• २५ पुस २०८१, बिहिबार

चैत ४ गतेदेखि रुपन्देहीमा तिलोत्तमा गोल्डकप, विजेताले ११ लाख पाउने

blog

रुपन्देही जिल्ला फुटबल सङ्घले बुधबार गरेको पत्रकार सम्मेलन ।

लक्ष्मण पौडेल

भैरहवा, फागुन २४ गते। आगामी चैत ४ गतेदेखि सुरु हुने २२ औं संस्करणको तिलोत्तमा गोल्डकपमा आठ टिम खेल्ने भएका छन्।

आयोजक रुपन्देही जिल्ला फुटबल सङ्घले बुधबार पत्रकार सम्मेलन गरेर चैत ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो। प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, मनाङ मस्र्याङ्दी, रुपन्देही ११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूर पश्चिम ११ ले प्रतिस्पर्धा गर्ने रुपन्देही फुटबल सङ्घका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो। 

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपियाँ, उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपियाँ पुरस्कार पाउने अध्यक्ष पुनले बताउनुभयो। यस्तै सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपियाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउनेछन्। 

यस्तै उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र प्रशिक्षक गरी पाँचवटा विधामा उत्कृष्ट खेलाडीले ३० हजारका दरले नगद पुरस्कार पाउने छन्। यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले ११ हजार १११ रुपियाँ पाउनेछन्।

प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपियाँ दिने एन्फाका केन्द्रीय उपाध्यक्ष एवं सङ्घका पूर्व अध्यक्ष दीर्घबहादुर केसीले बताउनुभयो। 

बुटवल उपमहानगरको आर्थिक सहयोगले प्रतियोगिता सञ्चालनमा ठूलो सहयोग मिलेको केसीले बताउनुभयो। २१ औं संस्करणको उपाधि विजेताले ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो।

२० औं संस्करणको विजेताले सात लाख ७७ हजार ७७७ रुपियाँ नगद पुरस्कार पाएको थियो। प्रतियोगिताको मुख्य प्रायोजकमा यशोदा फुड्स प्रालि र त्रिमूर्ति इण्डष्ट्रिज प्रालि रहेका छन्। यस्तै बुटवल उपमहानगरपालिका संरक्षक, सहयोगी संस्थामा प्रदेश खेलकुद परिषद् छ।

एक करोड बढी खर्च अनुमान गरिएको प्रतियोगिताका लागि छिमेकी पालिका, उद्योगी व्यसायीका सङ्घसंस्था, बैंक र स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीबाट सहयोग सङ्कलन गरिने जिल्ला फुटबल सङ्घका महासचिव हिमाल गौचनले बताउनुभयो। तत्कालीन बुटवल नगर पञ्चायतले २०३१ सालमा स्थापना गरेर २०३३ सालदेखि सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो।

बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल सङ्घले सञ्चालन गर्दै आएको छ। ३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन। 

त्यसपछि २०४३ सालदेखि  २०५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ०५६ सालमा फेरि रोकिएको थियो। ०५७ र ०५८ मा दुई वर्ष लगातार सञ्चालन भए पनि ०६४ सालसम्म सञ्चालन हुन सकेको थिएन। त्यसपछि ०६५ सालमा सञ्चालन भएपनि ०६६ मा रोकिएर फेरि ०६७ सालमा सञ्चालन भएको थियो।

०६८ देखि ०७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ०७१ सालमा सञ्चालन भए पनि पछिल्लो पटक ०७२ सालमा सञ्चालन हुन सकेन। त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको छ।