• १ चैत २०८२, आइतबार

‘मतदाताको विश्वास कामबाट प्रमाणित गर्छु’

blog

दाङ समाचारदाता

दाङ, चैत १ गते । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका  सहमहामन्त्री विपिनकुमार आचार्यले  परिवर्तन र सुशासन कायम गर्ने आफ्नो प्रतिबद्धतामा कुनै कमी हुन नदिने बताउनुभएको छ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएपछि चर्चामा आएका आचार्यले आफूले निर्वाचनका क्रममा सुशासन र परिवर्तन ल्याउछु भनेको स्मरण गर्दै यसलाई व्यवहारमा कार्यान्वयन गर्ने बताउनुभयो । आचार्यले ४३ हजार ५५९ मत प्राप्त गर्दा पोखरेलले १५ हजार २८७ मत प्राप्त गर्नुभएको थियो । 

विजयपछि गोरखापत्रसँग कुरा गर्दै आचार्यले यो परिणामलाई दाङका मतदाताले  परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कृतिका पक्षमा दिएको जनादेशका रूपमा आफूले बुझेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई जुन आशा र भरोसाका साथ मतदाताले मतदान गरेर विजयी गराउनुभयो । 

मतदाताले चाहेको परिवर्तन र सुशासनको यात्रालाई निराशामा परिणत हुन दिने छैनौँ ।” तुलसीपुर उपमहानगरपालिका–१२, टरीगाउँ  निवासी आचार्यको जन्म २०४३ साल फागुन २९ गते पिता शिवकुमार शर्मा र माता शान्ता आचार्यको कोखबाट भएको हो ।

बायोटेक इन्जिनियरिङ अध्ययन गरेका उहाँले  काठमाडौँ  विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन पूरा गर्नुभएको छ । आचार्य राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्यसमेत हुनुहुन्छ भने हाल पार्टीको सहमहामन्त्रीको जिम्मेवारी समालिरहनुभएको छ । राजनीतिक रूपमा भने उहाँको सुरुवात एमाले पृष्ठभूमिबाट भएको थियो । उहाँको परिवार पनि पहिले एमालेमै सक्रिय थियो तर पछि उहाँ रास्वपामा आबद्ध भएपछि परिवारसमेत सोही पार्टीमा सक्रिय भएको बताइएको छ ।

निर्वाचनअघि आचार्य प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फको बन्द सूचीमा पहिलो नम्बरमा सूचीकृत हुनुहुन्थ्यो । पछि उहाँले प्रत्यक्षतर्फ उम्मेदवारी दिने निर्णय गर्दै बन्द सूचीबाट नाम फिर्ता लिनुभएको थियो । पहिलो प्रयासमै भारी मतान्तरले विजयी भएपछि उहाँले यसलाई मतदाताको विश्वास र अपेक्षाको ठुलो जिम्मेवारीका रूपमा लिएको बताउनुभयो ।

दाङको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य,  कृषि, सिँचाइ, खानेपानी र सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आफूले लिखित प्रतिबद्धता प्रस्तुत गरेको उहाँले बताउनुभयो । दाङको समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रको विकासलाई पनि विशेष प्राथमिकतामा राखिने उहाँको भनाइ छ । त्यसै गरी आचार्यले घोराही–तुलसीपुर चार लेन  सडक निर्माणलाई तीव्रता दिने, दाङमा नियमित हवाई उडान सुरु गर्ने तथा विमानस्थलको स्तरोन्नतिका लागि पहल गर्ने विषयमा आफूले सक्रिय भूमिका खेल्ने बताउनुभयो ।