• १३ असोज २०८१, आइतबार

परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै

blog

मैवाखोला गाउँपालिकामा सञ्चालित परिवार नियोजनसम्बन्धी घुम्ती शिविर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २० गते । सन्तानको रहर पुगेका र सन्तानबीच जन्मान्तर समय बढाउन महिलाले अस्थायी साधनको प्रयोग गर्न थालेका हुन् । स्वास्थ्यकर्मीका अनुसार अहिले सिधै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र गाउँ टोलमा सञ्चालन हुने शिविरमार्फत महिलाहरूले परिवार नियोजनको साधन लिने गरेका छन् । 

सुरुसुरुमा परिवार नियोजनको अस्थायी साधनको प्रयोगबारे गलत बुझाइका कारण महिलाले प्रयोग गर्न नरुचाउने गरेका थिए । पछिल्लो समय परिवार नियोजन र अस्थायी साधन प्रयोगको प्रभावकारिताबारे बुझ्न थालेपछि महिलाले सहज रूपमा अस्थायी साधन प्रयोग गर्न थालेका स्वास्थ्यकर्मी बताउँछन् । 

हाल परिवार नियोजनको अस्थायी साधनप्रति महिलाको आकर्षण बढेसँगै जिल्लामा स्थानीय तहले गाउँघरमै गएर घुम्ती शिविर सञ्चालन गरी सेवा दिन थालेका छन् । यसै क्रममा मैवाखोला गाउँपालिकाले परिवार नियोजनको अस्थायी साधन सेवा प्रवाहसम्बन्धी घुम्ती शिविर सञ्चालन गरेको छ । गएको आइतबार सञ्चालित परिवार नियोजनको अस्थायी साधन लामो अवधिको इम्प्लान्ट राख्ने–झिक्ने घुम्ती शिविरबाट २७ जना महिलाले सेवा लिएका छन् ।

मैवाखोला गाउँपालिका स्वास्थ्य शाखाका अनुसार स्थानीय महिलाले परिवार नियोजनको अस्थायी साधन पाँच वर्षे इम्प्लान्ट र १२ वर्षे आईयुसीडी राखेका छन् । त्यस्तै बुधबार फाकुम्बा स्वास्थ्य चौकीमा सञ्चालित घुम्ती शिविरमार्फत २० महिलाले इम्प्लान्ट र पाँच जनाले आईयुसीडी लिएका छन् । यसअघि इम्प्लान्ट राखेका छ जनाले झिकेका पनि स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले जानकारी दिनुभयो । 

शाखा प्रमुख शेर्पाकाअनुसार मैवाखोला गाउँपालिका–३ र ४ साँघु तथा वडा ५ र ६ फाकुम्बालाई लक्षित गरी साँघु स्वास्थ्य चौकी र फाकुम्बा स्वास्थ्य चौकीमा घुम्ती शिविर सञ्चालन गरिएको हो । वडा १ र २ ढुङ्गेसाँघुमा भने प्राथमिक स्वास्थ्य केन्द्र भएकाले केन्द्रमार्फत नै सेवाग्राहीले निरन्तर सेवा लिँदै आएका कारण घुम्ती शिविरको तालिका नराखिएको गाउँपालिकाले जनाएको छ ।