साथीहरू, तपाईं विद्यालयको किताबबाहेक अरू किताब कति पढ्नुहुन्छ ? अनि कस्ता किताब पढ्न मन पर्छ ? विद्यालयको किताब पढ्न मन लाग्छ कि कथा, कविता, बालपत्रिका ? कस्ता किताब पढ्न जाँगर चल्छ ? कस्ता किताब पढ्न अल्छी लाग्छ त ? मलाई सोध्नुहुन्छ भने ‘मुना’ मासिक बालपत्रिका, चित्रकथाका किताब तथा छोटा छोटा कथाका किताब पढ्न मन पर्छ । सुरुमा म किताब पढ्न खासै रुचि राख्दिनथेँ तर पछि पछि मुना जस्ता रमाइला बालपत्रिका र चित्र भएका कथाहरू पढ्न थालेपछि मलाई किताब साथी जस्तै लाग्छ । अब किताब पढ्नु मेरो बानी बनेको छ ।
हामी दिनभरि विद्यालयमा पढ्छौँ । बिहान बेलुकी घरमा पनि पढ्छौँ । पढ्ने बानीले हामीहरू धेरै कुरा सिकिरहेका हुन्छौँ । हामीले सानैदेखि पढ्ने बानी बसाल्यौँ भने हाम्रो ज्ञान अझै बढ्छ, सोच्ने क्षमता विकसित हुन्छ र भविष्यमा सफल हुन सजिलो हुन्छ । हामीले सानो उमेरदेखि नै रमाइलो तरिकाले किताब पढ्न थालेमा ज्ञान, भाषा र सिर्जनात्मक सोच पनि बढ्छ ।
त्यसैले तपाईं हामीले मन परेको किताब पढ्न अल्छी गर्नु हुँदैन । सुरु सुरुमा हामीले रमाइला किताबबाट पढ्न सुरु गर्न पनि सक्छौँ । उदाहरणका लागि ‘मुना’ मासिक बालपत्रिकामा विभिन्न खाले विषय समेटिएका हुन्छन् जसलाई नियमित पढ्न सकिन्छ । सस्तो मूल्य, विद्यार्थीका लागि साह्रै उपयोगी मुना पत्रिका म नियमित रूपमा किनेर पढ्ने गर्दछु । जहाँ प्रकाशित कथा, कविता, चित्रकथा, विज्ञान, संस्कृति, सामान्य ज्ञान, भूगोल, इतिहास, समाजका विभिन्न विषय पढ्न पाइने हुँदा धेरै कुरा जान्न पाइन्छ । यसले सानै उमेरमा धेरै कुरा थाहा पाउन सहयोग पुर्याउँछ । अनि नयाँ नयाँ शब्द पनि सिकिन्छ । आफूलाई मन लागेका कुरा कसरी लेख्ने भन्ने पनि थाहा हुन्छ ।
हामीहरूले पढ्ने बानी बसाल्नु धेरै आवश्यक हुन्छ किनकि किताबले हामीलाई ज्ञान, रमाइलो र नयाँ अनुभव दिन्छ तर पढ्ने बानी तुरुन्तै बस्दैन, विस्तारै अभ्यास गर्दा मात्रै राम्रो बन्छ । त्यसैले पहिलो कुरा हामीले हरेक दिन केही समय किताब पढ्ने बानी बनाउनु पर्छ । समय धेरै हुनै पर्छ भन्ने छैन १०/१५ मिनेट भए पनि पुग्छ तर यो समय दिनहुँ हुनुपर्छ । सुरुमा रमाइला र सजिलै बुझिने किताबबाट पढ्न सुरु गर्नु पर्छ । चित्रसहितका कथा, बालपत्रिका वा छोटा कथाले पढ्दा धेरै मजा आउँछ । हामीले रमाइलो किताब पढ्यौँ भने पढ्ने बानी बस्छ । जब रमाइलो लाग्न थाल्छ, तब अन्य किताब पनि पढ्ने इच्छा आफैँ बढ्छ । पढ्ने बानी बसाल्नु सबैभन्दा ठुलो कुरा हो । बानी एकै दिन बस्दैन तर निरन्तर प्रयास गर्दा अवश्य बस्छ ।
सुरुमा छोटा कथा, कविता वा रमाइला गतिविधि पढ्दा चाँडै अल्छी लाग्दैन र पढाइमा रुचि बढ्छ । त्यसपछि अन्य किताब पढ्न पनि विस्तारै जाँगर चल्छ । ज्ञानवर्धक किताब, विज्ञान, जनजीवनका किताब वा रमाइला कथाकथनका किताब, इतिहासका किताब पनि पढ्न मन लाग्छ ।
किताब पढ्दा हामीले धेरै कुरा सिक्न सक्छौँ । पहिलो कुरा, किताबले हामीलाई नयाँ ज्ञान दिन्छ । कहिले प्रकृति, कहिले जनावर, कहिले अन्तरिक्षबारे र कहिले मानिसको जीवनबारे किताबमा जानकारी पाइन्छ । यसले हाम्रो दिमागलाई फराकिलो बनाउँछ र संसार बुझ्न मद्दत गर्छ । किताब पढ्दा हाम्रो भाषा राम्रो हुन्छ । नयाँ नयाँ शब्द भेटिन्छन्, वाक्य बनाउने तरिका सिकिन्छ, अनि बोलाइ र लेखाइ दुवै सुधारिन्छ । किताबले नैतिक शिक्षा पनि सिकाउँछ । धेरै कथाले सत्य बोल्न, सहयोग गर्न, मेहनत गर्न, अनुशासन पालना गर्ने, मित्रता र दया जस्ता गुण सिकाउँछन् । यसले हाम्रो व्यवहार र सोचाइ दुवैमा सुधार ल्याउँछ । हामीहरूलाई नयाँ व्यक्तित्व र संस्कृतिबारे जानकारी हुन्छ । हरेक प्रश्नको उत्तर पाउन सकिन्छ र जिज्ञासा बढ्छ । उत्तर आफैँ खोज्ने र सिक्ने बानी बस्छ । स्मरणशक्ति सुधार हुन्छ । समस्या समाधान गर्न सक्ने क्षमता बढ्छ ।
त्यसैले सानो उमेरदेखि नै बालपत्रिका तथा किताब पढ्न प्रोत्साहित गर्न अत्यन्त जरुरी छ । मेरो विद्यालयमा पनि पाठ्यक्रमबाहेक नेपाली र अङ्ग्रेजीका दुई वटा थप किताब पढ्न सिफारिस गरिएको छ । ती किताबको हामीले महिनैपिच्छे ‘बुक रिभ्यु’ गर्नु पर्दछ । यस्ता कार्यले पनि पढ्ने बानी बसालेको छ ।
किताब पढ्दा ध्यानकेन्द्रित गर्ने बानी बस्छ र विद्यालयमा पनि राम्रो हुन मद्दत गर्छ । किताब अध्ययनले ज्ञान बढ्नुका साथै अनुभव सङ्कलनमा पनि मद्दत गर्दछ । अरूले पाएको अनुभव हामीले किताबबाटै पाउन सक्छौँ । यसबाट हामी राम्रो मान्छे बन्छौँ, शिष्ट बन्छौँ र विद्यालयमा पनि राम्रो नम्बर ल्याउन मद्दत पुग्दछ ।