काठमाडौँ, चैत १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीलाई सबै वैधानिक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले राजधानीमा बुधबार आयोजना गरेको ‘नेपाल–चीन बिजनेस फोरम’मा नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको र आवश्यक परे थप सहज बनाउन पनि तयार रहेको उहाँको भनाइ थियो ।
सन् २०२६ को अन्त्यसम्ममा अतिकम विकसित मुलुकको अवस्थाबाट स्तरोन्नतिको लक्ष्य पूरा गर्न नेपाललाई पूर्वाधार विकास र प्रविधिको अधिकतम उपयोग गर्न पनि लगानी आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । पाँच दर्जनभन्दा बढी चिनियाँ लगानी सम्मिलित उक्त फोरममा उहाँले भन्नुभयो, “हाम्रा यी प्राथमिकता क्षेत्रमा वित्तीय र प्राविधिक खाडल भर्न पनि चिनियाँ लगानीको अपेक्षा गरेका छौँ ।”
कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको कानुनले लगानीबाट कमाएको आम्दानीको पूर्ण फिर्तीलाई अनुमति दिने, विदेशी कम्पनीले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको जानकारी गराउनुभएको थियो । “नेपालमा स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव गरिँदैन । निजी उद्योगलाई राष्ट्रियकरण गर्ने नीति पनि छैन,” उहाँले भन्नुभयो । कम खर्चिलो जनशक्तिको उपलब्धता, परिमार्जित श्रम कानुन, करको तहको कम, सुधारिएको औद्योगिक सम्बन्ध भएकाले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उहाँको भनाइ थियो ।
औद्योगिक विकासको प्रारम्भिक चरणमा नेपालमा कुनै पनि क्षेत्रको लगानी लाभदायक रहेको प्रधानमन्त्रीले बताउनुभयो । विदेशी लगानी आकर्षित गर्न प्रक्रिया थप सरल बनाउनेदेखि एकद्वार प्रणालीलाई पूर्ण रूपमा सञ्चालन गर्न गम्भीर रूपमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
चीन नेपालका लागि व्यापार र लगानीको क्षेत्रमा सबैभन्दा ठूलो साझेदार रहेको प्रधानमन्त्रीले बताउनुभयो । त्यस्तै उहाँले चीन र भारतको सीमामा औद्योगिक क्षेत्र बनाउने प्रक्रिया पनि अघि बढाइरहेको जानकारी दिनुभयो । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकाले नेपालको भूभाग चीनविरुद्ध प्रयोग गर्न नदिने उहाँले बताउनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद् (सीसीपीआईटी)का उपाध्यक्ष चाङ साओगाङले नेपालमा धेरै आकर्षक उत्पादन भए पनि चिनियाँ उपभोक्तामाझ परिचित नभएकाले सीसीपीआईटीले त्यस्ता वस्तुको प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो । आगामी दिनमा नेपाल र चीनबीच द्विपक्षीय व्यापार विस्तार जारी राख्नुपर्ने, लगानी सहयोगका क्षेत्रलाई विस्तार गर्नुपर्ने, व्यापार प्रवद्र्धन संस्थाको भूमिकालाई बढाउने जस्ता कार्य गर्नुपर्ने उहाँको भनाइ थियो । सीसीपीआईटीले चीन–नेपाल अर्थतन्त्रको निरन्तर विकासलाई प्रवद्र्धन गर्ने प्रयास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालका लागि चीनका राजदूत छेन सोङले अन्तर्राष्ट्रिय रूपमा देखापरेको व्यापार र आर्थिक सङ्कटबाट समाधान पाउन नेपाल र चीनबीच रणनीतिक सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।
विकासका काम द्विपक्षबीच सहकार्य आवश्यक रहेकाले त्यसका लागि चीन तयार रहेको उहाँको भनाइ थियो । त्यस्तै उहाँले भूजडित हुने नेपालको लक्ष्यलाई सहयोग गर्न चीन तयार रहेको पनि जानकारी दिनुभयो । अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको प्रयास स्वागतयोग्य रहेको उहाँको भनाइ थियो । चिनियाँ पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य रहेकाले अब पर्यटन र लगानीको हिसाबले चीन नेपालमा पहिलो मुलुक बन्ने उहाँले बताउनुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले नेपाल र चीनबीच व्यापार, परिवहन र पर्यटन महत्वपूर्ण क्षेत्र रहेकाले यस क्षेत्रमा सहकार्य आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाँले नेपालले चीनबाट सधैँ धेरै पर्यटक र औद्योगिक क्षेत्रमा लगानीको अपेक्षा गरेको जानकारी दिनुभयो ।