• १३ असोज २०८१, आइतबार

बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने

blog

बाँकेको खजुरास्थित कृषि अनुसन्धान केन्द्रभित्र लटरम्भ फुलेका आँपका रुख । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, फागुन २९ गते । 
बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसानहरू उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसानहरू उत्पादन बढ्नेमा आशावादी देखिएका छन् । एकाध आँप भएका बारी होस वा आँपको बगैँचा नै किन नहोस् यतिबेला सबैतिर आँपका रुखहरूमा फूलहरू फुलेका छन् ।

बाँकेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपको रुख लगाइएको छ । यसैगरी, व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा समेत आँपका फुलहरू फुलेर झकिझकाउ भएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले यस वर्ष आँपको सिजन राम्रो भएको बताउनुभयो ।

“आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ,” कार्यालय प्रमुख अहमदले भन्नुभयो, “यस वर्ष सबै तिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।”

बाँके लगायतका जिल्लामा चैत, वैशाख तथा जेठ महिनामा आउने हावाहुरीले आँप झारेर क्षति पुर्‍याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ ।

बाँकेमा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ । यसैगरी, माल्दा लगायतका अन्य आँपको रुख पनि लगाइएको छ । कृषि ज्ञान केन्द्रका अनुसार सबै जातका आँपको रूपमा फुलहरू फुलेका छन् ।

बाँके जिल्लाभर करिब तीनसय हेक्टर जमिनमा आँप लगाइएको अनुमान छ । जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ । बाँकेको सितापुर, भवानियापुर, डुडुवा लगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ ।