• १३ साउन २०८१, आइतबार

दालचिनीका बोक्रा र पात बेचेर राम्रो आम्दानी

blog

दालचिनीकाे बाेट ।

रेखीराम राना

पाल्पा, फागुन १९ गते । जिल्लाको पश्चिम भेगका किसानले दालचिनीको पात र बोक्रा बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । एक पटकको लगानी र कम मिहिनेतमा पनि यहाँका किसानले वार्षिक दुई देखि पाँच लाख रुपियाँसम्म कमाउन सफल भएका हुन् । खेर गएको जग्गामा लगाएको दालचिनीका बोटबाट पात र बोक्रा बेचेर मनग्य आम्दानी गर्न सकिने किसानको भनाइ छ । 

जिल्लाको रैनादेवी छहरास्थित बल्ढेङ्गढी, सत्यवती, जुठापौवा, तिनाउको कचल, दोभान, कोलडाँडालगायतका गाउँबाट वर्षमा पाँच करोड भन्दा बढीको बोक्रा र पात निकासी हुने गरेको छ । भिरालो जग्गा र खेती गर्न नसकिने जग्गामा पनि दालचिनीका बोट लगाएर आम्दानी गर्न सकिने रैनादेवी छहरा–७, बेल्ढेङ्गढीका कुलबहादुर कार्कीले बताउनुभयो । अन्य खेतीबाट भन्दा दालचिनीबाट फाइदा भएपछि खेतीयोग्य जग्गामा समेत मानिसले दालचिनीका बोट रोप्न थालेका कार्कीले बताउनुभयो । दालचिनी मसला तथा औषधिजन्य तेल उत्पादनमा प्रयोग हुने कच्चा बस्तु हो । 

दालचिनीको व्यावसायिक खेती गर्ने किसानका अनुसार दुई रोपनी क्षेत्रफलमा लगाएको दालचिनीबाट वार्षिक ५० हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी गर्न सकिन्छ । दालचिनी रोपेको तीन वर्षमै आम्दानी गर्न सकिनेछ । पछिल्लो समय दालचिनीको बोक्रा र पातले समेत राम्रो मूल्य पाएपछि किसान यसतर्फ आकर्षित भएको उनीहरू बताउँछन् । किसानका अनुसार यो वर्ष पात प्रतिकेजी ५५ रुपियाँमा र बोक्रा प्रतिकेजी ९५ रुपियाँमा बिक्री भएको छ ।

पछिल्लो समय मानिस गाउँमा बस्न छाडेको र गाउँमा बसोबास गर्ने किसानका बालीसमेत बाँदरले खाएको गुनासो छ । तर दालचिनीका बोट लगाएर हुर्काउने र त्यसबाट आम्दानी लिने किसानको भने कुनै गुनासो छैन । उनीहरूले बाँदरको हैरानीको गुनासो बिना दुई/दुई वर्षमा दालचिनीका बोटबाट आम्दानी लिइरहेका छन् । गाउँ छाडेर सहरमा बसाई गर्ने मानिसले समेत अचेल गाउँको खाली जग्गामा दालचिनीका बिरुवा रोप्न थालेको रैनादेवी छहरा–८, सत्यवतीका वडा अध्यक्ष रेमबहादुर रानाले बताउनुभयो । दालचिनीले मिहिनेत बिना आम्दानी दिएपछि बाँझो रहेका जग्गामा समेत यसको बिरुवा रोप्न सुरु भएको वडाध्यक्ष रानाले बताउनुभयो । 

दालचिनीका लागि एक पटक खाल्टो खनेर रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने किसानको भनाइ छ । एक पटक रोपेर वर्षमा एक पटक गोडमेल गरेमात्रै दालचिनीबाट राम्रो आम्दानी गर्न सकिने तिनाउ–५, सत्यवतीका किसान दानबहादुर गाहाले बताउनुभयो । दालचिनी बिक्री गर्ने बेलामा मात्रै बोटका पात सङ्कलन गर्न र बोक्रा निकाल्न मात्रै किसानको तर्फबाट लगानी हुने गरेको उहाँले बताउनुभयो । पाल्पाबाट यो वर्ष आठ करोड बढीको दालचिनीका बोक्रा र पात भारतमा निकासी भएको भैरहवाका व्यापारी रामप्रसाद पन्तले जानकारी दिनुभयो ।