• १ चैत २०८२, आइतबार

भ्रष्टाचारविरुद्धको आन्दोलन एजेन्डा

blog

अस्मिता पोखरेल  

धादिङबेँसी, चैत १ गते   । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ निर्वाचन क्षेत्र नं. २ मा निर्वाचित सांसद बोधनारायण श्रेष्ठले आफ्नो पहिलो एजेन्डा नै भ्रष्टाचारविरुद्धमा आवाज उठाउने रहेको बताउनुभयो ।  

सामाजिक क्षेत्रमा काम गर्दा गर्दै राजनीतिमा आएका उहाँले समाजिक सुशासन र भ्रष्टाचाररहित समाजको कल्पना गर्नुभएको छ । हाम्रो नेपाल जस्तो गरिब मुलुकमा भ्रष्टाचार समस्या व्यापक हुने भएकाले यसलाई नियन्त्रण गर्न सकेमा अन्य क्षेत्रको विकासमा फड्को मार्न सकिने उहाँको बुझाइ छ । 

श्रेष्ठ भन्नुहुन्छ, “भ्रष्टाचार नियन्त्रणका लागि नागरिक सहभागितामा ‘एन्टिकरप्सन आन्दोलन’ सञ्चालन गर्दछु । राज्यका सेवा सुविधा 

नागरिकसम्म सहज रूपमा पुग्ने गरी प्रणाली सुधार गर्ने योजना छ ।” जिल्लाको ज्वालामुखी गाउँपालिका–२, मैदी निवासी ५६ वर्षीय श्रेष्ठले विकास, सुशासन र जिम्मेवारी पूर्ण राजनीतिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । यही प्रतिबद्धता नै आगामी संसद्मा आफ्नो भूमिकाबाट जनताले थाहा पाउने उहाँको भनाइ छ । 

२०२६ भाद्र ३ गते जन्मिएका श्रेष्ठले राष्ट्रिय तथा प्रदेशस्तरमा दीर्घ अनुभव हासिल गर्नुभएको छ । विकासलाई नीति, प्रणाली र नागरिकको सव्रिmय सहभागितासँग जोडेर अघि बढाउनुपर्ने स्पष्ट दृष्टिकोणसहित उहाँ सार्वजनिक जीवनमा सव्रिmय रहँदै आउनुभएको छ । 

आफ्नो निर्वाचन क्षेत्रको अर्को प्राथमिकता स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनु रहेको बताउँदै उहाँले भन्नुभयो, “राजधानीबाट नजिक रहेर पनि धादिङका सबै नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुभएको छैन । सबैले स्वास्थ्य सेवा पाउने गरी वातावरण निर्माण गर्ने मेरो उद्देश्य हो ।” 

रोजगार र स्वरोजगार प्रवर्धनका लागि 

‘नवअनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने योजना रहेको बताउँदै उहाँले केन्द्र युवाको नेतृत्वमा सञ्चालन हुने बताउनुभयो । नयाँ सोच तथा प्रविधिमार्फत उद्यमशीलता विकासमा योगदान पु¥याउने अपेक्षा रहेको बताउँदै उहाँले स्वास्थ्य बिमा कार्यव्रmमको पहुँच विस्तार गर्ने र हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन प्राथमिकतामा परेको छ ।

उहाँले ‘३ प्लस २’ अवधारणामा आफ्नो मुख्य एजेन्डालाई अगाडि बढाउनुभएको छ । यस अन्तर्गत स्वास्थ्य, रोजगार तथा अनुसन्धान नवप्रवर्तन केन्द्र स्थापना रहेको छ । जटिल भूगोल भए पनि विभिन्न क्षेत्रमा पर्याप्त सम्भावना रहेको जिल्ला हो भनी आफूले बताउँदै उहाँले रुबीभ्याली क्षेत्रमा ग्रामीण पर्यटन, जलविद्युत् र खानीजन्य स्रोतको सम्भावना छ । गङ्गाजमुनामा कफी खेती, नेत्रावतीमा तरकारी, सल्यानटारमा कृषि उत्पादन गरिने छ, त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।   

राजनीतिमा प्रवेश गर्नुअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभव उहाँसँग छ । युनिसेफ नेपालमा १७ वर्षसम्म खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) अधिकृतका रूपमा उहाँले काम गर्नुभएको छ । मधेश, बागमती, लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशमा समेत उहाँले काम गर्नुभएको छ । नेपाल रेडव्रmस सोसाइटीमा पूर्वमन्त्री, उपसभापति तथा सङ्गठन व्यवस्थापकका रूपमा जिम्मेवारी समाल्नुभएका श्रेष्ठ बुढीगण्डकी जलविद्युत् आयोजनाका सामाजिक पक्षसम्बन्धी पूर्वसल्लाहकार भएर काम गरिसक्नुभएको छ ।   

ग्रामीण विकासमा स्नातकोत्तर तथा राजनीतिशास्त्रमा स्नातक गर्नुभएका उहाँ नेपालको खुला दिसामुक्त अभियानका प्रमुख अभियन्तामध्ये एकका रूपमा चिनिनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा २०८२ असोज १६ देखि आबद्ध भएर राजनीतिमा प्रवेश गर्नुभएको थियो । वैचारिक रूपमा वामपन्थी धारप्रति झुकाव रहेका उहाँले निर्वाचनअघि सार्वजनिक गरिएको घोषणापत्रमा सुशासन र संस्थागत सुधार, उत्पादनमुखी अर्थतन्त्र, स्वास्थ्य र सामाजिक सुरक्षा, शिक्षालगायतका विषयलाई प्राथमिकतामा राख्नुभएको छ । उहाँले २६ हजार १४३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश धमलालाई पाँच हजार ८६५ मतान्तरले पराजित गर्नुभएको थियो । धमलाले २० हजार २७८ मत पाउनुभयो । नेकपा (एमाले) का धनबहादुर घलेले १० हजार ८४ र नेपाल कम्युनिस्ट पार्टीका रामबहादुर भण्डारीले नौ हजार ३७ मत प्राप्त गर्नुभयो ।