नेपालमा वायुप्रदूषणले सीमा नाघेको छ । लामो समयसम्म पर्याप्त वर्षा नभएकाले सङ्घीय राजधानी काठमाडौँलगायत सहरी क्षेत्रमा वायुप्रदूषणले सीमा नाघेको हो । यसले मानव स्वास्थ्यलाई प्रतिकूल असर पारेको छ । वायुप्रदूषण बढ्दा जनजीवन प्रभावित बन्न पुगेको छ । सुक्खा र गर्मीसँगै डढेलो र आगलागीले वायुप्रदूषण झन् बढेको छ । नाक, आँखा पिरो हुने हावा छ । रोगी, वृद्ध र बालबालिकालाई श्वास फेर्न पनि गाह्रो हुन थालेको छ । घाँटीबाट कालो खकार आउँछ । कामका लागि एक ठाउँबाट अर्को ठाउँमा जानेलाई आँखा रातो हुने, नाक–घाँटी पोल्ने, ओठ सुक्ने अनि श्वास फेर्न गाह्रो हुने समस्या देखिन थालेको छ । कडा वायुप्रदूषणका कारण बाहिर निस्कन नसकिने गरी जनजीवनमा असर पर्न थालेपछि आमनागरिकमा चिन्ता थपिएको छ । यतिखेर काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा धुलो र धुवाँसहितको तुवाँलोले वातावरण प्रदूषित बनेको छ । वायु गुणस्तर अनुगमन प्रणालीले काठमाडौँका विभिन्न स्थानमा अति हानिकारक वायुको गुणस्तर सूचक (एक्युआई) दुई सयभन्दा माथि देखाएको छ । एक्युआई ०–५० सम्मलाई राम्रो वायु मानिन्छ । ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ माथि खतरनाक तह पुगेको सङ्केत मानिन्छ । नेपालको वायुमा अहिले कार्बनमोनोअक्साइड, ओजोन, नाइट्रोजन, सल्फरडायोअक्साइड जस्ता अस्वस्थकर ग्यास तथा धुलोका ठुलासाना कणको मात्रा उच्च रहेको छ । यसैले वायुप्रदूषण अत्यधिक बढेको हो ।
वातावरण विभागले वायुप्रदूषणको असर कडा भएकाले सावधानी अपनाउन आमनागरिक र सरोकारवाला निकायलाई अपिल गरेको छ । तातो सुक्खा मौसममा डढेलो उच्च हुँदा यतिखेरको वायु मानव स्वास्थ्य प्रतिकूल छ । क्रस बोर्डर धुलोधुवाँको प्रदूषणका रूपमा भारतबाट डढेलोको धुवाँधुलो नेपाल आइरहेको छ । यहाँका वन क्षेत्रमा पनि गत सातादेखि डढेलो उच्च बन्दै छ; जसले वायु बिगारेको छ । तापक्रम उच्च हुँदा भारतको प्रदूषण माथिल्लो वायुमण्डलबाट नेपाल भित्रिरहेको छ । वायुप्रदूषणका कारण छालामा एलर्जी हुने, दम र श्वासप्रश्वासका समस्या आउने र पुराना बिरामीलाई झन् समस्या पर्ने, विद्यालयमा पढ्न गएका बालबालिकाको स्वास्थ्यमा समस्या बढ्ने लक्षण उच्च वायुप्रदूषणले बढाएको छ । वायुप्रदूषणका सहायक मानिने उद्योग र सवारीसाधनको धुवाँ प्रदूषणको परीक्षण अनिवार्य गराउन विभागले अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, विपत् प्राधिकरणलगायतका निकायले एड्भाइजरी जारी गरेर स्वास्थ्य सचेतना र सतर्कता अपनाउँदै नागरिकलाई सहजीकरण गर्नुपर्नेमा विभागले जोड दिएको छ । वायुप्रदूषणले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने खतरा बढेको छ । अहिलेको वायुप्रदूषण कडा मानिएको छ । त्यसैले सकेसम्म बिहान र बेलुका बाहिर हिँडडुल नगर्ने, दिउँसो अत्यावश्यक काममा हिँड्दा मास्क लगाएर हिँड्नुपर्ने सुझाव दिइएको छ । वायुप्रदूषणले दीर्घरोग निम्त्याउने र पुराना रोगीलाई बढी घातक हुन्छ । मानिसको बिर्सने क्षमता बढाउने रोग, मधुमेहसँगै नपुंसकता र बाँझोपना निम्त्याउने पछिल्लो कारक तत्वका रूपमा वायुप्रदूषण रहेको अन्तर्राष्ट्रिय अध्ययनले पुष्टि गरेको छ । यतिखेर घरमै बस्नेले पनि झोल तथा पानी प्रशस्त पिउने र शीतलमा बस्ने, विद्यालयमा बाहिर खुला चौरमा खेलकुद नगराउने, मास्क लगाउन लगाउने र विद्यार्थीलाई भित्रै खेलिने खेलकुदमा सरिक गराउनुपर्ने भएको छ ।
नेपालको वायुप्रदूषण बढाउने उच्च कारकका रूपमा डढेलो रहेको छ । गत एक सातामा मात्र २७२ स्थानमा डढेलो लागेको छ । डढेलोमा परेर दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन् । आगलागीबाट ३० वटा घर जलेका छन् । एक सातामा चार करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको छ । गत छ महिनामा आगलागी र वनडढेलोका दुई हजार ५०६ वटा घटना भएका छन् । यी घटनामा ४९ जनाको मृत्यु हुनुका साथै ३३० जना घाइते भएका छन् । कुल ४१७ वटा भौतिक संरचना क्षतिग्रस्त बनेका छन् भने एक हजार ३७ वटा पशुचौपाया मरेका छन् । यसबाट ९७ करोड ४० लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको छ । अतः तत्काल वर्षा हुने सम्भावना नभएकाले सुक्खा खडेरीसँगै डढेलोको चाप बढ्ने सम्भावना देखिएको छ । अहिले तापक्रम थप बढिरहेको छ । तराई भेगमा ४० डिग्रीमाथि तापक्रम पुग्ने देखिएकाले सावधानी अपनाउन जरुरी छ । धुवाँधुलोसहितको प्रदूषण नहट्नुमा वर्षा नहुनु र हावा राम्ररी नचल्नु प्रमुख कारण हो ।