• १३ असोज २०८१, आइतबार

आफ्नै खर्चमा कानेपोखरी अस्पताल

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन ३० गते । मोरङको कानेपोखरी–४ स्थित बयरवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी कानेपोखरी अस्पताल बनाएपछि अस्पतालमा बिरामीको चाप बढेको छ। 

पहिलो स्थापना दिवसका अवसरमा अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. अभिजित खड्काले दिनुभएको जानकारीअनुसार गत वर्ष फागुन २७ देखि असार मसान्तसम्म अस्पतालमा १४ हजार ७२४ जना बिरामी उपचारका लागि पुगेका थिए। चालू आर्थिक वर्षको माघ मसान्तसम्म १८ हजार ३६८ जना बिरामीले अस्पतालको सेवा लिइसकेका छन्। दुई मेडिकल अधिकृतले पूर्णकालीन सेवा र एक रेडियोलोजिस्टले हप्तामा दुई दिन सेवा दिइरहेको अस्पतालमा हाल कुल ३२ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्। 

चौबिसै घण्टा आकस्मिक सेवा र प्रसूति सेवा रहेको अस्पतालमा गत वर्षको फागुनदेखि हालसम्म ३६ जनाले सुत्केरी सेवा लिइसकेका छन्। एक्स–रे, भिडियो एक्स–रे, ईसीजीलगायतका सेवासमेत दिइरहेको अस्पतालले यसै वर्षदेखि आफ्नै फार्मेसीबाट औषधि वितरण गर्न थालेको छ। 

यसैगरी कानेपोखरी अस्पतालले चालू आवको माघ मसान्तसम्ममा दुई करोड ७० लाख ८० हजार ३८० रुपियाँ ४२ पैसा आम्दानी गरेको छ। एक करोड ६१ लाख एक हजार ८१३ रुपियाँ २७ पैसा खर्च गरी एक करोड नौ लाख ७८ हजार ५६७ रुपियाँ १० पैसा बचत गरेको अस्पतालका अध्यक्ष एवं वडा नम्बर ४ का वडाध्यक्ष रमेश राउतले बताउनुभयो। अझै विशेषज्ञ सेवा दिएर पनि अस्पताल आफ्नै खर्चमा सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउँदै चालू आर्थिक वर्षमा मात्र अस्पतालले कम्प्युटर, प्रिन्टर, फर्निचर, मेसिनरी औजार र उपकरण, आकस्मिक सेवाका लागि आवश्यक उपकरण र औजार खरिद गरी स्वास्थ्य सेवालाई चुस्त बनाएको अध्यक्ष राउतले बताउनुभयो। 

जग्गादातालाई सम्मान 

कानेपोखरी गाउँपालिकाले शनिबार पालिका स्थापनाको छैटौँ वर्ष र कानेपोखरी अस्पताल स्थापना भएको पहिलो वर्ष पूरा भएको अवसरमा अस्पताल स्थापना गर्न जग्गादान गर्ने दातालाई सम्मान गरेको छ। 

तत्कालीन बयरवन गाउँ पञ्चायत छँदा २०३० सालमा बयरवन स्वास्थ्य चौकी स्थापना गर्न १० कट्ठा जग्गादान गर्नुभएका पुष्पेन्द्रबहादुर भट्टराई र तारा भट्टराईलाई सम्मान गरिएको हो।