुरस्कार प्रदान गर्नुभयो ।

सोही प्रकारले अर्को खेलमा योगिनी युवा क्लब (ए)ले केवाइसी क्लबलाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सो खेलमा आयोजक योगिनीका लागि विपिन सिंजाली मगर र गौरम थापा मगरले १–१ गोल गर्नुभएको थियो । खेलमा योगिनीका विपिन प्लेयर अफ दी म्याच घोषित हुनुभयो । उहाँलाई स्थानीय समाजसेवी नरेन्द्र थापा र अमर रावतले पुरस्कार प्रदान गर्नुभयो ।