• ९ पुस २०८१, मङ्गलबार

कर्णालीमा स्ववियु चुनावको चहलपहल

blog

बुलबुले समाचारदाता

सुर्खेत, फागुन २९ गते । स्ववियु निर्वाचनको मिति नजिकिएसँगै चुनावकेन्द्रित गतिविधिमा विद्यार्थी सङ्गठन जुटेका छन्। उनीहरूले शिक्षा क्षेत्रको सुधार, भौतिक पूर्वाधार विकासजस्ता माग अघि सारेका छन्। विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा बेरोजगार शिक्षा अन्त्य गरी रोजगारमूलक शिक्षा सुधारलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्। 

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चैत ५ र मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ३ गते गर्ने निर्णय गरेको छ। निर्वाचन मिति नजिकिएसँगै विद्यार्थी सङ्गठनहरू निर्वाचन तयारीमा जुटेका हुन्। विद्यार्थी सङ्गठनका केन्द्रीय समितिदेखि क्याम्पस एकाइ समितिले चुनावकेन्द्रित गतिविधि बढाएका छन्।

शारदा नगरपालिकाको शिवजन बहुमुखी क्याम्पस सल्यानका नेविसङ्घ सभापतिका उम्मेदवार बुलन्दबाबु सेजुवालले निर्वाचनकेन्द्रित गतिविधि जारी रहेको जानकारी दिनुभयो। क्याम्पसको शैक्षिक सुधार आफ्नो पहिलो एजेन्डा रहेको उहाँको भनाइ छ। उहाँले लाइब्रेरी, ई–लाइब्रेरी क्याम्पसको मुख्य समस्या रहेको र तिनको समाधानका साथै गुणस्तर शिक्षा, प्राविधिक शिक्षा, विश्वव्यापी शिक्षा, रोजगारीमूलक शिक्षाको मुद्दा अघि सारेको बताउनुभयो।

नारायण बहुमुखी क्याम्पस दैलेखबाट अनेरास्ववियु र अखिल क्रान्तिकारीका साझा सभापतिका उम्मेदवार खम्बिरा बुढाले निर्वाचनको तयारीमा जुटेको बताउनुभयो। विद्यार्थीका हरेक माग सम्बोधन गर्ने उद्देश्यले साझा मुद्दा अघि सारेको उहाँको भनाइ छ। गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, विश्वव्यापी शिक्षा, रोजगारमूलक शिक्षा आजको आवश्यकता रहेको भन्दै उहाँले सोहीबमोजिम मुद्दा तय गरिएको बताउनुभयो। गुणस्तरीय शिक्षा, प्रभावकारी शिक्षण क्रियाकलाप, लाइब्रेरी, ई–लाइब्रेरी, शान्त कक्षाकोठा, शान्त वातावरण, खानेपानी, खेलकुद, रचनात्मक, सिर्जनशील, अतिरिक्त क्रियाकलाप, क्याम्पस  प्रशासन र विषयगत प्राध्यापकको परिपूर्तिका लागि केन्द्रीय क्याम्पससँग जोडदार माग गर्ने योजना उहाँको छ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको नारायण बहुमुखी क्याम्पसमा आगामी चैत ३ गते निर्वाचन हुँदै छ। त्यस्तै जनचेतना बहुमुखी क्याम्पस सान्नीत्रिवेणी कालीकोटका अनेरास्ववियुबाट सभापतिका उम्मेदवार धर्मबहादुर शाहीले निर्वाचनको तयारीमा लागेको बताउनुभयो। निर्वाचन मिति नजिकिएसँगै चुनावकेन्द्रित गतिविधिमा लागेको जानकारी उहाँले दिनुभयो। उहाँले भन्नुभयो, “स्ववियु निर्वाचन क्याम्पसमा हुने भएकाले क्याम्पसका समस्या समेट्छौँ।” अनिवार्य शिक्षा, व्यावहारिक तथा सीपमूलक शिक्षा हुनुपर्ने मागलाई अघि सारिएको उहाँ बताउनुहुन्छ। 

सरकारले दिने छात्रवृत्ति आदिवासी जनजाति, दलित तथा पिछडिएका क्षेत्र तथा वर्गका व्यक्तिले पाउनुपर्नेजस्ता विषयलाई पनि चुनावी मुद्दा बनाएको उहाँको भनाइ छ। उच्च शिक्षा अध्ययनका लागि अहिले पनि कालीकोटका विद्यार्थी सुर्खेत, काठमाण्डौँ जानुपर्ने बाध्यता छ। त्रिविअन्तर्गत रहेको जनचेतना बहुमुखी क्याम्पसमा चैत ५ गते स्ववियुको चुनाव तोकिएको छ। क्याम्पसका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्ति, पाठ्यक्रम परिमार्जनलगायतका मुख्य एजेन्डा अघि सारेको जानकारी उहाँले दिनुभयो।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस वीरेन्द्रनगर सुर्खेतबाट अनेरास्ववियुका सभापतिका उम्मेदवार मिलन बीसीले विद्यार्थीको हक अधिकारका विषयमा पहल गर्ने बताउनुभयो। अनेरास्ववियुले समयमा विद्यार्थीको भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशन पारदर्शी हुनुपर्ने उहाँको भनाइ छ। मध्यपश्चिम विश्वविद्यालयलाई अनुसन्धानात्मक बनाउन पहल गर्ने भन्दै उहाँले १० प्रतिशत छात्रवृत्तिलाई २० प्रतिशतमा पु-याउन पहल गरिने जनाउनुभयो।

सुर्खेत बहुमुखी क्याम्पसका अनेरास्ववियुुबाट सभापतिका उम्मेदवार अङ्कल सिजापतिले शैक्षिक एजेन्डासहित निर्वाचनमा जाने बताउनुभयो। बेरोजगार शिक्षा अन्त्य गरी रोजगारमूलक शिक्षा र त्रिवि सुधारलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि उहाँको भनाइ छ। चैत ५ गते हुने निर्वाचनमा शैक्षिक गुणस्तर सुधार, त्रिविको शैक्षिक क्यालेन्डर सुधार गर्ने, त्रिविका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्ति, विद्यालयको भौतिक संरचनालगायतका मुद्दा अघि सारिएको छ।