• ८ मंसिर २०८१, शनिबार

आयुर्वेदमा नयाँ उत्साह

blog

प्राकृतिक तवरले मानव उपचारमा अति महत्त्वपूर्ण मानिने आयुर्वेद औषधि उपचार पद्धतिको ख्याति संसारमा दिन प्रतिदिन अभिवृद्धि हुँदै गएको पाइन्छ । विशेषगरी योग, ध्यान, जडीबुटी, आहार–विहारलाई केन्द्रबिन्दुमा राखिने आयुर्वेदीय उपचार पद्धतिलाई प्रकृतिसँग निकै निकट उपचार पद्धतिका रूपमा समेत लिइन्छ । परापूर्वकालदेखि नै नेपाली समाजमा आयुर्वेद उपचार परम्पराको निकै महत्त्वपूर्ण स्थान रहेको यथार्थ छ । आधुनिक चिकित्सा प्रणाली भित्रिनुअघि नेपाली समाजको स्वास्थ्य स्थिति नै यसै परम्परामा पूर्ण रूपमा निर्भर रहेकै कारण पनि यो नेपालीका निमित्त निकै महत्त्वपूर्ण उपचार विधि हो । नेपाली समाजको अभिन्न अङ्गका रूपमा आयुर्वेदीय उपचार पद्धतिको विकास, विस्तार, प्रश्रय तथा नवीन खोज आजको आवश्यकता हो तर यस क्षेत्रमा सोचेजसरी अझै काम हुन सकेको छैन ।

मुलुकले बर्सेनि अर्बौं रुपियाँ आधुनिक चिकित्सा तथा त्यसको औषधिमा खर्च गर्ने गर्छ । यो स्थितिमा स्वदेशमा नै उत्पादन, विकासको सम्भावना बोकेको आयुर्वेदलाई प्रश्रय दिनु हरेक दृष्टिकोटबाट श्रेयस्कर देखिन्छ । शुक्रबारदेखि राजधानीमा सुरु भएको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही तथ्यमा जोड दिनुभएको छ । मल्लकालीन समयदेखि नै नेपालमा आयुर्वेदीय औषधि उत्पादनका निम्ति व्यवस्थित उद्योगको स्थापना भइसकेको ऐतिहासिक तथ्य हामीसँग छन् । तीन सय वर्ष पुरानो मल्लकालीन आयुर्वेद वैद्यखाना पछि सिंहदरबार वैद्यखानाका रूपमा परिचित योजनालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र प्रतिवद्धता सराहनीय छ । यसले नयाँ आशा र उत्साह जगाएको छ । यसबाट स्वदेशी श्रम, साधन, स्रोत तथा औपधि आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्न सक्नेछ ।

प्राकृतिक रूपमा नै नेपाल जडीबुटीको खानी हो । आयुर्वेद औषधिका निमित्त आवश्यक औषधिजन्य जडीबुटीलाई औद्योगीकरण गर्ने कार्यमा ढिलाइ भइसकेको अवस्था छ । विदेशमा नेपाली जडीबुटी प्रयोग गरेर औषधि विज्ञानमा फड्को मारेका थुप्रै दृष्टान्त छन् । यार्सागुम्बा, लौठसल्ला, अमला, हर्रोबर्रो, शिलाजितजस्ता यस्ता थुप्रै जडीबुटीको नेपाल खानी नै हो । तिनको सही सदुपयोग गर्न सकिएमा नेपालले पनि औषधि विज्ञानका क्षेत्रमा ठूलै फड्को मार्ने तथ्य निर्विकल्प हो । औषधिजन्य जडीबुटीको औद्योगीकरण सरकारको प्राथमिकतामा रहेको अभिव्यक्ति प्रधानमन्त्रीबाट सार्वजनिक हुनुले यसलाई वास्तवमै आयुर्वेदका दृष्टिकोणबाट महत्त्वपूर्ण मान्न सकिन्छ । यसको कार्यान्वयन पक्षका निमित्त सबैको इमानदार प्रयत्न तथा अग्रसरता अति आवश्यक छ । 

आयुर्वेद उपचार पद्धति सहज, सरल तथा मितव्ययी हो । आधुनिक उपचार पद्धतिका नाममा धेरैले घरजग्गा नै बिक्री गर्नु परेका दृष्टान्त पनि थुप्रै पाइन्छन् । यस अवस्थामा मुलुकमा भएका आयुर्वेद अस्पतालहरूका स्तरोन्नति तथा गुणस्तर अभिवृद्धि निकै महत्त्वपूर्ण कदम हुन् । प्रधानमन्त्रीबाट सातवटै प्रदेशमा सय शøयाका आयुर्वेद अस्पताल सुरु गरिने भनाइले समग्रमा नेपालको स्वास्थ्य स्तरमा निकै टेवा पुग्नेछ । यसबाट नेपालको स्वास्थ्य पर्यटनमा अभिवृद्धि हुनुका साथै आमजनताले घरजग्गा बेचेर आधुनिक चिकित्सा सेवा लिनुपर्ने अवस्थाबाट समेत मुक्ति पाउन सक्नेछन् ।

आयुर्वेद उपचार पद्धतिको विकास तथा विस्तारका कारण मुलुकमा विभिन्न आयामबाट फाइदा पुग्नेमा दुई मत पाइँदैन । पहिलो, हिमाली जडीबुटीको सदुपयोग हुनेछ भने दोस्रो जनताको सहज तथा मितव्ययी उपचार पद्धतिको संस्थागत विकास हुनेछ । तेस्रो स्वास्थ्य पर्यटनमा अभिवृद्धिको सम्भावना छ । चौथो रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पर्नेछ । पाँचौंँ औषधिलगायतका पक्षमा आयात प्रतिस्थापन एवं वैदेशिक मुद्राको बचत हुनेछ । छैटौंँ आयुर्वेदीय चिकित्सामा अनुसन्धान तथा विभिन्न प्रयोगको सम्भावना हुनेछ । यीलगायत यस्ता धेरै पक्ष छन्, जसबाट आयुर्वेदको विकाससँगै नेपालले प्रत्यक्ष रूपमा फाइदा लिन सक्छ । 

नेपालको हिमाली तथा पहाडी क्षेत्रमा प्राकृतिक जडीबुटीको व्यावसायिक खेती सम्भव छ । हालसम्म मुलुकले व्यावसायिक खेती त के प्राकृतिक उपहारको समेत उचित सदुपयोग  गर्न सकेको छैन । यसको मुख्य कारण आयुर्वेद उपचार पद्धति ओझेलमा पर्नु नै हो । यो उपचार पद्धतिलाई मूलधारको स्वास्थ्य उपचार प्रणालीका रूपमा विकसित तथा विस्तारित गर्न सकिए सरकारले बर्सेनि स्वास्थ्य क्षेत्रमा गरिरहेको आर्थिक भारसमेत न्यून हुनेछ । आयुर्वेदको विकास नेपालको स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित भएकाले पनि यसलाई बेवास्ता गर्ने गल्ती कतैबाट गरिनु हुँदैन । यो क्षेत्रको विकासको निम्ति नीतिगत, संस्थागत र संरचनागत विकास वाञ्छनीय छ ।