शंकर केसी
सल्यान, चैत १ गते । सल्यानमा वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबारदेखि विविध कार्यक्रम सञ्चालन हुँदैछन् ।
वन डढेलो व्यवस्थापन सप्ताह अन्तर्गत जिल्लाका आठवटै सब डिभिजन वन कार्यालयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने भएको हो ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलले सप्ताहभरि वन उपभोक्ता समूह, स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकाय तथा अन्य सरोकारवालालाई सहभागी गराएर डढेलो रोकथाम र नियन्त्रणका उपायबारे छलफल तथा सचेतनामूलक कार्यक्रम गरिने जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत आइतबार त्रिवेणी गाउँपालिकाको काभ्रामा विद्यार्थी लक्षित वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको रावलले जानकारी दिनुभयो।
वन डढेलोको जोखिम, यसको असर र नियन्त्रणका उपायबारे युवापुस्तालाई सचेत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ ।
यसैबीच जिल्लामा वन डढेलो व्यवस्थापन कार्ययोजनाको मस्यौदा तयार भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।उक्त कार्ययोजना जिल्ला वन सुरक्षा समितिको बैठकबाट पारित गरी जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा समेत पेश गर्ने तयारी गरिएको छ ।
यस वर्ष पनि सल्यानमा वन डढेलो सुरु भइसकेको छ । शनिबार सिद्ध कुमाख गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाको सिमाना क्षेत्रमा लागेको डढेलोबाट करिब ३० हेक्टर वन क्षेत्र नष्ट भएको डिभिजन बन कार्यालय प्रमुख रावलले जनाउनुभयो ।
वन डढेलोको दृष्टिले सल्यान उच्च जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । सन् २०१३ देखि २०२५ सम्म जिल्लामा एक हजार ३०२ वटा वन डढेलोका घटना भएका छन् ।
यसले वन क्षेत्र, जैविक विविधता, वन्यजन्तु तथा वातावरणमा ठूलो क्षति पुर्याउँदै आएको छ ।वन डढेलोका घटनामा मानवीय लापरबाही प्रमुख कारण हुने भएकाले स्थानीय समुदायको सक्रियता र सचेतना अभिवृद्धि जरुरी रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
सप्ताहभर सञ्चालन हुने कार्यक्रमबाट वन संरक्षणप्रति जनचेतना बढ्ने र डढेलो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।क्याप्शनस् सल्यानको जङ्गलमा लागेको डढेलो ।