सिराज खान
नेपालगन्ज, चैत २६ गते । बाँके जिल्लामा सिँचाइका लागि जडान गरिएका डिप बोरिङमध्ये हाल ४१ वटा सञ्चालनमा रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले जनाएको छ।
कार्यालयका सूचना अधिकारी मधु न्यौपानेका अनुसार सञ्चालनमा रहेका ४१ वटा डिप बोरिङबाट जिल्लामा १ हजार २ सय ७१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। उहाँले एउटा बोरिङबाट औसत ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताउनुभयो।
बाँकेमा ४२ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्यसहित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना निर्माण तथा सञ्चालन भइरहेको छ। सो आयोजनाले नछोएका क्षेत्रमा मात्रै डिप बोरिङ जडान गर्ने गरिएको कार्यालयले जनाएको छ।
अहिले विभिन्न पालिकाका कृषि शाखा तथा सङ्घीय सरकारले पनि सिँचाइ सुविधा नपुगेका स्थानमा डिप बोरिङ जडान गरिरहेका छन्। यसले किसानलाई वर्षभरि खेती गर्न सहज भएको कार्यालयको भनाइ छ।