शालिग्राम नेपाल
चितवन, चैत १ गते । मजदुर अभाव र निर्माण सामग्री आपूर्तिमा देखिएको समस्याका कारण मुग्लिन–मलेखु सडक विस्तारको काम प्रभावित भएको छ।
प्रतिनिधिसभा निर्वाचनका कारण काममा खटिएका मजदुर गाउँ फर्किएपछि निर्माण कार्य प्रभावित भएको हो।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) की प्रमुख सजना अधिकारीका अनुसार निर्वाचन सकिएको एक साताभन्दा बढी समय बितिसक्दा पनि मजदुर काममा नफर्किएपछि सडक विस्तारको काम अघि बढ्न सकेको छैन।
उहाँका अनुसार निर्वाचनको तयारीका क्रममा मजदुर तथा कर्मचारी बिदामा गएका थिए। निर्वाचन सम्पन्न भएपछि पनि आवश्यक जनशक्ति नफर्किएकाले निर्माण कार्य प्रभावित भएको हो।
निर्माण सामग्रीको अभावले पनि सडक विस्तारमा थप समस्या सिर्जना भएको छ। मलेखु नजिकै त्रिशूली नदीको लामावगर क्षेत्रमा आवश्यक निर्माण सामग्री निकाल्न ठेक्का लागे पनि स्थानीयको विरोधका कारण सामग्री निकाल्न नसकिएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख अधिकारीका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) ले तोकेको क्षेत्रबाट ७४ हजार घनमिटर निर्माण सामग्री निकाल्न अनुमति दिएको थियो।
सोही अनुसार काम सुरु भए पनि स्थानीयले उक्त स्थानबाट सामग्री निकाल्न नदिएपछि निर्माण कार्य प्रभावित भएको हो।
उहाँले भन्नुभयो, “आयोजना सुरु भएदेखि नै लामावगरबाट गिटी, बालुवा लगायतका सामग्री निकाल्न पाएका छैनौँ। पटक–पटक स्थानीयसँग वार्ता भए पनि समाधान हुन सकेको छैन।”
निर्माण सामग्री मलेखुबाट निकाल्न नपाएपछि चितवनको जुगेडी र नुवाकोटबाट सीमित रूपमा ल्याउने गरिएको छ। टाढाबाट सामग्री ल्याउँदा लागत बढ्ने भएकाले ठेकेदार कम्पनीले पनि काममा ढिलाइ गरिरहेको आयोजनाले जनाएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले स्थानीयको अवरोध हटाउने प्रयास भइरहेको जानकारी दिनुभयो। उहाँले विकास निर्माणका काम प्रभावित हुन नदिन समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो।
स्थानीय तह र जनप्रतिनिधिबाट विवाद समाधानका लागि अपेक्षित पहल नभएको आयोजनाको भनाइ छ। सडक विस्तार आयोजना सुरु भएको तीन वर्ष बितिसकेको छ।
मुग्लिनदेखि मलेखुसम्मको ३८ दशमलव ८६ किलोमिटर सडक खण्डमा हाल ढल निर्माण तथा सडक पेटी निर्माणको काम भइरहेको छ। आयोजनाका अनुसार हालसम्म ४२ दशमलव ५ प्रतिशत काम सम्पन्न भएको छ।
यो आयोजनाको ठेक्का चार अर्ब ८० करोड ५९ लाख ७४ हजार ९ सय १२ रुपैयाँ ६४ पैसामा लागेको हो। शर्मा–जेडआइसिजी जेभीले २०७९ मङ्सिर ७ गते ठेक्का सम्झौता गरेको थियो।
सडक विस्तारको काम २०८२ पुस १३ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माणमा ढिलाइ भएपछि २०८३ असारसम्म म्याद थप गरिएको छ। थपिएको म्यादमा पनि काम सम्पन्न हुन कठिन हुने अवस्था देखिएको आयोजनाले जनाएको छ।