• २५ चैत २०८२, बुधबार

गुल्मीमा ५३.७२ प्रतिशतले गराए स्वास्थ्य बिमा

blog

स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मी। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, चैत २५ गते।
सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ। स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट यहाँका धेरैजसो नागरिकले सेवा लिएका छन्। गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो।

दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ८३६ जनसङ्ख्या रहेको छ। हालसम्म यहाँका एक लाख ३२ हजार ४३४ जनाले स्वास्थ्य बिमा गराउनुभएको छ। संयोजक घिमिरेका अनुसार ६४ हजार २५८ पुरुष र ६८ हजार १७६ महिलाले स्वास्थ्य बिमा गराउनुभएको छ। यस जिल्लाका ५३.७२ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ। सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो।

यस जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ। स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्क अनुसार यहाँ २५ हजार ५०३ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको हो। यस जिल्लाको मुसिकोट गाउँपालिकाका आठ हजार २९१, कालीगण्डकी गाउँपालिकाका छ हजार ८४४, सत्यवती गाउँपालिकाका १६ हजार २०२, चन्द्रकोट गाउँपालिकाका छ हजार ५७१, रुरुक्षेत्र गाउँपालिकाका १४ हजार ३५७ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ।

छत्रकोट गाउँपालिकाका १२ हजार ६६१, गुल्मीदरबार गाउँपालिकाका १० हजार ५५९, इस्मा गाउँपालिकाका सात हजार ९६७, धुर्कोट गाउँपालिकाका १० हजार ९१३, मदाने गाउँपालिकाका चार हजार ३० र मालिका गाउँपालिकाका आठ हजार ५३७ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ। साधारण २१ हजार ८३४ परिवारका एक लाख चार हजार ९२९ जना र महिला स्वास्थ्य स्वयंसेविका ८८१ परिवारका चार हजार ६२२ जनाले स्वास्थ्य बिमा गराउनुभएको छ। सरकारले ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी र जटिल खालको क्षयरोगीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको छ।

ज्येष्ठ नागरिक (७० वर्ष माथिका) १८ हजार ३०३ जना, एचआइभी संक्रमितका १६९ परिवारको ४८५ जना, कुष्ठरोगी ३ परिवारका १२ जना, ‘क’ वर्गका अपाङ्गता भएका ८०३ परिवारका चार हजार ४७ जना, जटिल खालको क्षयरोग लागेका ६ परिवारका २५ जना नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिनुभएको छ। स्वास्थ्य बिमा लागि जिल्लामा दुई जना कर्मचारी र ९४ जना दर्ता सहयोगी हुनुहुन्छ। जिल्लामा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउँदै आएका छन्।