• २० वैशाख २०८१, बिहिबार

‘सानैदेखि जिज्ञासु बन्नुपर्छ’

blog

नेपाली बालसाहित्य सिर्जनामा स्थापित नाम हो अनुराधा । उहाँका विभिन्न विधाका दुई दर्जन जति कृति प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा लेख रचना नियमित रूपमा प्रकाशित हुने गर्दछन् । हालै उहाँको पुस्तक The Story of Babur – Prince, Emperor, Sage  लाई UK को प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका ‘द गार्डिअन’ ले आफ्नो ‘उत्कृष्ट नयाँ चित्र पुस्तकहरू र उपन्यासहरू’को सूचीमा पनि राखेको छ । उहाँका कृतिहरू उर्दु, रसियन, हिन्दी र अन्य भाषामा पनि अनुवाद भएका छन् । अनुराधा लेखक हुनुका साथै बालपुस्तक अनुवादक तथा सम्पादक पनि हुनुहुन्छ । नेपाली बालसाहित्य सिर्जनामा अतुलनीय योगदान गरिरहनुभएका अनुराधासँग अक्सिडेन्टल पब्लिक स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा आयुष्मा तिवारीले गर्नुभएको कुराकानीको केही अंशः 

तपाईं यो क्षेत्रमा कसरी प्रेरित हुनुभयो ?

मलाई सानै उमेरदेखि पुस्तक पढ्न खुब रमाइलो लाग्थ्यो तर पछि गएर लेखक नै हुन्छु भनेर सोचेकी थिइनँ । धेरै वर्षपछि मेरो मुमाले जबरजस्ती एउटा कथा लेखन प्रतियोगितामा भाग लिन पठाउनुभयो । 

सुरुमा त मैले मानिनँ तर धेरै कर गरेपछि ममीसँग झगडा नहोस् भनेर एउटा कथा लेखेर पठाएँ । त्यो कथाले विशेष पुरस्कार पाउँदा म धेरै खुसी भएँ । अर्को वर्ष फेरि प्रतियोगितामा विशेष पुरस्कार पाएँ । त्यसपछि मैले पनि कथा लेख्न सक्दो रहेछु भन्ने आत्मविश्वास बढ्यो र लेख्दै गएँ । त्यसैले, मलाई यो क्षेत्रमा प्रेरणा दिने मेरी मुमा नै हुनुहुन्छ ।

बालसाहित्य के हो ? कस्तो साहित्यलाई बालसाहित्य भन्ने ?

बालसाहित्य बालबालिकाले आफू सँगसँगै संसारलाई बुझ्ने माध्यम हो । कथाका पात्रमार्फत बालबालिकाले आफ्नो वास्तविक जीवनमा कसरी व्यवहार गर्ने, सोच्ने र कार्य गर्ने भनेर सिक्दछन् । बालसाहित्य जानकारी, मनोरञ्जन वा यी दुवै चिजहरूको संयोजन पनि हो । बालबालिकामा साक्षरताको विकास गर्न पनि बालसाहित्यले ठूलो सहयोग पु-याउँछ । 

बालबालिकाका लागि वयस्कद्वारा लेखिएका र कहिलेकाहीँ बालबालिका  स्वयंले  लेखेका साहित्यलाई बालसाहित्य भन्न सकिन्छ । बालसाहित्यअन्तर्गत बालबालिकाका लागि सिर्जना गरिएका कथा, पुस्तक, पत्रिका, नाटक, कविता, आदि समावेश हुन्छन् ।

यहाँको बाल्यकाल कसरी बित्यो ? बाल्यकालमा पठनप्रति यहाँको रुचि कसरी जाग्यो ?

मेरो बाल्यकालको समय असाध्यै रमाइलोसित बित्यो । म मेरो मुमा–बुवाको एक्लो सन्तान हो । मलाई मेरो मुमा–बुवाले धेरै माया गरेर हुर्काउनु भयो । मलाई म कुनै राजकुमारी हुँ जस्तो लाग्थ्यो । मैले आफैँ पढ्न नसक्ने उमेरमा मेरो बुवाले टिनटिन र यस्ट्रिक्सको कमिक्सहरू पढेर सुनाउनु हुन्थ्यो । म ती पुस्तकहरूमा भएको रङ्गीन चित्रहरू हेरेर रमाउँथे । विस्तारै मलाई पुस्तकहरू पढ्ने बानी बस्यो । राम्रो कुरा के भने मैले पढेको स्कुलमा असाध्यै राम्रा पुस्तकालयहरू थिए । म त्यहाँ घन्टौँ बिताउन सक्थेँ । म कक्षा ९ मा हुँदा प्रिन्सिपलले मेरो अभिभावकलाई बोलाएर मैले धेरै समय कोर्सको भन्दा बाहिरी पुस्तक पढेको हुनाले एस.एल.सी.मा असर पार्न सक्ने हुनाले पुस्तकालय जानबाट रोक लगाउनुभयो तर मेरा साथीहरूले मेरो लागि पुस्तक ल्याइदिन्थे र म कोर्सको किताबभित्र कथाको पुस्तक लुकाएर भए पनि पढ्थेँ ।  

तपाईंका सिर्जनामा के कस्ता विषयले बढी महत्व पाउँछन् ?

म विभिन्न विषयमा लेख्न रुचाउँछु । मैले सबैभन्दा बढी जोड मनोरञ्जनलाई दिन्छु । मेरा कथा पढेर बालबालिका रमाउन् भन्ने मेरो चाहना हो । मैले आफ्ना कथामा बालबालिकामा सकारात्मक प्रभाव पार्ने खालका विषयलाई विशेष महìव दिन्छु । म चाहन्छु कि मेरा कथाहरूको माध्यमबाट उनीहरूले आफ्नो संसारलाई बुझून् र आफू पनि त्यही संसारको एउटा अभिन्न हिस्सा हुन् भन्ने बुझून् । 

यहाँको विचारमा अध्ययन गर्ने बानीले सामाजिक जीवनमा के कस्तो प्रभाव पार्छ ?

अध्ययन गर्ने बानीले व्यक्तिको सामाजिक जीवनमा धेरै सकारात्मक प्रभाव पार्न सक्छ । जस्तै शब्दभण्डार, व्याकरण र भाषाको विकास गर्छ र बोलीचालीलाई प्रभावकारी बनाउन सक्छ । अध्ययन गर्ने बानीले विभिन्न विषयबारे हाम्रो ज्ञान बड्छ र हाम्रो सोचको दायरा पनि फराकिलो बनाउन मद्दत पु¥याउँछ । 

बाल्यकालमा यहाँले अध्ययन गर्ने पुस्तक कसरी प्राप्त गर्नु हुन्थ्यो ?

प्रायः पुस्तकहरू मेरो बुवाले नै ल्याइदिनु हुन्थ्यो । पछि गएर स्कुलको पुस्तकालय नै पुस्तक प्राप्त गर्ने मुख्य स्रोत बन्यो । त्यसबाहेक पुस्तकहरू किनेर पनि पढ्थेँ जुन बानी अहिलेसम्म पनि कायम नै छ ।  

अहिले हामीसँग पुस्तकबाहेक अध्ययन गर्ने इन्टरनेटलगायतका अन्य माध्यम छन् । पुस्तक पढ्नु र इन्टरनेटबाट पढ्नुमा भिन्नता के रहन्छ ?

पुस्तकहरू आफैंँमा एक कला हुन् । किताब किन्न जाँदाको उत्साह, धेरै पुस्तकमध्ये कुन चाहिँ किनुँ भन्ने अन्योल, नयाँ पुस्तकको पानाहरू पल्टाउँदा त्यसको सुगन्ध र स्पर्शको अनुभव, झोलामा पुस्तक बोकेर हिँड्नु, पढिसकेपछि त्यसलाई -याकमा सजाएर राख्नु, बेलाबेला त्यसमा लागेको धुलो सफा गर्नु, साथीभाइलाई पढ्न सापटी दिन सक्नुजस्ता कुराले गर्दा भौतिक पुस्तकको भावनात्मक मूल्य पनि बढी हुन्छ कि जस्तो लाग्छ ।

यहाँले पढेका पुस्तकमध्ये मन परेका पाँचवटा पुस्तक  कुन–कुन हुन् ?

यो त धेरै जटिल प्रश्न हो । नेपाली तथा अन्य गरेर मनपर्ने बाल पुस्तकहरूको नामको सूची त धेरै लामो छ । फेरि पाँचवटा मात्र नेपाली बाल पुस्तकको नाम लिएँ भने केही साथीहरू छुट्नु होला । मसित रिसाउनु होला । त्यसैले सजिलोको लागि म विदेशी पुस्तकहरूको मात्र नाम लिन्छु, हुन्छ ?

We are in a Book

The boy in Striped Pajamas

Little Women

The Heart and the Bottle

The Boy, the Mole, the Fox and the Horse


तपाईंले लेख्ने विभिन्न विधामध्ये मन परेको विधा कुन हो र किन ?

मलाई मन पर्ने विधा कथा हो । कथाहरूले हामीलाई आफू सँगसँगै अरूलाई बुझ्न मद्दत गर्छ । कथामा भएका पात्रहरूसँग हामी रिलेट गर्न सक्छौँ । कथाको माध्यमबाट सिकेका कुराले हामीलाई जीवन जिउन सजिलो बनाउँछ । त्यसैले पनि म कथा नै लेख्न रुचाउँछु ।

बालसाहित्य लेख्न रुचाउने साना–साना बालबालिकालाई के भन्न चाहनुहुन्छ ?

प्यारा बालबालिकालाई म यही भन्न चाहन्छु कि बालकथा लेखन सजिलो हुन्छ भन्ने भ्रममा नहुनु होला । अन्य क्षेत्रजस्तै यहाँ पनि मेहनत गर्नुपर्छ, अध्ययन गर्नुपर्छ । धेरैभन्दा धेरै पुस्तक पढ्नुहोस् । त्यसो गर्नाले लेखनबारे धेरै कुरा सिकिन्छ । आफूलाई मन लागेको विषयमा लेख्नुहोस् । आफूले लेखेका कुरा साथीभाइ, अभिभावक र शिक्षकहरूलाई सुनाउनुहोस् । धेरैभन्दा धेरै पटक पुनर्लेखन गर्ने बानी बसाल्नुहोस् । तपाईंको कथा कसैले मन पराएनन् वा छाप्न मानेनन् भने पनि हरेस नखानुहोस् । प्रयास गर्दै जानु भयो भने तपाईं एक दिन अवश्य पनि सफल हुनुहुने छ ।