• ९ पुस २०८१, मङ्गलबार

माटोको छाना हटाउन जस्तापाता सहयोग

blog

जस्तापाता वितरण कार्यक्रम । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, चैत २ गते । माटोले घरको छाना छाएका न्यून आयस्राेत भएका घरधुरीलाई निःशुल्क जस्तापाता सहयोग गरिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत  लक्षित वर्गका घरधुरीलाई जस्तापाता सहयोग गरिएको हो । 

खार्पुनाथ गाउँपालिका–५ को ताक्ला गाउँका खड्क बुमीले अनुदानमा जस्तापाता पाएको बताउनुभयो । यसअघि उहाँको घरको छाना माटो र काठले छाएको थियो । 

उहाँले जस्तापाताले घरको छानो छाएपछि बर्खायाममा पानी चुहिने समस्या र हिउँदमा हिउँ फाल्ने कार्यबाट छुटकारा मिलेको बताउनुुभयो । उहाँले समस्याबाट छुटकारा पाउनुुका साथै सुरक्षित घरमा बस्न पाएको बताउनुभयो । उक्त गाउँबाट बुमी छनाेट हुनुभएको थियो । केही घरधुरीले भने खर र काठले छाउनु भएको थियो । जस्तापाता पाएपछि ती छाना हटाउने कार्य सुरु भएको छ ।

उक्त वडाका सदस्य भरतजङ्ग शाहीले सङ्घीय सरकार अन्तर्गतको सघन सहरी विकास कार्यक्रमको आर्थिक सहयोगमा खार्पुनाथ गाउँपालिकाका पाँच वडाका ७२ घरधुरीलाई जस्तापाता निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । 

उहाँले सुरक्षित नागरिक आवास कार्यक्रमले तीन वर्ष लगाएर यी जस्तापाता वितरण गरिएको र अन्तिम वितरण कार्य यतिबेला भएको बताउनुभयो । उहाँले जस्तापाता पाएका घरधुरीमध्ये ६५ प्रतिशत घरधुरीले माटोको छाना हटाएर जस्ता छाएको र बाँकीले छाउने कार्य गरिरहेको बताउनुुभयो । जस्तापाता अनुदानमा पाए पनि अन्य काम भने घरधनी आफैँले गरिरहनुभएको छ । उहाँले लक्षित वर्गका नागरिकले सुरक्षित आवासमा बस्न पाउने कार्यको थालनी भएको बताउनुभयो ।