• १ चैत २०८२, आइतबार

दुई वर्षमा चालिस प्रतिशत मात्र काम

blog

बागलुङ समाचारदाता

बागलुङ, चैत १ गते । चौपारीदेखि गैँडाकोट, तित्याङ हुँदै भकुन्डे–रायडाँडा–बरेङ शान्तिपुर जोड्ने रणनीतिक सडकको ४० प्रतिशत काम सकिएको छ । दुई वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने गरी २०८० चैतमा सम्झौता भएको थियो । सडक निर्माणको समय सकिन एक महिना बाँकी छ । समयमै काम नसकिँदा १५ किमीको भकुन्डे र २० किमीको रायडाँडा पुग्न स्थानीयले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत एसियाली विकास बैङ्कको २८ करोड रुपियाँ ऋण सहयोगमा यो सडक निर्माणको काम भइरहेको हो । ठेक्का लगाएको डेढ वर्षसम्म सडकको काम नभएपछि नेपाल सरकारले परामर्शदातासमेत पठाएको थियो । परामर्शदाताको प्राविधिक सहयोगमा कामले गति लिए पनि तोकेको समयमा ४० प्रतिशत मात्रै काम भएको हो । 

२०५७ मा चौपारीदेखि गैँडाकोट, तित्याङ हुँदै रायडाँडा जोड्ने सडकको ट्र्याक खुलेको थियो । सुरुवातमा सिगाना हुँदै तित्याङको कमलडाँडाबाट सुरुवाती ट्र्याक खुल्यो । २०५८ मा छोटो रुटको ट्र्याक खुलेपछि पनि कामले गति लिन सकेको थिएन । बागलुङ नगरपालिका–१०, भकुन्डेका वडाध्यक्ष तिलबहादुर थापाका अनुसार सडक  नबन्दाको सास्तीले उपभोग्य सामग्री ढुवानी र बिरामीले उपचारका लागि अस्पताल आजजाउमा दुःख पाएका छन् । सडक स्तरीय नबन्दा भकुन्डे र रायडाँडावासी बसाइँ सरेर सहर झरेको उहाँको भनाइ छ । 

यो सडकको छ किमी खण्डमा मात्रै नालीको काम भइरहेको छ । कालोपत्रे गरिसक्ने समयमा मापदण्ड अनुसार सडक चौडा बनाउने काम नभएको भकुन्डेका याम थापाले गुनासो गर्नुभयो । थापाले भन्नुभयो, “कालोपत्रे सम्पन्न भएर सरर गाडी चल्नुपर्ने बेलामा सडक खन्ने काम भइरहेको छ । यो नै विडम्बनाको कुरा छ ।” बागलुङ नगरपालिकाले रायडाँडालाई विशेष क्षेत्रमा राखेर सामाजिक विकासका कार्यक्रमलाई जोडेको छ । भौतिक विकासतर्फ सडककै सास्ती भएकोले अन्य सेवा प्रवाहमा पनि असर परेको बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतम बताउनुहुन्छ । वडा जोड्ने सडक स्तरीय नबनेपछि अरू धेरै काम राम्रो गरे पनि स्थानीयले चित्त बुझाउन नसकेको गौतमको बुझाइ छ ।

ठेकेदारले तित्याङ र भकुन्डेको केही स्थानमा ग्याबिन बुन्ने र पर्खाल लगाउने काम गरे पनि नाली निर्माण गरिसकेको छैन । परामर्शदाता कम्पनीका इन्जिनियर पुरुषोत्तम गौतमले आगामी असारसम्म १५ किमी सडकको नाली र ग्याबिन बनिसक्ने दाबी गर्नुभयो ।