• ९ मंसिर २०८१, आइतबार

नयाँ राष्ट्रपतिसँग जनअपेक्षा

blog

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रूपमा रामचन्द्र पौडेलले सोमबार पदभार ग्रहण गर्नुभएको छ। नेपाली कांग्रेसको उम्मेदवार र सत्ता गठबन्धन दलको समर्थनमा उहाँ नेपालको राष्ट्रपतिमा निर्वाचित भए पनि विजयीभएपश्चात् अब उहाँ गठबन्धनमा रहेका दलको मात्र रहनु भएन। पौडेल उहाँको विपक्षीमा मतदान गर्ने नेकपा एमाले र सिङ्गो तीन करोड जनताका साझा अभिभावक हुनुभएको छ। 

नेपालको संविधानको भाग ६, धारा ६१ मा राष्ट्रपतिको व्यवस्था छ। संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकार उल्लेख छ। संविधानमा राष्ट्रपतिका लागि आलङ्कारिक भन्ने शब्द कतै प्रयोग नभए पनि धारा ६६ मा उल्लेख भएको ‘राष्ट्रपतिबाट सम्पादन गरिने कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ’ भन्ने व्यवस्थाले नै राष्ट्रपति कार्यकारी होइन, 

आलङ्कारिक हो भन्ने कुरा प्रष्ट्याएको छ तर विगतका राष्ट्रपति कतिपय विषयमा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको भनी आलोचना भएका छन्। ती कति ठीक थिए, कति राजनीतिक प्रेरित थिए भन्ने कुरा भविष्यमा बहस हुँदै जाला। अहिलेलाई भने नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयसम्म लोकतन्त्रका लागि लडेको र निष्ठाको राजनीतिको पर्याय भनी चिनिएकाले पनि उहाँको कार्यकाल विवादित हुने छैन भनी आमजनताले विश्वास गरेका छन्। मूलतः नयाँ राष्ट्रपतिसँग आमजनताका यी अपेक्षा छन्।

राष्ट्रको साझा अविभावक

राष्ट्रपति राष्ट्रको अभिभावक हो। राष्ट्रका अभिभावक साझा हुनुपर्छ। संविधानको धारा ६१ मा नेपालमा एक राष्ट्रपति रहने, राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने, निजले संविधान र सङ्घीय कानुनबमोजिम कार्यसम्पादन गर्ने, राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने र संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने भन्ने व्यवस्था छ। राष्ट्रपति राष्ट्राध्यक्ष हुने र राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ भन्ने व्यवस्थाले राष्ट्रपति कुनै पार्टी, समुदाय, भूगोल वा क्षेत्रको नभई साझा व्यक्ति हो भन्ने संविधानको परिकल्पना हो। राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने पद मान्नुले राष्ट्रपतिलाई एकताको प्रतीकको रूपमा स्वीकार गरिएको छ। 

राष्ट्रपति पद कुनै दल विशेषको नभएकाले उहाँबाट सबैप्रति समान व्यवहार अपेक्षित हुन्छ। राष्ट्रपतिमा निर्वाचित भएसँगै राष्ट्रपतिले नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरिसक्नु भएको छ। अब सबै दलप्रतिको तटस्थता र निष्पक्षता व्यवहारमै देखिनुपर्छ। कुनै दल विशेषको राष्ट्रपति होइन भन्ने कुरा व्यवहारममा नै प्रतिविम्बित हुनुपर्छ। त्यो भनेको आगामी दिनमा राष्ट्रपतिद्वारा गरिने निष्पक्ष व्यवहारको अनुभूतिले गर्छ। जुनसुकै पार्टीले होस् संविधानको भावना र मर्म विपरीत काम गरे त्यस्तो गलत काममा राष्ट्रपति सहयोगी बन्ने होइन, बरु दलको गलत कार्यलाई सुधार गरिदिने वा रोक्ने भूमिका निर्वाह हुनुपर्छ।

संविधान र कानुनको पालना

संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुने व्यवस्था छ। यो धारामा प्रयुक्त पालना र संरक्षण दुईवटा शब्दले राष्ट्रपतिको दोहोरो भूमिका र कर्तव्य देखिन्छ। एकातिर राष्ट्रपति संविधानभन्दा माथि होइन, राष्ट्रपतिले संविधानको दायराभित्र बस्नुपर्ने व्यवस्था गरेको छ भने अर्कोतर्फ संविधानमाथि कसैबाट प्रहार भएमा राष्ट्रपतिले संविधानलाई संरक्षण गर्नुपर्ने कर्तव्य छ। विगतमा राष्ट्रपतिलाई कतिपय विषयमा संविधानको पालना नगरेको र संरक्षणभन्दा बढी भत्काउने काम गरेको भन्ने आरोप लागेको छ। अब राष्ट्रपति यस्तो आरोपबाट मुक्त हुनुपर्छ। राष्ट्रपतिले चाल्ने हरेक कदम सुझबुझपूर्ण हुनु आवश्यक छ। रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनु अगाडि नेपाली कांग्रेसको उम्मेदवार हुनुभए पनि विजेता भने सबैका हुनु सक्नुपर्छ। अबको राष्ट्रपतिको व्यवहार यस्तो होस् कि पाँच वर्षमा जनताले पौडेलले कुन पार्टीबाट उम्मेदवार भएर राष्ट्रपति पद जित्नुभएको हो भन्ने बिर्सिऊन्, मात्र उहाँका काम सम्झिऊन्, राष्ट्रपतिलाई जनताका नायक भनेर जनताले चिनून्।

आलोचनामुक्त रहनु

राष्ट्रपति पद आलोचनामुक्त हुनुपर्छ। तर कहिलेकाहीँ पदमा बस्ने व्यक्तिको व्यवहारले त्यो पद अनावश्यक रूपमा आलोचित हुन पुग्छ। हुन त लोकतन्त्रमा जो कोहीको आलोचना हुन सक्छ, आलोचनालाई सामान्य रूपमा लिनुपर्छ। राष्ट्रपति पनि संवैधानिक राष्ट्रपति भएकाले जनताले आलोचना गर्न सक्छन्। आलोचनाले लोकतन्त्रलाई बलियो नै बनाउँछ, तर आलोचनाको पनि सीमा हुन्छ। सीमाविहीन आलोचना चाहिँ गालीगलौजमा परिणत हुन्छ। गालिगलौजले चाहिँ लोकतन्त्रलाई कमजोर बनाउँछ। त्यसैले राष्ट्र«पतिबाट अनावश्यक र सीमाविहीन आलोचना नहुने गरी कार्यसम्पादन होस् भन्ने जनअपेक्षा छ।

पाँच वर्षे अवधिको सुनिश्चिता 

संसद्बाट सरकार बन्ने अवस्था विद्यमान हुँदाहुँदै बीचैमा संसद् विगठन हुनु हुँदैन भन्ने नेपालको संविधानको मर्म र भावना हो। तर विगतमा समयावधि रहँदारहँदै बीचैमा पटक पटक संसद् विघटनका प्रयास भए। अदालतले निष्पक्ष भूमिका नखेल्दो हो त बीचमै मध्यावधि निर्वाचन हुन्थ्यो। जसले राजनीतिक अस्थिरतालाई निम्त्याउँथ्यो। आगामी दिनमा पनि यस्ता प्रयास नहोलान् भन्न सकिन्न। त्यसैले जुनसुकै दल विशेषको प्रधानमन्त्रीले किन नहोस्, बीचमै संसद् विगठन गरी मध्यावधि निर्वाचनमा जान खोजे त्यसलाई राष्ट्रपतिले अङ्कुश लगाउनुपर्छ। राष्ट्रपतिलाई संविधानको संरक्षकको भूमिका दिएकाले पनि संविधानको मर्म र भावना विपरीत संसद् विघटनको कार्यलाई रोक्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुन आउँछ। कुनै पनि दलको पचास प्रतिशत बहुमत नभएको संसद्लाई विघटनबाट रोकी बचाएर पाँच वर्ष लैजान राष्ट्रपतिको सन्तुलित भूमिका महत्वपूर्ण हुन्छ।

दलबीच सन्तुलन कायम

बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा दलबीच मतमतान्तर हुन्छन्। हाम्रोजस्तो देशमा त दलबीच मतमतान्तर बढ्दै गएर द्वन्द्व नै सिर्जना हुने गर्छ। लोकतन्त्रमा मतमतान्तर, बहस, विमति सामान्य मानिए पनि स्वार्थ मिसिएको अवरोध र द्वन्द्वले भने अन्ततोगत्वा लोकतन्त्रलाई नै धराशायी बनाउँछ। घरको झगडा मिलाउन अभिभावकको निष्पक्ष भूमिका भएजस्तै संसद्देखि सडकसम्म दलबीच हुने द्वन्द्वको न्यूनीकरणमा राष्ट्रपतिको रचनात्मक भूमिका सहयोगीसिद्ध हुन सक्छ। यस्तो अवस्थामा राष्ट्रपतिले द्वन्द्वको पक्ष वा विपक्ष नलिई निष्पक्ष न्यायाधीशको भूमिका निर्वाह गर्न सक्नुपर्छ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार

राष्ट्रपति पद राष्ट्रको सीमारेखाभित्र मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा समेत मान्य, स्वीकार्य र गरिमायुक्त हुनु आवश्यक छ। कार्यकारी पद नभए पनि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा राष्ट्रपतिको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। राष्ट्राध्यक्ष–राष्ट्राध्यक्ष बीचको सम्बन्ध सुमधुर हुन सके त्यसले नेपालप्रतिको अन्तर्राष्ट्रिय सहयोग र सद्भावमा वृद्धि हुन्छ। रामचन्द्र पौडेल सभामुखदेखि लिएर सरकारका विभिन्न तहमा बसेर काम गरिसकेको व्यक्ति भएकाले पनि उहाँको कार्यकालमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप सुधार हुने अपेक्षा गर्न सकिन्छ।

सरल जीवनशैली 

कुनै पनि पदमा रहने व्यक्तिको जीवनशैली कस्तो छ भन्ने कुराले पनि त्यो पदको गरिमा बढाउँछ। नवनिर्वाचित राष्ट्रपतिले निष्ठावान् र सादगी नेताको उपमा पाएकाले राष्ट्रपति भएपछि पनि उहाँले यो उपमा र गरिमा कायम राख्न सक्नुपर्छ। राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा राष्ट्रपतिको सवारीका कारण सर्वसाधारणले दुःख पाएको भनी विगतमा पटक पटक तीतो आलोचना हुने गरेको छ। यसमा सुधार ल्याउन राष्ट्रपतिले तत्कालै आवश्यक कदम चाल्नु नै हुनेछ।

लोकतान्त्रिक व्यवस्थामा राष्ट्रपतिमा विभिन्न व्यक्ति आउँछन्, जान्छन्। तर त्यो पदमा रहनेले कस्तो कार्यकुशलता र व्यवहार देखाउँछन् भन्ने कुराले त्यो पदको गरिमा बढाउँछ । उदाहरणीय काम गर्न सके इतिहासमा समेत व्यक्तिको नाम अङ्कित हुन्छ। देशभित्र मात्र होइन, राष्ट्रपतिको पद अन्तर्राष्ट्रिय रूपमा समेत देशको पहिचान झल्काउने पद भएकाले पनि नवनिर्वाचित राष्ट्रपतिप्रति नागरिकको ठूलो अपेक्षा र विश्वास छ । राष्ट्रपति पद अवकाशप्राप्त जीवन बिताउने पद होइन, बरु थप सक्रिय र जिम्मेवारीबोधको पद हो भन्ने कुरा लामो समयदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरी सो ठाउँमा पुग्नुभएका रामचन्द्र पौडलले अवश्यै बुझ्नुभएको छ। आमजनताले नयाँ राष्ट्रपतिसँग राखेको अपेक्षा पूरा होस् र आमजनताबाट उहाँको कार्यकाल सफलताका लागि व्यक्त गरेको शुभकामना सार्थक बनोस्। 

लेखक राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता हुनुहुन्छ।