• १३ साउन २०८१, आइतबार

एकल पदयात्रामा प्रतिबन्धको विरोध

blog

काठमाडौँ, फागुन ३० गते । सरकारले विदेशी पर्यटकलाई एकल पदयात्रामा जान प्रतिबन्ध लगाउने निर्णयप्रति विदेशी पर्यटकले असन्तुष्टि जनाएका छन् । यसअघि पर्यटक एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा आउँदो चैत १८ (अप्रिल १) देखि पर्यटकका साथमा अनिवार्य पथप्रदर्शक हुनैपर्ने निर्णयप्रति पर्यटकले निराशा व्यक्त गर्न थालेका हुन् । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार २०१९ मा झन्डै ५१ हजार पर्यटक एकल (सोलो) पदयात्राका लागि नेपाल आएका थिए । बर्सेनि एकल पदयात्राका लागि नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बेला अनिवार्य पथप्रदर्शक हुनुपर्ने नियमले नेपाल आउन चाहने पर्यटक घट्न सक्नेतर्फ समेत चिन्ताको विषय बनेको छ । 

ट्रेकिङ एजेन्सी अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले भने पर्यटक एकल पदयात्रामा हुने सम्भावित दुर्घटना, उद्धारको समस्या, लुटपाटलगायतका समस्या समाधान गर्न यो नियम आउन लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पर्यटकको सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यान दिएर यस्तो व्यवस्था गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डले बिनागाइड घुम्ने पर्यटकका लागि जारी हुने पर्यटन सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकैप्रकारको टिम्स कार्ड वितरण गरिनेछ ।”

सरकारले पर्यटकको सुरक्षालाई सहयोग पुग्ने तवरले नयाँ नियम जारी गर्ने भएपछि यसअघि नै नेपाल आएर पदयात्रामा जाने योजना बनाएका पर्यटक अन्योलमा परेका छन् । नेपाल आउने तयारीमा रहेका पर्यटकले विभिन्न सामाजिक सञ्जालबाट एकल पदयात्रामा जाँदा सिक्ने मौका पाएका विविध विषयमा अन्वेषण गर्न सहज भएकाले पछिल्लो निर्णयप्रति खिन्नता व्यक्त गर्न थालेका हुन् । 

नेपाली अर्थतन्त्रमा पर्यटनका क्षेत्रबाट आफूहरू थप खर्च गर्न तयार रहे पनि सरकारले विकल्पै नदिनु दुःखको कुरा भएको उनीहरूको धारणा छ । भाडामा लिएका पथप्रदर्शकले कति मार्गदर्शन गराउन सक्छन् ? भाषा र ज्ञानबारे पथप्रदर्शक कति पूर्ण छन् भन्नेबारे तर्फ समेत सरकारले किन ध्यान दिँदैन भन्दै पर्यटकले गुनासो पोखेका छन् । नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय बाध्य गरिन लागेको पर्यटन बोर्डको दाबी छ । पथप्रदर्शकसहित पदयात्रामा जाने पर्यटक तथा गाइड दुवैको बीमा हुने र टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुनेजस्ता समस्या नआउने बोर्डको अपेक्षा छ ।