• २० चैत २०८१, बुधबार

स्ववियु निर्वाचनको सन्देश

blog

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमध्ये अधिकांशमा शान्तिपूर्ण रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भइसकेको छ । केही क्याम्पसमा चुनाव जारी छ भने केहीमा एक/दुई दिनमै हुँदै छ । निर्वाचन सम्पन्न भइसकेका क्याम्पसमा सार्वजनिक भएको नतिजाले स्ववियु कार्यसमितिमा नयाँ अनुहार देखाए पनि सन्देश भने पुरानै दिएको छ । अर्थात् बर्सौदेखि क्रियाशील पुरानै राजनीतिक दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सम्बद्ध विद्यार्थी सङ्गठन नै आमविद्यार्थीको रोजाइमा परेका छन् । स्वाभाविक रूपमा विद्यार्थी सङ्गठनलाई राजनीतिक दलको नर्सरी मानिन्छ । अहिलेका राजनीतिक दलको मूल नेतृत्वमा रहेका पनि धेरै जसो विद्यार्थी सङ्गठनको राजनीतिबाटै उदाएका छन् । पछिल्लो स्ववियुको चुनावी नतिजाले पुरानै विद्यार्थी सङ्गठन अनुमोदन भएको प्रस्ट पारेको छ । यसको अर्थ हो, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका आड, भरोसा पुरानै दलनिकट विद्यार्थी सङ्गठनसँग मात्रै छ । विद्यार्थीका हक अधिकार रक्षाका लागि लड्ने तागत परम्परागत दलको मार्गदर्शन र विचारबाट प्रशिक्षित विद्यार्थी सङ्गठनसँग मात्रै छ भन्ने सन्देश पनि यो नतिजाले दिएको छ । 

स्ववियु निर्वाचन भएका अधिकांश क्याम्पसमा नयाँ मानिएका राजनीतिक दलका विद्यार्थी सङ्गठनले उम्मेदवार नै उठाएनन् । उनीहरूले उम्मेदवार नउठाएको मात्रै होइन, उम्मेदवार उठाउने इच्छा भए पनि त्यसका लागि सम्भावित पात्र नै फेला पार्न सकेनन् । नयाँ विद्यार्थी सङ्गठनका नाममा केही क्याम्पसमा सङ्गठन दर्ता गरिएको भए पनि उनीहरूले चुनावी प्रतिस्पर्धामा भाग लिन नसकेको दृष्टान्तले यस घटनालाई पुष्टि गरेको छ । यो अवस्थाले के देखाउँछ भने पुराना दललाई चुनौती दिन अरू कुनै दल आउन सकेनन् । मुलुकको शासनव्यवस्था र परम्परालाई धान्ने जिम्मेवारी पुरानै दलको काँधमा रहेको छ भन्ने कोणबाट पनि यसलाई अथ्र्याउन सकिन्छ ।

खासमा स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीका हक अधिकार संरक्षणका लागि दबाब दिने उद्देश्यले गठन गरिएको निकाय हो तर विभिन्न समय र कालखण्डमा यस्ता सङ्गठनको भूमिका ठुला ठुला राजनीतिक परिवर्तन गर्न तथा प्रजातन्त्र, लोकतन्त्र एवं गणतन्त्र स्थापनाका क्रममा पनि प्रभावकारी देखिएको छ । पञ्चायतकालमा दलहरूमाथि प्रतिबन्ध थियो । उनीहरूले खुला रूपमा राजनीतिक गतिविधि गर्न पाउने अवस्था थिएन । त्यसैले विद्यार्थी सङ्गठनहरूको मुख्य भूमिका एकदलीय पञ्चायती व्यवस्थाविरुद्ध गतिविधि गर्नमा केन्द्रित थियो । विभिन्न क्याम्पसमा विद्यार्थी सङ्गठनमार्फत नै विभिन्न राजनीतिक गतिविधि हुन्थ्यो । विद्यार्थी आन्दोलनमार्फत राजनीतिक विचार आमजनतासमक्ष पु¥याइन्थ्यो । 

मुलुकमा हरेक आन्दोलन चाहे त्यो निरङ्कुश राणा शासनविरुद्ध आन्दोलन होस् वा ३० बर्से पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन होस् । विद्यार्थी सङ्गठनको अगुवाइमा भएका आन्दोलनले सफलता प्राप्त गरेका छन् । पञ्चायती व्यवस्था अन्त्य भई २०४६ सालमा भएको प्रजातन्त्र स्थापना वा २०६२/०६३ मा  राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउनुमा विद्यार्थी सङ्गठनको भूमिका निकै प्रभावकारी थियो । जब जब निरङ्कुशतन्त्रले टाउको उठाउन खोज्यो तब तब विद्यार्थी सङ्गठनको सक्रियता र भूमिका देखिएको छ । मुलुकमा भएका हरेक आन्दोलनको अग्रपङ्क्तिमा विद्यार्थी हुन्थे । विद्यार्थी आन्दोलनकै बलमा मुलुकमा हरेक परिवर्तन सम्भव भएको हो । यस अर्थमा विद्यार्थी सङ्गठनको सशक्त भूमिका रहने स्ववियुले परिवर्तनको संवाहक बन्दै आएको छ ।

पछिल्लो समय मुलुकमा राजतन्त्रवादी कि गणतन्त्रवादी भनेर दुई ध्रुवीय बहस यदाकदा हुने गरेको छ तर स्ववियु निर्वाचनको नतिजाले समेत राजतन्त्रवादीको बहसलाई तत्कालका लागि निरर्थक तुल्याइदिएको छ । मुलुकको जनमत कता छ भनेर मापन गर्ने निर्वाचन सङ्घीय र स्थानीय तहपछि सम्भवतः स्ववियु नै हो । साथै बेला बेलामा हुने विभिन्न पेसागत सङ्गठनको निर्वाचनको परिणामले पनि गणतन्त्र पक्षधर थप मजबुत भएको देखिएको छ । विधिवत् रूपमा अन्त्य भइसकेको राजतन्त्रका लागि मुलुकमा अब ठाउँ छैन भन्ने सन्देश यी नतिजाले दिएका छन् । स्ववियु मात्रै होइन, मुलुकको शासनव्यवस्थामा देखिएका कमजोरीलाई सुधार्न सकिन्छ तर तत्काल नयाँ व्यवस्थामा जान हतार गर्नुहुन्न भन्ने मत कम्तीमा यी निर्वाचनबाट प्रकट भएका छन् । स्ववियु निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेतर्फसमेत भूमिका खेलेको छ । स्ववियु निर्वाचनमा गणतन्त्र पक्षधरले ल्याएको परिणाम उत्साहप्रद छ । यसले सबै खाले गणतन्त्रविरोधी तत्वलाई गतिलो जवाफ दिएको छ । गणतन्त्रको विकल्प उन्नत र सुदृढ गणतन्त्र हो भन्ने स्पष्ट सन्देश पनि स्ववियु निर्वाचनमार्फत देशले पाएको छ ।