• ९ पुस २०८१, मङ्गलबार

उद्योग सञ्चालनमा पूर्वाधार अभाव

blog

बुलबुले समाचारदाता

सुर्खेत, फागुन २४ गते । कर्णाली प्रदेशमा ठूला उद्योग स्थापना र सञ्चालन हुन सकेका छैनन्। प्रदेशमा काम गर्ने वातावरण र आवश्यक लगानी गर्न नसक्दा उद्योग अलपत्र पर्ने गरेका हुन्। 

ठूला लगानी भएका उद्योग सञ्चालन गर्न प्रदेशले पनि खासै चासो दिन सकेको छैन। ठूला लगानीका आयोजना सञ्चालनका गर्नका लागि प्रदेशले ठोस योजना बनाउन नसक्दा योजना अलपत्र पर्ने गरेका छन्। निजी लगानीकर्ताले समेत कर्णालीमा काम गर्ने वातावरण नहुँदा चासो देखाएका छैनन्। भौगोलिक विकटता र पूर्वाधारको अभाव हुँदा समस्या हुने गरेको उनीहरूले बताउने गरेका छन्। 

ठूला बाह्य लगानीका उद्योग स्थापना गर्नका लागि प्रदेश सरकारले उचित वातावरण बनाउन नसकेको प्रदेश योजना आयोगका पूर्वसदस्य डा. दीपेन्द्र रोकायाले बताउनुभयो। उहाँका अनुसार प्रदेश सरकारले काम गर्ने निजी कम्पनीलाई समेत दिशा निर्दिष्ट गर्न सकेको छैन। बाह्य लगानी तथा ठूला लगानीका काम हुन नसक्नुमा प्रदेश सरकारको कमजोरी रहेको उहाँको भनाइ छ। प्रदेशले बाह्य लगानी भित्र्याउने खालको वातावरण तय गर्न सक्नुपर्ने उहाँ बताउनुहुन्छ।

सुर्खेतको पश्चिमा बन्दै गरेको सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनमा समस्या देखिएको छ। आवश्यक पूर्वाधारको व्यवस्था नहुँदा काम गर्न समस्या भएको बताइएको हो। पश्चिम चौकुने गाउँपालिका–९ मा उद्योग सञ्चालन भइरहेको छ। बाटो, पानी र विद्युत् नहुँदा काम अघि बढाउन समस्या भइरहेको सूर्यतारा इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले बताउनुभयो। उहाँका अनुसार उद्योगको काममा अहिले सिमाना छुट्याउने  र पर्खाल निर्माणको काम भइरहेको छ। बाटो, पानी र विद्युत् नहुँदा काम अघि बढाउन समस्या भइरहेको उहाँको भनाइ छ। प्रदेशले औद्योगिक वातावरण बनाउन आवश्यक छ। उद्योग स्थापनाका लागि २२ मेगावाट विद्युत् आवश्यक पर्छ। आवश्यक विद्युत् पुगेको छैन। नेपाल विद्युत् प्राधिकरणले कैलालीको चिसापानी हुँदै सुर्खेतको चौकुनेसम्म विद्युत् विस्तारको काम गरिरहेको छ।

उद्योग स्थापनका लागि प्रदेश सरकारले समन्वयकारी भूमिकाको काम गरिरहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले बताउनुभयो। 

उद्योग स्थापनाका लागि प्रदेश सरकारले बाटो, डिप बोरिङ, विद्युत् विस्तारका काममा पहल गरिरहेको जानकारी उहाँले दिनुभयो। उद्योग स्थापनाका लागि प्रदेश सरकारले बाटो, पानी र विद्युत् पु-याउन पहल गरिरहेको प्रदेश सभा सदस्य बिन्दमान विष्टले बताउनुभयो। उहाँले ठूला खालका उद्योग स्थापनाको सहयोगका लागि बाटो निर्माण, पानीको व्यवस्थापनका लागि डिप बोरिङ निर्माणलगायतका लागि बजेट प्रदेशले छुट्याएको जनाउनुभयो।