• १३ साउन २०८१, आइतबार

विषादी परीक्षण गर्न माग

blog

सिराज खान 

नेपालगञ्ज, फागुन ३० गते । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्र भिœयाउन बाँकेका उपभोक्ता अधिकारकर्मीले माग गरेका छन् । 

यसबारे बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन केही दिनअघि यहाँका उपभोक्ता अधिकारकर्मी र मानव अधिकारकर्मीले संयुक्त विज्ञप्ति जारी गरेका थिए । नेपालगञ्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले भारतबाट आउने तरकारीको गुणस्तर परीक्षण निरन्तर भइरहेको दाबी गरेको छ । भन्सार कार्यालयले पठाउने गरेको नमुना परीक्षण निरन्तर भइरहेको र परीक्षणबिना तरकारी नभित्रिएको खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्रमुख सन्तोष दाहालले गर्नुभयो ।

भारतबाट आयातित तरकारी तथा फलफूलको परीक्षण गरेर गुणस्तरको सुनिश्चितता गरेपश्चात् मात्र उपभोक्तामाझ पुग्नुपर्नेमा विषादी परीक्षणबिना नै बिक्री वितरण भइरहेकाले विषादी परीक्षण गर्न माग गरिएको लुम्बिनी प्रदेश उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष प्रभातकुमार ठकुरीले जानकारी दिनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले विषादीको जथाभाबी प्रयोग गरी उत्पादन भएको तरकारी तथा फलफूल खान नेपाली उपभोक्ता बाध्य भइरहेको जनाउँदै यसको नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्ने बताउनुभयो ।