मलाई लाग्छ– जीवनका केही क्षण यस्ता हुन्छन्, जसलाई सम्झन न कुनै पुरस्कार न त विशेष कारण नै चाहिन्छ । त्यस्तो क्षण केवल मनले चाहन्छ र आत्माले सम्झनामा सजाएर राख्छ । यसै सन्दर्भमा मेरो विद्यार्थी जीवनमा पनि एउटा यस्तो अनुपम दिन रह्यो, जसलाई आज म उल्लेख गर्दै छु । त्यो हो– मालीगाउँ र डोलेश्वरको पदयात्रा ।
विद्यालयले आयोजना गरेको त्यो यात्रा हिँडाइका लागि मात्र थिएन, प्रकृतिसँगको साक्षात्कार, मित्रता र अनुशासनको पाठ पनि थियो । त्यो दिन थियो– २०८२ कात्तिक २१ गते ।
अघिल्लो दिनको निर्देशन अनुसार हामी ठिक १०.३० बजे विद्यालयमा उपस्थित भयौँ । कक्षा कक्षामा हाम्रो हाजिरी लिइएपछि चौरमा लाइन लाग्यौँ । हामी सबैका झोला झोलामा खाजा, पानी, छाता र प्राथमिक उपचारका केही सामग्री थिए । शिक्षकबाट आवश्यक निर्देशन दिइएसँगै हाम्रो यात्रा ११.४५ तिर सुरु भयो । बिच बिचमा शिक्षक हुनुहुन्थ्यो ।
दुई/तीन पटक म आमासँग डोलेश्वर मन्दिर गएकी थिएँ । गाडीमा जाँदा आउँदा धेरै समय लागेको थिएन । आज त हिँडेर जानु थियो । हाम्रो विद्यालय च्याह्मासिंहबाट दक्षिण जगाती पुग्न धेरै समय लागेन । त्यहाँबाट अरनिको हाइवे बाटो काटेर सिपाडोलतिर लाग्यौँ । मौसम घमाइलो थियो । साथीहरूसँग गफिँदै हिँड्दै गर्दा समय बितेको पत्तै भएन । बन्द कोठामा बस्नुको साटो आज हामी खुला प्रकृतिमा हिँड्दै थियौँ । कतिपय साथीले स्पिकरमा गीत पनि बजाउँदै थिएँ । कोही नाच्दै थिए । सबै जना खुसी ! उकेश सर बेला बेलामा हामीलाई आवश्यक सुझाव दिँदै हुनुहुन्थ्यो । जुना मिसले हामीलाई उछिनेर अगाडि गई हाम्रो भिडियो बनाउनुभयो । इन्द्र सर आफ्नै सुरमा हिँड्दै हुनुहुन्थ्यो । जेके सर, दीपक सर, कृष्णमाया म्याम, अर्चना म्याम, श्रेया म्याम हामीभन्दा पछाडि हुनुहुन्थ्यो, ज्ञानेन्द्र सर हामीभन्दा अगाडि । मङ्गल सर बिच बिचमा आएर भिडियो खिच्दै हुनुहुन्थ्यो । दायाँबायाँ घर, तरकारी बारी, खेत हुँदै फूलबारी भएको घर पार गर्दै हामी डोलेश्वरतिर जाँदै थियौँ । डोलेश्वरको बसपार्क पुगेपछि हाम्रो बाटो छुट्टियो ।
मन्दिरलाई दायाँपट्टि पारेर हामी अलिकति बायाँ लाग्यौँ । यसो आँखा लगाएको त अब हामी जाने बाटो पूरै उकालो पो रहेछ । सल्लाको वन ! त्यो उकालोमा पनि हिँड्दा चिप्लो नहोस् भनेर होला सिँढी बनाइएका रहेछन् तलदेखि माथिसम्म नै । त्यस्ता सिँढी दुई सयभन्दा बढी नै थिए होलान् । हामीले गनेनौँ । बिच बिचमा बिसाउँदै हामी ४५ मिनेट जतिमा त्यो वनको टुप्पोमा पुग्यौँ । त्यहाँ पुगेपछि एउटा कच्ची मोटरबाटो पनि भेटियो । त्यही बाटैबाट हिँड्दै गर्दा अब हामी निकै उचाइमा आइसकेका थियौँ तर हाम्रो गन्तव्य अझै माथि थियो । केही तेर्सो र हलुका उकालो हुँदै जाँदा बाटाको दायाँपट्टि एक/दुई घर पनि देखिए । एउटा पसल पनि देखियो । त्यहाँबाट उपत्यकाका तीन वटै सहरलाई देखिँदो रहेछ । हाम्रो स्कुल पनि ठम्याउन सकेँ । हवाईजहाज हाम्रो टाउकै माथिबाट उडे जस्तो लाग्यो । अब हामी एउटा पिपलको रूख भएको चौरमा पुग्यौँ । त्यतिखेर दिउँसोको १.३० भइसकेको थियो । पीयूष सर, सुनीता म्यामलगायत केही शिक्षक अझै माथि रहेको बौद्धमूर्ति हेर्न उकालै जानुभयो । हामीलाई भने भोक लागेको हुँदा खाजा खाने सुर कस्यौँ ।
एकैनासे ट्र्याकमा सजिएका हामी समूह समूहमा बाँडिएर चौरभरि छरिँदै खाजा खाँदा रमाइलो देखिएको थियो । धेरैले घरैबाट खाजा बनाएर ल्याएका थिए । कतिले फास्टफुड पनि ल्याएका थिए । कसैले ठुलो प्लास्टिकको थैलोमा चटपटे बनाए । कसैले योमरी फिँजाए । कसैले त कोल्ड ड्रिङ्क्स पनि बाँडे । शिक्षकहरू एक ठाउँमा जम्मा भएर खाजा खान थाल्नुभयो । हामीमध्ये कतिले उहाँहरूसँग खाजा बाँड्यौँ पनि । फोटो नखिच्ने कोही भएनन् । नाचियो, गाइयो पनि । साह्रै रमाइलो भयो ।
घाम ओरालो लाग्न तर्खर गर्दै थियो । घडीले २:१५ जनाउँदै थियो । अब हामी पनि त्यो ठाउँ छोडेर फर्कनु थियो । अघि जाँदा उकालिएको बाटोलाई दाहिनेपट्टि छोड्दै हामी देब्रेपट्ेटिको कच्ची मोटरबाटो लाग्यौँ । यताउति घुमाउरो ओरालो बाटो हुँदै हामी ४० मिनेट जतिमा डोलेश्वर मन्दिर पुग्यौँ । एकै छिनअघि सुनसान जस्तो देखिएको मन्दिर अब वागीश्वरीमय भयो । धेरैले मन्दिरभित्रै पसेर पूजा गरे । हामी कतिपयले चाहिँ मन्दिरबाहिरबाटै श्रद्धापूर्वक ढोग्यौँ । सबै साथीले फोटो खिचे । कतिले भिडियो पनि बनाए । लाइनमा बसेर टीका चन्दन लगाइयो । मन्दिर वरिपरिको शान्त वातावरणले मनै हलुका भयो । डोलेश्वर मन्दिरलाई भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथको शिर भनिँदो रहेछ । यो हामी सम्पूर्ण नेपालीका लागि गौरवको कुरा हो ।
अब त घाम पनि पहेँला हुँदै थिए । शिक्षकको निर्देशन अनुसार हामी लाइन लागेर फर्कन थाल्यौँ । केही वर आएपछि साथीहरूको एउटा समूह सूर्यविनायकतिर जाने बाटो भएर छुट्टियो । कुरा गर्दै र यताउति हेर्दै हिँडेका हामी थाहै नपाई जगाती आइपुगी सकेछौँ । त्यहाँ फेरि साथीहरूको अर्को समूह बिदा भयो । बाँकी हामी विद्यालय आइपुग्यौँ । फर्कंदा थकाइ महसुस भए पनि यात्रा रमाइलो लागिरहेको थियो । विद्यालयबाट हिँड्दै हिँड्दै मेरो घर गोलमढी आइपुग्दा अपराह्नको ५:१५ भएको थियो ।