• १९ चैत २०८१, मङ्गलबार

अराजकताविरुद्ध खबरदारी

blog

मुलुकको सङ्घीय राजधानी काठमाडौँमा शुक्रबार दुई फरक फरक प्रदर्शन भए । समाजवादी मोर्चाले प्रतिगामी चलखेलविरुद्ध गणतन्त्रका पक्षमा शान्तिपूर्ण र्‍याली र आमसभा गर्‍यो । भृकृटीमण्डपमा आयोजित आमसभा शान्त र सौम्य रह्यो । गणतन्त्रविरोधी पूर्वराजावादी समूहले तीनकुनेमा आयोजना गरेको प्रदर्शन चरम अराजक र हिंसात्मक बन्दा दुई जनाको मृत्यु हुनुका साथै ठुलो भौतिक क्षति भयो । प्रदर्शनकारीको अराजक जत्था आगजनी, तोडफोड र लुटपाटमा उत्रियो । अराजक स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गर्दै सेना परिचालन गरेपछि थप क्षति हुन पाएन । प्रदर्शनकारीले गरेको आगजनीमा परी एभिन्युज टेलिभिजनका क्यामेरामेन सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भयो । अराजक र उत्तेजित भिडले निजी तथा सार्वजनिक घर, पार्टी कार्यालय, सवारीसाधनमा आगजनी गर्नुका साथै पसलमा लुटपाट गरे । पूर्वराजावादी समूहले कार्यक्रम शान्तिपूर्ण हुन्छ भनेको थियो तर भएन । उत्तेजित भिड अशान्त र अराजक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गर्‍यो । प्रदर्शनकारी अराजक बनी निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनीसँगै लुटपाटमा उत्रिएपछि अवस्था सामान्य बनाउन स्थानीय प्रशासनले आसपासका क्षेत्रमा शुक्रबार अपराह्न ४ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो । 

गृह मन्त्रालयले पूर्वराजावादी समूहले तीनकुनेमा गरेको प्रदर्शनलाई हिंसात्मक अराजकताको पराकाष्ठा भनेको छ । मन्त्रालयले शान्तिपूर्ण प्रदर्शनका नाममा गरिएको आगजनी तोडफोड र लुटपाटका घटना सभ्य मुलुकका लागि सुहाउने विषय नभएको जनाएको छ । यो राजनीतिक र वैचारिक आन्दोलन नभई हिंसात्मक प्रदर्शन भएको र यसमा संलग्न जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने गृह मन्त्रालयले जनाएको छ । लोकतान्त्रिक समाजमा आफ्ना विचार राख्न पाउने स्वतन्त्रता हरेक व्यक्ति र समूहलाई हुन्छ । पूर्वराजावादी समूहले यसको दुरुपयोग गरेकाले उसका आगामी गतिविधिमाथि सरकारले कडा निगरानी राख्ने र घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने स्पष्टोक्ति सरकारको छ । परिस्थिति अराजक बनाउन पूर्वराजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं मुख्य जिम्मेवार रहेको ठहर गरिएको छ । अराजक आन्दोलनका कारण दुई जनाको मृत्युदेखि सञ्चारगृह तथा राजनीतिक दलका पार्टी कार्यालय तोडफोड, औषधी कारखाना र व्यक्तिको घरमा आगजनी तथा व्यापारिक भवनमा दिनदहाडै लुटपाट भएको घटना क्षमायोग्य छैन । यस्तो गतिविधि गर्नेविरुद्ध कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनु पर्छ । 

प्रहरीले प्रदर्शन भड्काएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ । प्रदर्शनका मुख्य कमान्डर प्रसाईं फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभियानका संयोजक बनाइएका नवराज सुवेदीलाई घरमै नियन्त्रणमा राखेको छ । पूर्वराजावादी समूहले गरेको तोडफोड आगजनी तथा लुटपाटका घटनाबारे सरकारले छानबिन गर्ने निर्णय भएको छ । शुक्रबार साँझ बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले हिंसात्मक तथा अराजक गतिविधिप्रति भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस्तो घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकले अराजक र हिंसात्मक घटनामा सहभागी नहुन पनि सर्वसाधारणलाई अपिल गरेको छ । पूर्वराजावादी समूहको यो हिंसात्मक गतिविधिलाई कसैले पनि राम्रो मानेका छैनन् । मुलुकमा हिंसा भड्काउने र शान्ति खलबलाउने यस्ताखाले गतिविधिलाई छुट दिन नहुने भन्दै समाजको सबै क्षेत्रबाट घोर निन्दा र भत्र्सना गरिएको छ । यस्तो कार्य गर्न उक्साउने, जनताले रगत पसिना बगाएर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बदनाम गराउने, मुलुकलाई अशान्त बनाई आफ्नो अभीष्ट पूरा गर्न चाहने पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनै पर्छ ।

मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्तो लोकप्रिय शासन व्यवस्थाको अभ्यास गरिरहँदा भएका केही कमीकमजोरी हटाउँदै जनस्तरमा देखिएका असन्तुष्टलाई सम्बोधन गर्नु पर्छ । नागरिकका लागि योभन्दा उत्तम व्यवस्था अर्को छैन । संविधान सभाबाट जनताले बनाएको नयाँ संविधानले सबैलाई अटाउने ठाउँ दिएको छ । सबैखाले समस्याको समाधान यही संविधानभित्र रहेर गर्न सकिन्छ । सबैखाले विचारधारा अटाउन सक्ने यो व्यवस्थाबाटै मुलुकमा शान्ति र समृद्धि हासिल गर्न सकिन्छ । कसैले चाहेर, हिंसा र आतङ्क मच्चाएर मुलुक प्रतिगमनतर्फ जाँदैन । गणतन्त्रको विकल्प खोज्ने गल्ती मुलुकका लागि घातक हुने छ ।