• १४ जेठ २०८१, सोमबार

इमान र लगनका प्रतीक

blog

एकै व्यक्तिका अनेक रूप– कवि, बाल कथाकार, पत्रकार, सम्पादक, सङ्कलक तथा अनुसन्धानकर्ता । एकमा बहुआयम भएको व्यक्ति सायद उहाँ नै हो कि ? त्यतिबेला मलाई लाग्थ्यो । बेलामौका पर्दा उहाँको बारेमा केही लेखौँला भन्ने हुन्थ्यो । तर यस्तो मौका जुरेन । किनभने उहाँ आफैँ आफ्नो चर्चा खासै रुचाउनुहुन्न । कचकचको त कुरै भएन । 

कम बोल्ने, काममा मात्र खटिरहने । कतै भेटियो भने भन्नुहुन्थ्यो, ‘मेरो यो कार्यक्रममा जानुपर्छ । समय नै छैन ।’ कुनै कार्यक्रममा समयमै पुग्ने, समयमै कार्यक्रम सुरु नभए घडी हेर्दै गनगन सुरु गरिहाल्नुहुन्थ्यो, ‘बेलामै नसके जानुपर्छ छाडेर, अर्को ठाउँमा पनि पुग्नुपर्छ ।’

यस्तै व्यक्तित्व भएको अग्रज सर्जक प्रधानबारे लेखिएको किताब भर्खरै हात प-यो । जीवनीकै किताब । मान्छे पातलो स भएझैँ किताब पनि उस्तै लाग्यो । जम्माजम्मी ३२ पानाको विजयराज आयामद्वारा लिखित ।

प्रधानको जीवनीका किताब केलाई केलाई पढ्ने हो भने एक घण्टा लाग्छ । सरसर्ती पढे एक बसाइमै आधा घण्टाभित्र पढिसकिन्छ । सानो भए पनि २०७९ असोजमा विवेक सिर्जनशील प्रकाशनबाट बजारमा आएको यो किताबमा प्रधानबारे मैले चिनेभन्दा बाल्यकालदेखिको वृत्तान्त छ । 

किताबबाटै थाह हुन्छ, उहाँ मैले चिनेभन्दा फराकिलो चेत भएको र चर्चित सर्जक भनेर । उहाँ गीत, गजल, मुक्तक, हाइकु, कथा, निबन्धकार पनि हुनुहुँदो रहेछ । यति मात्र हैन, प्रमोद प्रधान समालोचना र सम्पादनको फाँटमा पनि चिनिएको नाम रहेछ । 

अझ रोचक त नेपालकै पहिलो रेडियोको इतिहाससँग पनि उहाँको नाम जोडिँदो रहेछ । उहाँका बुवा नेपाल प्रजातन्त्र रेडियोका संस्थापक प्राविधिक हुनुहुँदो रहेछ । सायद यही कारण पनि हुनसक्छ सञ्चार र साहित्य क्षेत्रमा उहाँले आफ्नो जीवन नै समर्पण गर्नुभएको ।

वरिष्ठ साहित्यकार देवकुमारी थापासँगको निकट सम्बन्धकै कारण उहाँको विवाह ब्युटी श्रेष्ठसँग भएको प्रसङ्ग पनि जीवनीमा छ । 

साहित्यकार समाजको विद्रोहको आइकन हुन्छन् भन्ने कुरा प्रधानको जीवनी पढेपछि थाह लाग्यो । छोरा होस् या छोरी, एक मात्र सन्तान जन्माउने प्रण गरेका यो जोडीले पहिलो सन्तानका रूपमा छोरी सृष्टिको जन्म भयो । आफ्नो प्रतिबद्धतालाई यो जोडीले इमानदारीपूर्वक कार्यान्वयन गरेको कुरा पनि यो जीवनी पढेपछि पुष्टि हुन्छ ।

उनै व्यक्तित्वबारे लेखिएको जीवनीको किताबमा उहाँको जागिरे जीवन, साहित्यमा प्रवेश, कवितामा योगदान, समालोचनामा योगदान, कुशल सम्पादक, सङ्घसंस्थाका माध्यमबाट योगदान, कामअनुसारको सम्मान र सार्थक भ्रमणजस्ता १२ शीर्षकको लघु चर्चा यहाँ पढ्न सकिन्छ । 

थुप्रै बालकथाका किताब, थुप्रै बालकविता, प्रौढ कविता, थुप्रे किताबहरूको सम्पादन गरिसक्नुभएका उहाँलाई किताबमा नेपाली बाल साहित्य क्षेत्रको ‘इन्साइक्लोपिडिया’का रूपमा मात्र चिनाउन खोजिएको हो कि जस्तो देखिन्छ  । यद्यपि उहाँका कामको फेहरिस्त भने छुटेका छैनन् । 

किताबको नाम : इमान र लगनका प्रतीक प्रमोद प्रधान

विधा : जीवनी

लेखक : विजयराज आचार्य

प्रकाशक : विवेक सिर्जनशील प्रकाशन प्रालि

संस्करण : पहिलो – २०७९

मूल्य :रु. १२५÷–

Author

नेत्र तामाङ