• ९ मंसिर २०८१, आइतबार

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण हुँदै

blog

काठमाडौं, चैत १ गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौँ संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीबाट हुने आयोजकले बताएको छ ।

ओपनिङ फिल्मको रूपमा कोरिन शर्मा निर्देशित ‘चरी’ प्रिमियर गरिनेछ । बुधबार आयोजित पत्रकार सम्मेलनमा ३५ मुलुकका ९५ फिल्मले महोत्सव प्रतिस्पर्धामा सहभागी हुने जानकारी दिइएको हो । ‘विश्वभरका कथाहरूको उत्सव’ नारासहित हुन लागेको फेस्टिभल चैत २ गतेदेखि ६ गतेसम्म क्यूएफएक्स चेन अन्तर्गतका चार हल र पर्यटन बोर्डको प्रेक्षालयमा हुनेछ ।

क्यूएफएक्सको सिभिल मल, छाया सेन्टर, लबिम मल र भक्तपुरको भाटभटेनी हलमा फिल्म प्रदर्शन हुनेछन् । मास्टरक्लास, छलफल लगायतका कार्यक्रम भने पर्यटन बोर्डमा हुनेछन् । 

यसबाहेक यसपटक पनि ७ विधामा १४ पुरस्कार वितरण हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरू प्रतिस्पर्धामा छन् ।

कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले यस पटकको महोत्सवमा ५० जना भन्दा बढी फिल्म मेकरहरु बाहिरी देशबाट आउने बताउनुभयो । उहाँले निफलाई विश्वास गरेर विगत झैँ यसपटक पनि राम्रा फिल्म र फिल्म मेकरहरुले मेलामा सहभागिता जनाउने बताउनुभयो । उहाँले मेलाले फिल्मकर्मीहरुबीच छलफल र भेटघाटको अवसर मिल्ने जानकारीसमेत दिनुभयो ।

चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’ विषयमा मास्टरक्लास दिनुहुने छिन् । यस्तै, ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले जानकारी गराएको हो ।