• २५ पुस २०८१, बिहिबार

‘सबै खेलमा सुखद नतिजाको अपेक्षा’

blog

फाइल तस्बिर ।

काठमाडौं, फागुन २४ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत सिरिजका सबै खेलमा सुखद नतिजा निकाल्ने अपेक्षा रहेको बताउनुभएको छ । 

नेपालले बिहीबारबाट लिगको अन्तिम चार खेल खेल्दैछ । सिरिजमा भ्रमणकारी टोलीद्वय संयुक्त अरब इमिरेट्स (युएई), पपुवा न्युगिनी (पीएनजी) र नेपालले सहभागिता जनाउँदै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने सिरिजमा नेपालले सबै खेलमा सुखद नतिजा निकाले विश्वकप छनोट हुनेछ । 

कप्तान रोहितकुमार पौडेलले सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने प्रतिबद्धता जनाउनुभयो । ‘‘पछिल्लो पटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र थप बलिङ र ब्याटिङ पक्ष सबै थाहा हुने भएकाले खेल्न सहज हुनेछ । घरेलु मैदान भएकाले पनि नेपाली टोलीका लागि थप सहज हुने आशा गरेका छौं । शीर्ष तीनमा अटाउनका लागि गरिएको योजना अनुसार शृङ्खलाका खेलहरु भइरहेको र अन्तिम शृङ्खलामा पनि अपेक्षा अनुसारको नतिजा आउने राम्रो खेल्नेछौं,’’ पौडेलले भन्नुभयो । 

कप्तान रोहितले युएई भ्रमणमा ब्याटिङ पक्षमा केही कठिन भएको तर कीर्तिपुर मैदानको अवस्थामा सबै खेलाडी अभ्यस्त भएकाले राम्रो खेल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुशल भुर्तेल चोटमुक्त हुँदै खेलमा फर्किने बताउनुभयो ।

यसैगरी प्रशिक्षक मोन्टी देशाई बिहीवार हुने चार खेलमा आफुहरु केन्द्रित रहेको र सबै खेल कठिन भएको बताउनुभयो । युएई र पीएनजी दुवै टोली बलियो  प्रतिद्वन्द्वी भएको र लिगको अन्तिम खेल पनि भएकाले सबै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेको बताउनुभयो । 

यस्तै युएईका खेलाडी भृत्य अरविन्द र पीएनजीका कप्तान अशद भालाले पनि नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुने बताउनुभयो ।