पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत २६ गते । पश्चिम नवलपरासी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘१०औँ सूर्यनगर गोल्डकप’ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक नव युवा क्लब, बर्दघाट–१६ ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबारदेखि सुरु हुने जानकारी दिएको हो।
प्रतियोगिताको विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६६ रुपियाँ र उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष धनसिंह चितौरेले बताउनुभयो। प्रतियोगितामा कुल आठ उत्कृष्ट टोलीको सहभागिता रहनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब २५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक प्रदीप अधिकारीले जानकारी दिनुभयो। वडा नम्बर १६ का अध्यक्ष तथा फुटबल संघ लुम्बिनी प्रदेशका महासचिव भीमकाजी गुरुङका अनुसार बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुँदै आएको यस गोल्डकपका लागि नगरपालिकाले यस वर्ष बजेटमै १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ।
प्रतियोगिताको उद्घाटन खेल चितवनको हर्दी युवा समाज र मकवानपुरको हेटौंडा एकेडेमीबिच हुने खेल संयोजक मीन गुरुङले जानकारी दिनुभयो।
पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालको कार्यकालमा ५ लाख रुपियाँबाट सुरु भएको नगरपालिकाको सहयोग हाल बढेर १२ लाख ५० हजार रुपियाँ पुगेको छ। वडा अध्यक्ष गुरुङले सूर्यनगर गोल्डकप बर्दघाट नगरपालिका र समग्र जिल्लाकै पहिचानसँग जोडिएकाले यसलाई भव्य रूपमा सफल पार्न सबैमा आग्रह गर्नुभयो। हजारौँ दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको यस प्रतियोगिताको फाइनल खेल आगामी वैशाख ५ गते हुनेछ।