काठमाडौँ, फागुन ३० गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा भूराजनीति (जिओपोलिटिक्स)बारे बृहत् छलफल हुने भएको छ । चलचित्रमा जिओपोलिटिक्सले पारेको र पार्ने प्रभावमाथि सेसन केन्द्रित हुने जनाइएको छ ।
‘भूराजनीतिमा सिनेमाको भूमिका’ विषयक सेसनमा निर्णयकर्तासमेत रहेका निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा. लीला न्याइच्याईं, युनेस्कोका डा. रोशन यादव र प्रा. खड्ग केसीले आफ्नो मत र अनुभव सुनाउनुहुनेछ ।
‘जिओपोलिटिक्स’ संसारमा अहिले सबैभन्दा धेरै चर्चा गरिने विषयसमेत भएको छ । पत्रकार योगेश ढकालले सेसनको मध्यस्थता गर्नुहुनेछ भने सेसन आउँदो चैत ३ गते शुक्रबारका दिन नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा सञ्चालन हुनेछ । निफमा ‘ओपनिङ फिल्म’का रूपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बताउनुभयो ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको छैटौँ संस्करण आउँदो चैत २ देखि ६ सम्म काठमाडौँमा आयोजना हुँदै छ । नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गर्न लागेको ३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने महोत्सवमा ९५ प्रतियोगी चलचित्र प्रदर्शन गरिनेछ । काठमाडौँको सिभिल मल, छाया सेन्टर, पुल्चोकको लबिम मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको सिनेमा हलमा चलचित्र प्रदर्शन हुनेछन् ।