• २२ माघ २०८२, बिहिबार

अविष्मरणीय यात्रा

blog

गएको वर्ष पुसमा जाडो बिदा भएको भोलिपल्ट गाउँ जाने उत्सुकताका साथ म बिहानै उठेँ । झोलामा कपडा राख्न थालेँ । घरमा सबै जनाले आआफ्नो सामान तयार गरिसक्नुभएको थियो । बाबा, आमा, दिदी, दाइ र म गाउँ जान लागेका थियौँ । हामी सबै ट्याक्सी चढेर जोरपाटी पुग्यौँ र रामेछाप जाने बस चढ्यौँ । गाडीमा रमाइलो गीत बजिरहेको थियो । बाहिरका खोला, जङ्गल जस्ता रमाइला दृश्य हेर्दै र गीतसँगै रमाउँदै आनन्द लियौँ । गाडीभित्र अमिलो, पिरो, चकलेट खाँदै बाहिर हेर्दै गर्दा खाना खाने ठाउँ आइपुगेको पत्तै भएन । हामी सबैले खाना खायौँ । 

खानापछि फेरि हाम्रो यात्रा सुरु भयो । हामीले गाउँमा हजुरआमालाई फोन ग¥यौँ । हामीले फोन गर्ने बित्तिकै हजुरआमाले हाम्रो हालचाल सोधेर “तिमीहरू कहिले आउने ?” भनेर सोध्नुभयो । हामीले पनि हजुरआमासँग रमाइलो गर्न आउँदै छौँ नभनी जिस्केर “दसैँमा मात्र आउने” भन्यौँ । हजुरआमाले निराश हुँदै “ल अब तिमीहरू कहिले आउँछौ भनेर बाटो हेर्दै बस्ने दिन आयो” भनेर भन्नुभयो । कहिले गाउँ पुगेर हजुरआमालाई खुसी बनाउने भन्ने हामीलाई हतार भइरहेको थियो ।  

हामी गाउँ पुग्न केही समय बाँकी थियो । हामी बसेको पछाडिको सिटमा एउटी बुढीआमा र उहाँकी छोरी हुनुहुन्थ्यो । हामीले उहाँको नाम र ठेगाना सोध्यौँ । बुढी आमा निकै बिरामी हुनुहुन्थ्यो । उहाँसँग उपचार गर्ने खर्च पनि रहेनछ । हामीले पाँच हजार रुपियाँ र गाडीका सबै मिलेर उठाएर पाँच हजार रुपियाँ गरी १० हजार रुपियाँ सहयोग उठाएर दियौँ । हामीले घरबाट लगेको खाना पनि उहाँहरूलाई दियौँ । आमा धेरै खुसी हुनुभयो । हामीलाई धेरै धेरै धन्यवाद दिनुभयो । आशीर्वाद दिनुभयो । हामीलाई पनि बुढी आमालाई सहयोग गर्न पाएकोमा खुसी लाग्यो । यति हुँदै गर्दा हाम्रो झर्ने ठाउँ पनि आइपुग्न लागेको थियो । हामीले बाहिरको दृश्यको भिडियो पनि बनायौँ । 

गाडीबाट झ¥यौँ । हाम्रो घर पुग्न गाडीबाट ओर्लिएर केही तल हिँड्नु पर्छ । पानी परेर हिलो भएको बाटोमा झोला बोक्दै घर पुग्यौँ । आँगनमा पुगेर हजुरआमा र हजुरबुवालाई बोलायौँ । हामीलाई देखेर खुसी हुनुभयो । हर्षका आँसु पनि झार्नुभयो र “तिमीहरू दसैँमा मात्र आउने भनेको होइन ?,” भन्नुभयो । हामीले हाँस्दै “जिस्केका हौँ” भन्यौँ । जाडो बिदाभरि गाउँ बसेर हामी रमायौँ । घरमा काम ग¥यौँ । हजुरबुवा, हजुरआमालाई सघायौँ । गाउँमा आफन्त सबैलाई भेट्यौँ । 

आफ्नो गाउँघर भनेको त स्वर्ग नै लाग्छ । हरियाली, सफा र स्वच्छ वातावरण । जता गए पनि चिनेकै मानिससँग भेट हुने गाउँका रमाइला पक्ष हुन् । आफ्ना मानिस भगवान् जस्तै लाग्छ । त्यसैले कहिले बिदा हुन्छ अनि गाउँ गइहालौँ जस्तो लाग्छ तर सधैँ जान सकिँदैन । हाम्रो पढाइका लागि बाबाआमा यहाँ आएर बस्नुभएको छ । पढ्नु पनि छ । तैपनि स्कुल बिदा हुनासाथ मन गाउँमा पुगिहाल्छ । यसपालिको जाडो बिदामा पनि मिल्यो भने गाउँ जाने विचार छ । 

   मुना