• १३ असोज २०८१, आइतबार

सुनसान छ चोभार सुख्खा बन्दरगाह

blog

चोभार सुख्खा बन्दरगाह । तस्बिरः कविन अधिकारी

एक वर्षमा १०९ कन्टेनरको मात्र भन्सार जाँचपास

काठमाडौँ, फागुन २३ गते । चोभार सुख्खा बन्दरगाह सञ्चालनको एक वर्ष पुगे पनि गति लिन सकेको छैन ।  भन्सार जाँच पासका काम नहुँदा बन्दरगाह सुनसान छ । 

२०७८ चैत्त २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको औपचारिक उद्घाटन गर्नुभएको थियो । उद्घाटनको एक वर्ष पुग्न लाग्दा आयात र निर्यातका गरी १०९ वटा मात्र कन्टेनर भन्सार जाँच पासका लागि आएको देखिएको छ । 

जसमध्ये १०५ वटा आयातका कन्टेनर र ४ वटा निर्यातका कन्टेनरहरू भन्सार जाँच पासका लागि आएको चोभार सुख्खा बन्दरगाहका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार एलसी जारी गरिएका वस्तु बोकेका कन्टेनरहरू मात्र भन्सार जाँच पासका लागि आउन पाउने व्यवस्था गरिएकाले उल्लेख्य मात्रामा कन्टेनरहरू जाँच पासका लागि नआएका हुन् । उहाँले भन्नुभयो,“एलसी जारी गरिएका बस्तु बोकेका कन्टेनरहरू मात्र चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि आउन दिन निर्णय भएको छ । मुख्यतया यही कारणले धेरे कन्टेनरहरू नआएका छन् ।” यस्तै काठमाडौँ तराई मधेस जोड्ने द्रुतमार्ग बन्न ढिलाइ भएका कारण पनि अपेक्षा गरेअनुसार कन्टेनरहरू नआएको उहाँले बताउनुभयो । 

चोभार सुख्खा बन्दरगाहबाट निर्यात भएका बस्तुहरूमा गुन्द्रुक, सिन्की, तितौरा र सिस्नुको धुलो रहेको छ । 

भारतबाट नेपालको सीमा भन्सार कार्यालयसम्म सामान ल्याउने ट्रेलर त्यहीसम्म मात्र आएर फर्कने गरेका कारण पनि सामानलाई दोहोरो खर्च गरेर काठमाडौँ ल्याउन व्यावसायीहरु तयार छैनन् ।  

चोभार सुख्खा बन्दरगाह निर्माण गर्दा फास्ट ट्र्याकलाई पनि आधार मानिएको थियो । तर बन्दरगाह बनिसक्दा पनि फास्ट ट्र्याक कहिले सम्पन्न हुन्छ भन्ने छैन । त्यसैले पनि भन्सार जाँच पासका लागि आउने कन्टेनरहरूको सङ्ख्यामा कमी आएको उहाँले बताउनुभयो । 

 भन्सारसम्बन्धी रहेका विद्यमान कानुनी जटिलताका कारण पनि व्यवसायीले भन्सार जाँच पासका लागि चोभार सुख्खा बन्दरगाहमा कन्टेनर ल्याउन व्यवसायीले नमानेका हुन् । चोभारमा भन्सार जाँच पासका लागि आउने आयातित वस्तु बोकेका कन्टेनरहरू अधिकांश वीरगन्ज भन्सार कार्यालयमा आएका कन्टेनरहरू नै रहेको उहाँले बताउनुभयो । दक्षिणी नाका काँकडभिट्टा, वीरगन्ज र भैरहवा भन्सार कार्यालयबाट चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि कन्टेनर आउने गरेका छन्  । 

नेपाल इन्टर मोडल यातायात व्यवस्था समितिले बन्दरगाहको केही भागलाई पार्किङको लागि व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पत्र पठाए पनि यसको निर्णय नभएको

दक्षिणी नाकाबाट आउने कन्टेनरहरू बाटोको दुरवस्था, दोहोरो खर्च तथा धेरै एजेन्ट लाग्ने भएका कारण पनि व्यवसायीले बन्दरगाहप्रति रुचि नराखेको उहाँको भनाइ छ । उत्तरी नाका चीनबाट आयात हुने कन्टेनरहरू भने चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नआएको उहाँको भनाइ छ । 

गुन्द्रुकदेखि सिस्नुको धुलोसम्म निर्यात 

नेपालबाट निर्यात भएका सामग्रीमा गुन्द्रुक देखि सिस्नुको धुलोसम्म छ । चोभार सुख्खा बन्दरगाहबाट निर्यात भएका बस्तुहरूमा गुन्द्रुक, सिन्की, तितौरा र सिस्नुको धुलो रहेको छ । यी सामानहरू अस्ट्रेलिया निर्यात गरिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार वटा कन्टेनरमध्ये दुई वटा कन्टेनरमा यी वस्तुहरू निर्यात भएको चोभार सुख्खा बन्दरगाह भन्सार प्रमुख भट्टराई ले बताउनुभयो ।

यस्तै,एउटा कन्टेनरमा ऊनजन्य हेन्डिक्राफ्ट डेनमार्क निर्यात भएको छ । एउटा नेपालका लागि श्रीलङ्काका राजदूत काठमाडौँबाट स्विडेन सरुवा हुँदा लगिएका सामानहरू रहेका थिए । 

चोभार सुख्खा बन्दरगाहलाई फरक मोडलमा चलाउने तयारी

चोभार सुख्खा बन्दरगाह पूर्ण रूपमा सञ्चालनमा नआएपछि बन्दरगाहलाई ठूला गाडीहरू पार्किङको लागि प्रयोगमा ल्याउने गरी छलफल भएको छ । तर अहिलेसम्म कुनै निर्णय भने नभएको भन्सार विभागका सूचना अधिकारी पूर्ण विक्रम खड्काले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “चोभार सुख्खा बन्दरगाह पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । त्यसैले यसलाई ठुला सवारीहरू पार्किङ स्थल बनाउनका लागि छलफल भएको छ । तर निर्णय भएको छैन ।” नेपाल इन्टर मोडल यातायात व्यवस्था समितिले बन्दरगाहको केही भागलाई पार्किङको लागि व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पत्र पठाए पनि यसको निर्णय भने नभएको उहाँको भनाइ छ । अहिले चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन नभएको र केही आम्दानी पनि हुने भएकाले पार्किङको मोडालिटी पनि अघि सारिएको उहाँको भनाइ छ । 

चोभार सुख्खा बन्दरगाह विश्व बैङ्कको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको हो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।