• १३ साउन २०८१, आइतबार

गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने

blog

फाइल तस्विर ।

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन २९ गते । गल्याङमा चैत ३ र ४ गते प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सले आलु तथा कृषि प्रदर्शनी गर्ने भएको हो । 

चेम्बर कार्यालय गल्याङले आयोजना गरेको पत्रकार सम्मेलनमा आलु कृषक र अन्य कृषकहरूलाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गङ्गाप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेशको ६५ प्रतिशत बिउँ आलु उत्पादन हुने गल्याङ नगरपालिकाका कृषकहरूलाई प्रोत्साहन गर्नु हाम्रो मुख्य लक्ष्य रहेको बताउनुभयो । 

उहाँले कृषि क्षेत्रको विकास गरी आत्मनिर्भर र रोजगारी एवम् स्वरोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्नका लागि प्रदर्शनीको आयोजना गर्नुलाई आफ्नो दायित्व सम्झिएको बताउनुभयो । प्रदर्शनीमा बढी भन्दा बढी आन्तरिक तथा बाह्य दर्शक एवम् पर्यटक भित्र्याउने तथा दर्शकहरूलाई आकर्षित गर्न विभिन्न प्रदर्शनीहरू राखिएको श्रेष्ठले बताउनुभयो । 

प्रदर्शनीमा गल्याङमा नै उत्पादन गरिएको आलु, ताजा तरकारी, तरकारीको बिउँ, बेर्ना, धान, गहुँ, मकैको बिउँ एवं अदुवाको प्रदर्शनी तथा विक्री वितरण गरिने कृषि प्रदर्शनी संयोजक तथा गल्याङ चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष रुमलाल कँडेलले बताउनुभयो ।

प्रदर्शनीको अवधिभर निजी तथा सरकारी विद्यालयहरूबाट विभिन्न उत्कृष्ट नृत्यहरू प्रस्तुत गरिने उहाँले बताउनुभयो । प्रदर्शनीलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहनेछ । 

प्रदर्शनीको पहिलो दिन चैत तीन गते राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपाली तथा चैत चार गते राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुति रहने बताइएको छ । प्रदर्शनीमा सबै कृषिसँग सम्बन्धित २० वटा मुख्य स्टल तथा आवश्यकताको आधारमा थप स्टलहरू निर्माण गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदर्शनीमा १० लाखको व्यापारिक कारोबार,  ८० हजार बचत र १० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्यसमेत राखिएको छ ।