जनार्जन खत्री
सर्लाही, चैत १ गते । सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेपछि उहाँ चर्चामा हुनुहुन्छ । उहाँले सर्लाहीबाट लगातार चौथो पटक प्रतिनिधि सभा सदस्य बन्ने मौका प्राप्त गर्नुभएको छ ।
देशभर सर्वाधिक चासो रहेको सर्लाही–४ मा सिंहले आफ्नै पुरानो पार्टी कांग्रेसका सभापति थापालाई भारी मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गर्नुभएको हो । सिंहले ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुँदा थापा भने २२ हजार ८३१ मतमा खुम्चिनु प-यो ।
यसअघि नै संसद्मा बारम्बार विभिन्न विषय उठान गरेर चर्चामा आएका नेता सिंह फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा ‘हेभिवेट’ थापालाई पराजित गर्दा थप चर्चा पाउनुभएको छ । नेता सिंह यसअघि नेपाली कांग्रेसबाट दुई पटक र स्वतन्त्रबाट एक पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यो पटक कांग्रेस सभापति नै प्रतिस्पर्धामा आएको र २०७९ को निर्वाचनमा साथ दिएका नेता कांग्रेसमा प्रवेश गरेकाले सिंहलाई चुनाव जित्न मुस्किल पर्ने आकलनबिच रास्वपाप्रति देशभर जनलहर देखिँदा सहज रूपमा चुनाव जित्नुभयो । २०७९ मा कांग्रेसले टिकट नदिएपछि उहाँ पार्टी परित्याग गर्दै स्वतन्त्रबाट चुनाव लड्नुभयो र कांग्रेसकै उम्मेदवारलाई पराजित गर्दै निर्वाचित हुन सफल हुनुभयो । यस पटक आफ्नो पूर्वपार्टीका सभापतिलाई नै पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित सिंहले आफू निरन्तर भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध उभिने बताउनुभएको छ । उहाँले विगतमा पनि आफू प्रतिनिधि सभा बैठकमा सुशासन कायम गर्न र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको भन्दै आगामी दिनमा पनि जनताका पक्षमा आवाज उठाउने बताउनुभयो ।
संसद्मा भ्रष्टाचारलगायत अन्य समसामयिक विषयमा जनताका पक्षमा निरन्तर आवाज उठाएका कारण नागरिकले यस पटक पुनः अनुमोदन गरेको सिंहको दाबी छ । आफूले सर्लाही–४ का नागरिकको सुखदुःख र अप्ठ्यारोमा साथ दिएकाले बाहिरका नेतालाई नछानी आफूलाई चयन गरेको सिंहको भनाइ छ ।
आफू गरिबको आवाज बनेर अझै पनि निरन्तर निर्वाचन क्षेत्र र संसद्मा बोलिरहने उहाँले बताउनुभएको छ । “गगनजीले ठुलाबडा र भ्रष्टाचारीलाई साथमा लिएकाले सर्लाही–४ का नागरिकले मन पराएनन्,” सिंहले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो, “म त जहिल्यै पनि गरिब जनताका पक्षमा उभिएको हुन्छु । त्यसैले मतदाताले मलाई रोजेका हुन् ।”
चुनावअघि मात्र जनकपुरमा आयोजित चुनावी सभामार्फत रास्वपामा प्रवेश गर्नुभएका सिंहले एक सय दिनभित्र परिवर्तनको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । उहाँले चुनौतीको बाबजुद जनतालाई विश्वासमा लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सिंहले सर्लाही–४ मा कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना आफ्नो प्राथमिकतामा रहने बताउनुभयो । उहाँले रवि–बालेनबिच राम्रो सम्बन्ध रहेकाले नागरिकको अपेक्षा अनुसार काम गर्न सहज हुने उल्लेख गर्नुभयो । चुनावका बेला पनि जनताको घरदैलोमा जाँदा विकासनिर्माणदेखि स्थानीय समस्या जनताले आफूसमक्ष राखेको भन्दै जनताको समस्या समाधानका लागि निरन्तर लागि रहने उहाँले बताउनुभयो ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सिंहले अबको २० वर्ष रास्वपाको सरकार रहने दाबीसमेत गर्नुभएको छ ।